शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविताः सान्दाइको सम्झना

शनिबार, ०९ असार २०७५, ०८ : ३३
शनिबार, ०९ असार २०७५

- लक्ष्मण सिटौला  
जब म सहरबाट गाउँ जान्थेँ 
हाम्रो सान्दाइ
आलु रोप्दै हुन्थे वा नल काट्दै हुन्थे
जब म गैराबारीबाट तल ओर्लन्थेँ
उनी कि आरती गर्दै हुन्थे 
या बाख्रालाई घाँस हाल्दै हुन्थे 
जब म उहाँ नजिक गएर शिर झुकाउँथे
डोरी बाटेर थाकेका उहाँको हातबाट 
आशीर्वादको स्वप्नील अत्तर बास आउँथ्यो !
सोध्नुहुन्थ्यो, कहिले आइस सहरबाट ? 
पढाइ कस्तो छ ?

सान्दाइको हातले विश्राम लिएको देखिनँ 
अनुहार कहिले पनि अँध्यारो देखिनँ
एउटा कर्मयोगी सतपुरुष 
गीता कण्ठ थिए र महाभारत कण्ठ थिए
रामायण मुखाग्र थिए
श्लोक यति मीठो गरेर भन्थे कि
एउटा कुनै ऋषिमुनि अगाडि पुगेझँै आभाष हुन्थ्यो 
धेरैलाई हँसाए सान्दाइले
सादा जिन्दगी बिताए 
कट्टुसका काँडा टेकेर हिँड्थे
तर कृत्रिम चप्पल कहिले लागाएनन्
एक दिन सान्दाइसँग पानी घट्ट गएको थिएँ
त्यही दिनदेखि मैले काँचो पीठो खान सिकेँ
सान्दाइ भोजनलाई होइन 
भोकलाई महत्व दिन्थँे 
सान्दाइ ओछ्यानलाई होइन,
निन्द्रालाई महत्व दिन्थे
सान्दाइ शरीरलाई होइन 
अजराजर आत्मालाई महत्व दिन्थे 
जीवनको अन्तिम शरदमा 
जब सान्दाइ ओछ्यान पर्नुभो
‘लछुमने’लाई बोल्याइदेओ भन्नुहुन्थ्यो रे !
र मैले पनि छोडिनँ उहाँलाई 
अन्तिम श्वास फेर्दा 
म उहाँको चरणतलमा थिएँ ।

सान्दाइ एउटा पहाडको नाम हो
सान्दाइ कर्मको कुरुक्षेत्रमा 
गाण्डिव भिरेर हिँड्ने योद्धाको नाम हो
सान्दाइ हिउँदमा फुल्ने लालुपाते थिए
सान्दाइ लेकमा फुल्ने गुराँस थिए
सान्दाइ यति धेरै मिहिनेती मानव थिए कि 
बारीमा जाँदा निदाएर बसेका गहुँका बालाहरू
निन्द्राबाट ब्युँझन्थे र सलाम गर्थें उहालाई !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप