बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रेलको चर्चा : काठमाडौमा चिनियाँ रेल आउन कति सहज ?

शुक्रबार, ०८ असार २०७५, १६ : १९
शुक्रबार, ०८ असार २०७५

काठमाडौ–  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भएको रेलमार्ग निर्माण सम्झौताले नेपालमा निकै चर्चा पयो । यो सम्झौतापछि नेपाली र चिनियाँ दुवै देशका अधिकारीहरुले यसको उच्च प्रशंसा पनि गरे । तर, सम्झौता हुँदैमा त्यति सहजै चिनियाँ रेल नेपाल आउला त ? नेपाल–चीन सम्झौतासँगै यो प्रश्न पनि गर्न थालिएको छ । 

रेलमार्ग सम्झौता यस्तो छ– 

६ दिने चीन भ्रमणमा गएको प्रधानमन्त्री केपी ओली नेतृत्वको टोली र चिनियाँ पक्षबीच तेस्रो दिन अर्थात बिहीबार नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।  

वि.सं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच गे्रट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो । 

कसरी आउँछ चिनियाँ रेल काठमाडौमा ?

चीनले अहिलेपनि ल्हासाबाट–केरुङ जोड्ने रेलमार्ग विस्तार गर्दैछ । सो रेलमार्ग केरुङबाट काठमाडौंसम्म विस्तार गर्न दुईदेशबीच सहमति भएको हो । जुन ल्हासा–केरुङ ५ सय किलोमिटर चीनले विस्तार गरेपछि त्यहाँबाट यता नेपालतर्फ काठमाडौँसम्म ल्याउन एकसय किलोमिटर रेलमार्ग बनाउनुपर्छ । 

प्रारम्भिक सम्भाव्यता अध्ययन थालिसकिएको यो प्रोजेक्टको डीपीआरसहित निर्माण अनुमानित कम्तिमा ७ वर्षमा सक्ने लक्ष्य लिइएको छ । यो हस्ताक्षरपछि चीनको स्वाशासित क्षेत्र तिब्बतको राजमार्ग नेपालले कार्गो यातायातका लागि प्रयोग गर्न सक्नेछ । तर, यसको महतवपुर्ण पक्ष भनेको लगानी हो । यो रेलमार्ग निर्माणमा चीन आफैले लगानी गरिदियोस् भन्ने नेपालको अपेक्षा भएपनि चीनले एक्लै लगानी नगर्ने बताइसकेको छ, जसले गर्दा रेलमार्ग बन्ने निश्चितताको आधार तय भए पनि लगानीको अनिश्चितता भएको विश्लेषण गर्न थालिएको छ । 

कति लगानी ? 

केरुङ काठमाडौ रेलमार्ग निर्माण गर्न सहमति भएसँगै यो मार्ग बनाउन कति रकम लाग्छ भन्ने चासो र चर्चा पनि चुलिएको छ । यसका लागि आधिकारिक रिर्पोट आइनसकेपनि विज्ञहरुका अनुसार अनुमानित साढे ३ खर्ब रुपैयाँ खर्च हुने बताइएको छ । जुन नेपालको हालको कुल बजेटको एक चौथाई हुन आउँछ । अहिलेको स्थितिमा यति धेरै रकम नेपालले खर्च गर्न नसक्ने नेपाली अधिकारीहरुले बताउदै आएका छन् । निर्वाचनपछि बनेको नयाँ सरकार र उसले निर्वाचनमा जनतामाझ लगेको चुनावी घोषणापत्रमा चिनियाँ रेल नेपाल ल्याउने चर्चा योजना सार्वजनिक भएपछि रातोपाटीले गत चैत ६ गते नै यसवारे रिपोर्ट प्रकाशित गरेको थियो । जसमा नेपालमा चिनियाँ रेल ल्याउन भएका प्रयास र त्यसका प्राविधिक पक्षबारे उल्लेख छ । 

हेर्नुस् यो पनि 

 चीनबाट रेल : प्रचार कति, प्रगति कति ?

रेलमार्गका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेपछि मात्रै लगानीको मोडालिटीको टुंगो लाग्ने सहमतिपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् । 

सरकार नै अस्पष्ट

रेलमार्ग विस्तर गर्ने सम्झौतापछि बेइजिङमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसको सम्भाव्यता अध्ययन र लगानीबारे अस्पष्ट जवाफ दिएका थिए । उनले त्यसक्रममा भनेका थिए –‘सम्भाव्यता अध्ययन चीनले गर्छ, लगानीको विषयमा छलफल हुँदै जान्छ । पहिल्यै सम्भाव्यता अध्ययन हुँदैछ । आगामी अगस्टसम्म यो काम सकिन्छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने समझदारी भएको छ । यसको लगानीको मोडालिटीको विषयमा थप छलफल गर्दै जान्छौँ ।’

त्यस्तै उनले सम्भाव्यता अध्ययन नगरी लगानीको विषयमा कुरा गर्नु हतार हुने समेत बताएका थिए  ।

परराष्ट्रमन्त्री ज्ञवालीको भनाएबाटै के प्रष्ट हुन्छ भने रेलको जति चर्चा भयो त्यति सहज रेलमार्ग बनाउन छैन । 

तर पनि, नेपाली पक्ष उत्साही
चीन भ्रमणमा गएको नेपाली प्रतिनिधि मण्डलले त्यहाँ गरेको उच्चस्तरीय भेटघाट र सम्झौतापछि नेपाली पक्ष भने निकै उत्साहित देखिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणसँगै दुई देशको सम्बन्ध विश्वसनीय भएको भन्दै महत्वपूर्ण भेटघाट र वार्ताहरूबाट दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ र विश्वसनीय भएको प्रतिकृया दिएका थिए । 

नेपालमा रेल आउने राष्ट्रपति सीको बाचा 

नेपाल मात्रै होइन, चिनियाँ राष्ट्रपति सी जिनपिङ समेत नेपालमा चिनियाँ रेल आउनेमा विश्वस्त देखिन्छन् । उनले नेपालका प्रधानमन्त्री केपी ओलीसँग भ्रमणको दोस्रो दिन भेटवार्तामा चिनियाँ राष्ट्रपतिले नेपालको समृद्धिका लागि प्रधानमन्त्री ओलीले अगाडि बढाएका  ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई पूरा गर्न चीन सदैव सहयोगी रहने वचनबद्धता व्यक्त गरेका थिए । त्यस क्रममा राष्ट्रपति सीले नेपालको विकासमा हरतरहले सहयोग गर्ने विश्वास दिलाउदै बेल्ट एण्ड रोड इनिसियटिभ र ट्रान्सहिमालयन कनेक्टिभिटीको परिधिभित्र रहेर नेपालले पूर्वाधार विकास गर्न चाहेको र त्यसमा चीन सहयोग गर्न तत्पर रहेको बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप