बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भर्जिनियाको एक स्कुलको नाम बाराक ओबामाको नाममा बदलियो

बिहीबार, ०७ असार २०७५, १० : ३२
बिहीबार, ०७ असार २०७५

भर्जिनिया । रिर्चमन्डमा रहेको जेईबी स्टुअर्ट एलिमेन्टरी स्कुलका विद्यार्थीहरू यो वर्षको गर्मी बिदाबाट फर्किंदा उनीहरूले आफ्नो स्कुलको नाम नै बदलिएको पाउनेछन् । 

हालको स्कुलको नाम अमेरिकी गृहयुद्धमा दास मालिकको पक्षमा लडेका सैनिक जनरलको नामबाट राखिएको हो । अब्राहम लिङ्कन राष्ट्रपति भएलगत्तै दास मालिकको हित रक्षा नहुने लागेर दासमालिकहरूले अमेरिकाबाट अलग्गिएर स्वतन्त्र कन्फेडेरेट स्टेट अफ अमेरिका बनाएका थिए ।

हाल ४०० जना विद्यार्थीहरू रहेको यो विद्यालयको नाम ‘बाराक ओबामा एलिमेन्टरी स्कुल’ राखिएको छ । त्यहाँ पढ्ने ४०० विद्यार्थीमध्य लगभग ९०% विद्यार्थीहरू अश्वत छन् ।

सोमबार राति रिर्चमण्ड स्कुल बोर्डका सातमध्ये छ जनाले स्कुलको नामबाट जेईबी स्टुअर्ट हटाउने पक्षमा भोट हाले । यो भोटअघि महिनौँसम्म सार्वजनिक मिटिङ गरिएको थियो । यसका साथै विद्यार्थीसमेत विभिन्न पक्षबाट सल्लाहा–सुझावबाट लिइएको थियो । 

“रिर्चमन्ड कन्फेडेरेट अमेरिकाको राजधानी थियो र जेईबी स्टुअर्ट दास प्रथा संरक्षण गरेका व्यक्ति हुन्,” रिर्चमण्डमा अवस्थित उक्त स्कुलका सुपरिटेन्डेन्टले भने “र इतिहासको बाटोमा हाम्रो पहिलो अफ्रिकी–अमेरिकी राष्ट्रपतिको नामभन्दा अन्य उपयुक्त बदलाब म सोच्न सक्दिनँ ।”

देशव्यापी रूपमा चलेको दासप्रथाकालीन इतिहास सुधारको हिस्सा

यो भोटले केही वर्षदेखि अमेरिकाभरी विद्यालय, समुदाय र सहरहरूमा देशको कन्फडेरेट र दास प्रथाको इतिहासलाई सुधार गर्न भइरहेको बहस र कदमहरूलाई प्रतिविम्ब गर्छ । विशेषत चारलोटस्भिलमा भएको ‘गोरा राष्ट्रवादी’को हिंसात्मक ¥यालीपछि यो कार्यमा तीव्रता आएको हो ।

त्यसयता विभिन्न सडकको नाम र सार्वजनिक स्थानमा रहेका कन्फेडेरेट व्यक्तित्वहरूको स्मारकहरू परित्याग गरिसकेको छ । 

त्यस्तै; त्यसको प्रतिकारमा ठाउँठाउँमा नागरिकहरूले कन्फेडेरेट अमेरिकाको झण्डा सार्वजनिक रूपमा बोक्न पाउने अधिकारका लागि प्रदर्शनहरू भएका छन् ।

पछिल्लो समयमा ब्राउन, हारवार्ड, जर्जटाउन र भर्जिनियासमेत दजनौँ विश्वविद्यालयहरूले इतिहासमा आफ्नो दासप्रथासँगको सम्बन्धलाई स्वीकारेर माफी मागेका छन् ।

भर्जिनियाका अन्य सहरहरूले पनि यस सम्बन्धमा तिनका स्कुल प्रणालीमा नजर लगाएका छन् । फेब्रुअरीमा पिटर्सवर्ग स्कुल बोर्डले आफ्ना तीन स्कुलहरूको नामबाट कन्फेडेरेसन अमेरिकासँग जोडिएका नाम हटाउने पक्षमा भोट ग¥यो । 

ओबामाको पक्षमा नाम परिवर्तन गरिएको यो पहिलो पटक भने होइन । अघिल्लो वर्ष ज्याक्सनमा कन्फेडेरेट स्टेट अफ अमेरिकाका राष्ट्रपति जेफरसन डेभिसको नामबाट राखिएको डेभिस इन्टरनेसनल स्कुलको नाम पनि बाराक ओबामाको नाममा बदलिएको थियो ।

तर रिचमन्डमा भएको यो बदलाबको विशेष महत्व रहेको छ । रिचमन्ड कन्फेडेरेट स्टेट अफ अमेरिकाको राजधानी थियो । यहाकाँ कैयौँ सडक, स्मारकमा त्यसको प्रतिविम्ब अझै पाइन्छ । यही वर्ष यहाँको सहर आयोगले यस सहरमा रहेका कन्फेडेरेट अमेरिकाकालीन व्यक्तित्वहरू जेफरसन डेभिस वा जनरल रोबर्ट ई. लीका स्मारकहरू के गर्ने भन्ने प्रस्ताव दर्ता गर्दैछ ।

यही समय कन्फेडेरेट व्यक्तित्वको नाममा रहेको एक मात्र स्कुलको नाम परिवर्तनलाई २,२३,०००  मानिसहरू रहेको यो सहरमा प्रगतिशील कदमको रूपमा हेरिएको छ । आजको दिनमा यस सहरको ४८% जनसङ्ख्या अश्वेत छन् ।

यस सहरका मेयर लेभर स्टोनीले यस भोटले एक ‘गम्भीर विरोधाभास’ अन्त्य गरेको प्रतिक्रिया दिए । ९०% अश्वेत विद्यार्थीहरू पढ्ने स्कुलको नाम भने दास प्रथा कायम राख्नका लागि लडेको सेना अधिकारीको नाम हुनु विरोधाभाष भएको उनको बताए ।

यस प्रक्रियामा महिनौँ समय लागेको थियो ।

शिक्षक, अभिभावक र समुदाय सदस्यहरूलाई स्कुलले विभिन्न मिटिङमा आमन्त्रण गरेर यसमा छलफल चलाएको थियो । साथै विभिन्न अवसरमा विद्यार्थी सभा आयोजना गरिएको थियो । ती सबैबाट सात विकल्प अघि सारिएका थिए । 

त्यसमध्येबाट पनि विद्यार्थीहरूमार्फत तीन विकल्प टिपिएको थियो जुन यस प्रकार थिएः विस–ट्री (विविधतालाई राम्ररी प्रस्तुत गरिएको एक बाल पुस्तकको नाम), नर्थसाइड (स्कुल रहेको सहरको भाग) र बाराक ओबामा ।

अन्त्यमा स्कुल बोर्डले अन्तिम नाम छनौट गरेको थियो ।

सात जना बोर्ड सदस्यमध्य पुनः नामकरणको विपक्षमा भोट हालेकी केन्या गिब्सनले आफूले नाम बदल्ने कुराको विरोध नगरेको बरु केही समय लिएर अश्वेतहरूको अधिकार लडेका एक स्थानीय व्यक्तित्वको नाम राख्ने छलफल चलाउन चाहेको बताइन् । 

“अन्ततः हाम्रो नश्लीय इतिहासको एक प्रतीकलाई परित्याग गर्न पाउँदा म निक्कै कृतज्ञ छु ।” गिबनले भनिन् ।

“तर हामीले अझै धेरै काम गर्नुपर्नेछ । हाम्रा ४०% विद्यार्थीहरू गरिबीको अवस्थामा बाँचेका छन् । यदि हामीले नश्लवादको सङ्केतहरू बारेमा बहस गर्ने हो भने हाम्रा दयनीय भवन पनि छलफलको विषय हुनुपर्छ,” उनले भनिन्– “हाम्रो पूर्व राष्ट्रपतिप्रति न्याय गर्ने हो भने हामीले लगानी बढाउनुपर्छ, जसले पृथकीकरण (साठीको दशकअघि गोरा र अश्वेतहरूबीच अगल अलग बस्ती हुने अवस्था, जसलाई कानुनले नै अनिवार्य गरेको थियो र त्यो समयमा अश्वेतहरूको बसोबास रहेको स्थानका स्कुलमा अत्यन्त न्यून बजेट दिइन्थ्यो ।) लगतै पछिको जस्तो लाग्ने सेवा सुविधाको अन्त्य गरिनुपर्छ ।”

(न्युयोर्क टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप