शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जहाँको मानिस संसारमै कम बोल्छन्, तपाईं–हामी यसो गर्न सक्छौँ होला ?

शुक्रबार, ०८ असार २०७५, ०९ : ४१
शुक्रबार, ०८ असार २०७५

बीबीसी

कम बोल्नु कसैको बानी हुनसक्छ । तर देशको पूरै जनसंख्या कम बोल्छन् भन्दा त्यो अचम्मै होला ।

लातविया यूरोपको एउटा यस्तो देश हो जसलाई कम बोल्ने देशको रुपमा चिनिन्छ । कम बोल्नु यहाँको संस्कृतिको हिस्सा हो । यद्यपी, लातवियन आफैंले यसको विरोध गर्छन् । लातवियन निकै सृजनात्मक हुन्छन् । केही मानिसले कम बोल्ने र रचनात्मक सोचबीचको सम्बन्धको खोजीसमेत गर्ने गर्छन् । यसलाई लातवियाको विशेषता मानिन्छ ।

हालै, लण्डन बुक फेयरमा एक लातवियन कमिक बुक चर्चामा रह्यो  । यसलाई लातवियन लिटरेचर संस्थाले तयार गरेको थियो । वास्तवमा यो किताब यो संस्थाको ‘आइ एम इन्ट्रोभर्ट’ अभियानको हिस्सा हो । यो अभियानलाई लातवियाकी लेखिका अनेते कोनस्तेले सुरु गरेकी हुन् । उनका अनुसार कम बोल्नु, मानिसहरुसँग कम भेटघाट गर्नु राम्रो बानी होइन ।

अहिले संसारभरीका मानिस एक मंचमा आइरहेका छन्, हरेक विषयमा आफ्नो धारणा प्रस्तुत गरिरहेका छन्, यस्तो अवस्थामा चुप बस्नु हानिकारक हुनसक्छ । मानिसहरुले आफ्नो बानी परिवर्तन गर्नुपर्ने बेला आएको छ ।

एकान्त मन पराउँछन् यहाँका मानिसहरुः

लातवियाका मानिसहरु आफ्नै दुनियाँमा यति मग्न हुन्छन् कि यसबारे अनुसन्धान नै गरिएको छ । अनुसन्धानले कम बोल्ने बानी भएका मानिसहरु रचनात्मक काम जस्तै कला, संगीत वा लेख्ने कामसँग सम्बन्धित भएको बताउँछ ।

लातवियाका एक मनोवैज्ञानिकका अनुसार रचनात्मकता लातवियाका मानिसहरुको पहिचानको लागि आवश्यक छ । त्यसकारण यहाँका मानिसहरु कम बोल्न रुचाउँछन् । उनको दिमागले हरेक समय नयाँ कुराबारे सोचिरहेको हुन्छ । वास्तवमा लातवियाको सरकारले शिक्षा र आर्थिक उन्नतिका लागि जतिपनि योजना बनाएका छन् त्यसका लागि रचनात्मक सोचलाई प्राथमिकता दिइएको छ ।

युरोपेली कमिशनको रिपोर्ट अनुसार युरोपियन युनियन मार्केटमा रचनात्मक काम गर्ने सबैभन्दा धेरै लातवियाका नागरिक छन् ।

लातवियाका मानिसहरु कम मात्र नभई एकान्त पनि रुचाउँछन् । एक अर्कासँग आमने सामने भए पनि कसैको अनुहारमा मुस्कानसमेत आउँदैन । अझ अपरिचितलाई देखेर त झनै ।

लातवियाको राजधानी रिगाका गाइड फिलिप बिरजुलिसका अनुसार यहाँका मानिसहरु एक अर्कासँग सामना गर्न हिच्किचाउँछन् । त्यसकारण खुल्ला सडकभन्दा गल्लीबाट हिँड्न रुचाउँछन् । यहाँ धेरै मानिस जम्मा हुने कार्यक्रमको आयोजना पनि निकै कम हुन्छ ।

जस्तै, लातवियन ‘शंग र डान्स फेस्टिबल’ यहाँको सबैभन्दा ठूलो आयोजना हो । यो आयोजनामा दस हजार बढि गायक र डान्सर्सले भाग लिन्छन् तर मानिसहरुको कम उपस्थितीले यो फेस्टिबल पाँच वर्षमा एकपटक मात्रै गरिन्छ । लेखिका कोनस्तेका अनुसार यहाँका मानिसमा एक्लोपन र एक अर्कासँग टाढा बस्ने बानी यतिसम्म छ कि सामान्य हाय हेलोबाट बच्नका लागि सुरुमा छिमेकी घरबाट निस्कने प्रतिक्षा गर्छन् ।

लातवियाको संस्कृति र पीढिः

लातवियाका मानिसहरु कम बोल्ने र एकान्त मन पराउँछन् तर यसको अर्थ यो होइन कि आवश्यकता पर्दा उनीहरु कसैको मद्दत गर्दैनन् । यदि तपाईं समस्यामा हुनुहुन्छ भने उनीहरु आफैं अघि बढेर तपाईंलाई सहयोग गर्छन् ।

लातवियाका मानिसहरुका अनुसार आफूहरु मात्र नभई स्विडेन र फिनल्याण्डका मानिसहरु उनीहरुभन्दा एकान्त रुचाउँछन् । यहाँ अर्को एउटा कुरामा पनि ध्यान दिन आवश्यक छ । लातवियामा अन्य देशका मानिस पनि बस्छन् जसको भाषा र संस्कृति लातवियाको संस्कृतिको हिस्सा बनेको छ ।

लातवियामा ठूलो संख्यामा रुसी मूलका मानिसहरुको पनि बसोबास छ । किनभने लामो समयसम्म यो सोभियत संघको हिस्सा रहेको थियो । यीमध्ये पनि एउटा पीढि यस्तो छ कि जो सोभियत यूनियनको त्यो समयको हो जब मानिसहरुमाथि अत्यधिक निगरानी राखिन्थ्यो । साथै, उनीहरुमाथि एकै प्रकारको जीवनशैली अपनाउन बाध्य बनाइन्थ्यो ।

यस्तै, दोस्रो पीढि यस्तो छ जो पुँजीवादको समयमा हुर्किएका छन् । यो पीढिको संसार देख्ने र बुझ्ने दृष्टिकोण पहिलो पीढिभन्दा निकै भिन्न छ । त्यसकारण लातवियाका मानिसहरुको यो बानीका लागि कुनै एक कारणलाई जिम्मेवार देखाउनु गलत हुनेछ ।

दुर–दराज इलाकामा अझै बस्छन् मानिसहरुः

लातवियाको भौगोलिक स्थिती पनि यसको लागि जिम्मेवार छ । यहाँ घना जंगल छ र जनसंख्या कम छ । त्यसकारण एक अर्कासँग दुरी बनाउनका लागि मानिसहरुसँग मनग्गे जग्गा छ । लातवियाका मानिसहरु प्रकृति प्रेमी हुन् । उनीहरु धेरैजसो शहरभन्दा टाढा जंगलमा गएर केही समय बिताउँछन् । उनीहरु काठको घरमा निकै कम सामानसहित गुजारा गर्न सक्छन् ।

यद्यपी, जंगलमा समय बिताउने यो परम्परा २० औं शताब्दीमा सोभियत सरकारको समयमा नै समाप्त भएको थियो तर आज पनि केही हदसम्म यो परम्परा जारी छ । आर्किटेक्चर ओजोलाका अनुसार सन् १९४८ देखि १९५० का बीच लातवियामा टाढाको इलाकामा बस्ने चलन ८९.९ प्रतिशतबाट घटेर ३.५ प्रतिशत भएको थियो ।

एकान्त मनपरेता पनि रोचक कुरा के छ भने लातवियाको ठूलो जनसंख्या मोर्डन अपार्टमेन्टमा बस्छन् । आँकडालाई जम्मा गर्ने वेबसाइट यूरोस्टेटका अनुसार यूरोपको जति जनसंख्या अपार्टमेन्टमा बस्छ, त्यसको ठूलो हिस्सा लातवियाका मानिसहरुको छ ।

यस्तै, रियल स्टेट कम्पनी इकाटोर्नेटको सर्वेक्षण अनुसार दुई तिहाईभन्दा बढी जनसंख्या टाढा बनाइएका प्राइभेट घरमा बस्न रुचाउँछन् ।

केही मानिसहरुका अनुसार लातवियन मानिसहरुको एकान्तमा बस्ने बानीले उनीहरुमाथि नकारात्मक असर पार्न सक्छ । लातवियामा बाहिरका मानिसहरुको संख्या निकै बढेको छ र मूल लातविया जनताको जनसंख्या कम भएको छ । त्यसकारण मूल लातवियाले समस्याको सामना गर्नुपर्ने सम्भावना छ ।

यदि तपाईंले कहिले लातविया जाने मौका पाउनुभयो भने त्यहाँको शून्यतासँग नडराउनुहोस् । सुरुवातमा थोरै अचम्म लाग्ला तर जब त्यहाँका मानिसहरुसँग दोस्ती भएपछि तपाईंले आफूलाई एक्लो महसुस गर्नुहुन्न । लातवियाका मानिसह जब कसैसँग सम्बन्ध गाँस्छन् तब मनबाट निभाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप