केन्द्रीय संस्करण

उत्तर कोरियाको विदेशी पर्यटकमाझ बहुचर्चित ४६ तल्ले होटलः जहाँको पाँचौं तल्लामा जान मनाही छ

person access_timeअसार १०, २०७५ chat_bubble_outline0

मेघा मोहना /बीबीसी

उत्तर कोरियाको राजधानी प्योंगयांगको यंगाकडो होटलको एक तल्लामा गएको आरोपमा अमेरिकी छात्र अटो वार्मबियरलाई पक्राउ गरियो ।

उनलाई पछि रिहा गरिएपनि हिरासतमा राख्दाको प्रताडनाले उनको मृत्यु भयो ।

हुन त अटो वार्मबियर उत्तर कोरियाको सबैभन्दा ठूलो होटल यंगाकडोमा बसेका पहिलो अमेरिकी नागरिक भने थिएनन् ।

उनीजस्तै अर्का एक अमेरिकी नागरिक थिए केल्भिन सन, जो उत्तर कोरिया घुम्न गएका थिए र यंगाकडो होटलमा बसेका थिए ।

केल्भिन अझै पनि ती दिन सम्झँदा डराउँछन् । आफू उत्तर कोरियाबाट अमेरिका फिर्ता भएको दिन याद गर्छन् ।

केल्भिनले अमेरिका फर्कने अघिल्लो रातभरी नसुती रातभरी रमाइलो गरेका थिए । त्यसपछि उनले यंगाकडो होटलबाट चेकआउट गरेर प्योंगयांग अन्तर्राष्ट्रिय विमानस्थल जानका लागि बसमा बसे ।

बस स्टार्ट मात्र भएको थियो । केही सुरक्षागार्ड आएर एउटा समस्या देखिएकाले त्यो समाधान नभएसम्म बस नचलाउन आदेश दिए ।

ड्राइभरले बसको इन्जिन बन्द गरे । बसमा बस्दा बस्दै केल्भिनले उत्तर कोरियामा गुजारेको आफ्नो ६ दिनबारे सोच्न सुरु गरे ।

उत्तर कोरिया संसारबाट अलग्गिएको देश हो जसलाई हरमिट किंगडम अर्थात् जोगीको देश भनिन्छ । उत्तर कोरियाको यात्रा केल्भिनको सबैभन्दा स्मरणयोग्य यात्रामध्येको एक थियो ।

केल्भिनका अनुसार ती ६ दिनमा उनी थुप्रै स्थानमा घुमे । अत्यधिक रमाइलो गरे । तर उनलाई थोरै पनि संदेह थिएन कि यंगाकडो होटलको पाँचौं तल्लामा जानु उनको लागि ठूलो समस्या बन्न सक्थ्यो ।

जब सुरक्षाकर्मीले उनलाई बसबाट उत्रनका लागि भने त्यतिबेला पनि उनले बिसिएका थिए कि उनले यंगाकडो होटलको पाँचौं तल्लामा जाने गल्ती गरेका थिए ।

केल्भिनको यात्राः

न्यूयोर्कमा जन्मिे हुर्केका केल्भिनका आमाबुवा चीनियाँ मूलका हुन् । २० वर्षसम्म उनी न्यूयोर्क राज्यभन्दा बाहिर पाइलासमेत टेकेका थिएनन् ।

कोलम्बिया युनिभर्सिटी उनको घरभन्दा २० मिनेछ टाढा थियो जहाँ उनी पढ्थे । त्यतिबेलासम्म पनि उनले कतै घुम्न जाने सोच बनाएका थिएनन् ।

तर सन् २०१० मा अचानक उनी इजिप्टको यात्रामा निस्किए । त्यसपछि उनलाई संसार घुम्ने शौख चढ्यो । केल्भिनले एक ट्राभल ब्लग http://monsoondiaries.com/ सुरु गरे ।  निकै चाँडै उनका प्रशंसकको अत्यधिक वृद्धि भयो ।

हरेक छुट्टी र विकेन्डमा केल्भिन एउटा नयाँ देशको यात्रामा निस्कन्थे । उनको उद्देश्य एकपटक घुमिसकेको देशमा दोस्रोपटक नजाने ।

मेडिकल स्कूलमा दोस्रो वर्षको पढाईको क्रममा गर्मीको छुट्टीमा केल्भिनले एकैपटक थुप्रै देशको यात्रामा निस्कने निर्णय गरे ।

उनले मध्यपूर्वको देशबाट सुरुवात गरेर थुप्रै एशियाली देशमा आफ्नो यात्रा समाप्त गर्ने निर्णय गरे ।

केल्भिनले निर्धारित कार्यक्रम अनुसार नचल्ने निर्णय गरेका थिए । जहाँ मनलाग्यो त्यहाँ जाने उनले सोच बनाए ।

सुरुमा उनको उत्तर कोरिया जाने कुनै योजना थिएन । प्योंगयांगको यंगाकडो होटलको नाम त उनको दिमागमा कहिँ कतै थिएन ।

पर्यटकका लागि कडा नियमः

सन् २०११ मा यदि कुनै पश्चिमी देशका नागरिकलाई उत्तर कोरिया जानु परे नीजि टुर अपरेटर्सको मद्दत लिनैपर्ने थियो ।

करिब आधा दर्जन टुर अपरेटर्स, चीनको बाटो हुँदै उत्तर कोरिया आउनेहरुका लागि गाइडेड टूर आयोजना गर्दथे । यो नियम सन् २०१७ मा थप कडा बनाइयो ।

एक पश्चिमी देशका छात्र प्योंगयांगको यंगाकडो होटलको पाँचौं तल्लामा गएका कारण नियय थप कडा बनाइएको पनि हुनसक्छ ।

बेइजिङमा केही समय बिताएपछि केल्भिनसँग करिब एक हप्ताको छुट्टी बाँकी थियो ।

त्यसकारण उनले उत्तर कोरिया घुम्ने सोच बनाए । उनले उत्तर कोरियाका एक टुर अपरेटरलाई सम्पर्क गरे ।

कुरा मिल्यो र केल्भिनले संसारको सबैभन्दा रहस्यमयी देश हेर्नका लागि यात्रा तय गरे ।

केल्भिनका अनुसार अन्य देशको भिसा फर्मभन्दा उत्तर कोरियाको भिसा फर्म भर्नु निकै सजिलो थियो । त्यहाँ जानका लागि पासपोर्टसमेत दिनु पर्दैन ।

भिन्न संसारमा आएजस्तोः

केल्भिनका साथै  करिब २० अमेरिकी, युरोपेली र चीनियाँ यात्री पनि उक्त प्राइभेट टुर अपरेटरसँग उत्तर कोरियाको यात्रामा निस्किएका थिए ।

धेरैजसो युवा थिए । जब उत्तर कोरियामा समय बिताउने तरिकाबारे जानकारी दिइयो, टुर अपरेटरले सधैं गाइडको कुरा मान्नुपर्ने कुरा सम्झाए । उत्तर कोरियाको संस्कृतिप्रति सम्मान देखाउन पनि आग्रह गरे ।

उनी उत्तर कोरियाको राजधानी प्योंगयांगमा यंगाकडो होटलमा बस्नु थियो । यद्यपी, उनलाई होटलको पाँचौ तल्लामा जान नहुने कुरा बताइएन ।

केल्भिनका अनुसार उनलाई उत्तर कोरिया पुग्नेबित्तिकै भिन्न संसार पुगेको महसुस भएको थियो । चीनमा निकै चम्किलो रंग प्रयोग गरिएको थियो भने उत्तर कोरियामा प्रयोग गरिएका सबै रंग निकै उदासी जनाउने किसिमका थिए ।

उत्तर कोरियाको भवन, पोस्टर, बाटो बताउने निशान र यहाँसम्म कि मानिसहरुको कपडासमेत सेतो, खैरो वा काला थिए ।

थोरै रातो रंग पनि देखिन्थ्यो जुन सत्ताधारी कम्युनिष्ट पार्टीको रंग थियो ।

केल्भिनले आफू टाइम मेसिनमा सवार भएर ७० को दशको सोभियत संघ पुगेको अनुभव भएको बताए ।

धेरैजसो गाइड ४० वर्ष पुगेका थिए । दुई पुरुष थिए र दुई महिला । उनीहरु पहिला उत्तर कोरियाको सेनामा भएको जानकारी दिए ।

कडा गाइडः

यात्राको सुरुवातमा गाइडले निकै कडा व्यवहार देखाउँथे । पर्यटकहरुले हात नसमाती सडकसमेत पार गर्न हुँदैन भन्थे ।

तर बिस्तारै उनीहरुको पर्यटकसँगको व्यवहार फेरियो । सबै गाइड रक्सी पिउन रुचाउँथे । कोरियाको संस्कृतिमा रक्सी निकै महत्वपूर्ण छ ।

पछि त गाइडले सबै पर्यटकलाई आफूसँग रमाइलो गर्न र समय बिताउनका लागि बोलाउन सुरु गरे ।

यात्राको क्रममा विदेशी पर्यटकले जूच टावर, वर्कर्स मेमोरियल, सन् १९६८ मा उत्तर कोरियाले बन्धक बनाएको अमेरिकी जहाज यूएसएस प्यूब्लो र उत्तर–दक्षिण कोरियाबीचको असैन्य क्षेत्रको अवलोकन गरे ।

केल्भिनका अनुसार सबै गाइड माइकल ज्याक्सनका निकै ठूला प्रशंसक थिए । उनीहरुले पटक पटक सोध्ने गर्दथे कि माइकल ज्याक्सनको साँच्चै नै मृत्यु भएको हो ।

उनीहरुलाई उत्तर कोरियामा देखाइने केही अमेरिकी रियालिटी शो पनि मनपर्दथ्यो । उनीहरुले अमेरिकाबारे अत्यधिक प्रश्न सोध्थे ।

केल्भिनका अनुसार सायद ती प्रश्न थिएनन् । उनी भन्छन्, ‘उनीहरुले अमेरिकाबारे जे सुनेका थिए त्यो वास्तविक हो होइन भन्ने थाहा पाउन चाहन्थे ।’

उत्तर कोरियामा केल्भिन सनले पहिलो पटक एक सुटिङ रेन्जमा बन्दुक चलाए । धेरैजसो पर्यटकले निशाना लगाउन सकेनन् ।

त्यतिबेला गाइडले भनेका थिए, ‘अमेरिकामा अत्यधिक गन कल्चर हुँदा हुँदै पनि त्यहाँका मानिसहरुले ठिकसँग निशाना पनि लगाउन सक्दैनन् ?’

हप्ता बित्नै लाग्दा गाइड निकै नरम भइसकेका थिए । उनीहरुले पर्यटक कहाँ जान्छन् भनेर हेर्न छोडिसकेका थिए ।

केल्भिन सनले पनि यो क्रममा थुप्रै साथीहरु बनाएका थिए । उत्तर कोरियाको अन्तिम रात केल्भिन अन्य साथीहरु र टुर गाइडसँग एउटा नाइट क्लब डिप्लो गए ।

त्यहाँ उनीहरुले निकै रमाइलो गरे । ८० को दशकको चर्चित गीतमा नाचे । विशेषगरी माइकल ज्याक्सनको गीतमा ।

पाँचौं तल्लामा जाने सोचः

यंगाकडो होटल फर्केपछि गाइडले उनलाई रक्सी पिउनका लागि पुनः आफ्नो कोठामा बोलाए । यद्यपी, गाइडले पर्यटकसँग कमै समय बिताए । त्यसपछि उनीहरु सबै आफ्नो बेडरुम फर्किए  ।

यसै क्रममा कसैले होटलको पाँचौं तल्लामा जाने सुझाव दिए ।

यंगाकडो ४७ तल्ले भवन हो । यो उत्तर कोरियाको सबैभन्दा अग्लो भवनमध्येको एक हो ।

यहाँ चारवटा रेष्टुरेन्ट छन् । एक बाउलिङ एले छ र मसाज पार्लर पनि । होटलको कोठामा राखिएका टिभीमा बीबीसीको पुरानो रेकर्डिङ देखाइन्छ ।

विदेशी पर्यटकका लागि यंगाकडो होटल सबैभन्दा मनपर्ने स्थान हो ।

यात्राको पाँच दिनसम्म सबैले गाइडले बताएको स्थानमा यात्रा गरे । अब अन्तिम रात उनीहरुले गाइड बिना नै होटल घुम्ने निर्णय गरे ।

उनीहरुले होटलको लिफ्टमा पाँचौं तल्लाको बटन देखेनन् । त्यसकारण केही मानिसहरुले सिढिँ चढेर पाँचौं तल्लामा जाने निर्णय गरे ।

पाँचौं तल्लाको रहस्यः

यंगाकडो होटलको पाँचौं तल्लाको रहस्यबारे पहिले पनि धेरै ट्राभल ब्लगरले लेखिसकेका छन् ।

केल्भिनसँग आएका केही मानिसहरुले पनि यसबारे पढे सुनेका थिए । यद्यपी, केल्भिन सनलाई यसबारे केही थाहा थिए । केल्भिनले भने, ‘हामी यंगाकडो होटलको पाँचौं तल्लामा जाने पहिलो विदेशी थिएनौं । ’

केल्भिन भन्छन्, ‘हामी आउनु अघि र हामीभन्दा पछि पनि थुप्रै मानिसहरु पाँचौं तल्लामा गएका थिए । तर सन् २०११ मा उत्तर कोरियामा कुनै विदेशीलाई हिरासतमा राखिएको थिएन । हामीलाई थाहा थिएन कि हामीले कति ठूलो गल्ती गर्दैछौं ।’

पर्यटकलाई कसैले पनि बताएका थिएनन् कि उनीहरुले पाँचौं तल्लामा जानु हुँदैन ।

त्यसकारण, त्यो रात केल्भिन र उनका साथी चौथो तल्लासम्म लिफ्टमा गए, त्यसपछि सिढीँ चढेर पाँचौं तल्लामा गए ।

यस्तो थियो पाँचौ तल्लाः

सिढीँबाट पाँचौं तल्ला जाने ढोका खुल्ला थियो । त्यहाँ कुनै सुरक्षाकमी थिएनन् ।

उनीहरु त्यहाँ जाने बित्तिकै थाहा भयो कि त्यो तल्लाको छत निकै होचो थियो । अन्य तल्लाभन्दा करिब आधा कम  ।

त्यहाँको स्थिती हेर्दा यस्तो लाग्थ्यो कि एउटा तल्लालाई दुईवटा बनाइएको छ । प्रकाश निकै कम थियो । पर्यटकहरुले यहाँको तस्बिर खिच्न सुरु गरे । त्यो तल्ला सेनाको बंकर जस्तो बनाइएको थियो ।

यंगाकडो होटलको यो तल्लाको धेरैजसो कोठामा ताल्चा लगाइएको थियो  । तर एउटा कोठा खुल्ला थियो । त्यहाँको ढोकामा एक जोडी जुत्ता थियो । जब उनीहरुले कोठाभित्र हेरे तब त्यहाँ कोही थिएनन् ।

केल्भिनका अनुसार कोठाबाट प्रकाश आइरहेको थियो । त्यतिबेला उनीहरुले देखे कि त्यहाँ क्यामरा राखिएका थिए । सायद यो तल्लामा पर्यटकहरुको निगरानी गर्न क्यामराको बन्दोबस्त गरिएको थियो ।

केल्भिनका एक साथीले त्यहाँ भिडियो बनाउन सुरु गरे । उनीहरु निकै सानो स्वरमा कुरा गरिरहेका थिए ।

कोठाका भित्ताहरुमा अमेरिकी विरोधी र जापानविरुद्ध पेन्टिङ बनाइएका थिए । केही तस्बिर किम जोंग उनका पिता किम जोंग इलका पनि थिए ।

एक तस्बिरमा लेखिएको थियो, ‘यो बम अमेरिकाले बनाएको हो । अमेरिकामा बनेको हरेक सामान हाम्रो दुश्मन हो । अमेरिकासँग हामी हजार पटक बदला लिनेछौं ।’

त्यतिबेला एक व्यक्ति आएः

केल्भिन भन्छन्, ‘केही मिनेटपछि अचानक एक व्यक्ति आएर हामीले बाटो भुलेको हो कि भनेर सोधे । कसैले हो भनेपछि उनले हामीलाई सिढीँको बाटो बताइदिए । उनी अलिकति पनि रिसाएको देखिएका थिएनन् ।

बाहिर आएपछि केही व्यक्तिले पुनः त्यो तल्लामा जाने निर्णय गरे । यसपटक पनि एउटा कोठाबाट एक व्यक्ति आएर निकै शान्त तरिकाले सिँढीबाट बाहिर जाने बाटो देखाए ।

यसपटक पनि केल्भिन र उनका साथीले बन्द कोठा र भित्ताहरुमा अमेरिका विरोधी पोष्टर देखे ।

हरेक पेन्टिङ र पोस्टरमा अमेरिकासँग बदला लिने कुरा लेखिएको थियो । त्यसमा किम खानदानको शक्तिको बयान गरिएको थियो । सन् १९८० को दशकमा कम्प्युटरको मोडल बनेको थियो ।

केही पर्यटक तेस्रोपटक पनि पाँचौं तल्लामा गए । यीमध्ये एक जोडी यति उत्साहित भए कि एक–अर्कालाई चुम्बन गर्न थाले ।

यतिबेला पनि पुनः नयाँ गार्ड आए र बाहिर जाने सल्लाह दिए ।

थाहा भएको भए कहिले पनि जाँदैनथ्यौंः

केल्भिन भन्छन्, ‘हामी सबै मूर्ख थियौं । लुकेर पाँचौं तल्लामा जाँदा के के नै गरेजस्तो भएको थियो । यदि यसको नतिजा पहिल्यै थाहा भएको भए सायद हामी कहिले पनि यंगाकडोको पाँचौं तल्लामा जाँदैनथ्यौं ।’

बिहान भइसकेको थियो । सबै पर्यटक आफ्नो कोठामा फर्किए त्यसपछि तयार भएर बसमा बसे ।

उनका गाइडले आफूलाई केही पर्यटकले होटलबाट रुमाल चोरेको थाहा भएको बताए । यदि चुपचाप रुमाल दिइए, उनीहरुलाई केही पनि नगरिने बताए तर कसैले पनि आफ्नो चोरी स्विकार गरेनन् ।

त्यसपछि एक अधिकारीले यदि पर्यटक आफ्नो घर जान चाहन्छ भने उनीहरुले होटलको रुमाल फिर्ता दिनुपर्ने बताए ।

त्यसपछि चोरिएको रुमाल बस बाहिर फ्याँकदिने भनियो ।

त्यसपछि मात्र सुरक्षाकर्मीले बस गुड्ने अनुमती दिए ।

न्यूयोर्क फर्किएपछि केल्भिनले यो घटनालाई बिर्सिएर आफ्नो पढाईमा मस्त भए ।

पोस्टर च्यात्दा १५ वर्षको सजायँः

चार वर्षपछि उनको सोचमा परिवर्तन आएको छ । केल्भिनजस्तै अटो वार्मबियर पनि एक प्राइभेट टुर अपरेटरमार्फत उत्तर कोरिया गए । उनी प्योंगयांगको होटलमा बसे ।

आरोप छ कि यो क्रममा अटोले होटलमा पाँचौं तल्लामा लगाइएको पोष्टर निकालेका थिए जसका कारण उनलाई पक्राउ गरिएको थियो ।

उनीमाथि मुद्दा चलाएर १५ वर्षको जेल सजायँ तोकियो । वार्मबियरलाई टिभीमा यस्तो गरिरहेको पनि देखाइयो । सोधपुछको क्रममा उनलाई यातना पनि दिइएको थियो ।

यद्यपी, पछि उनलाई रिहा गरियो । तर अमेरिका फर्किएलगत्तै उनी कोमामा गए । सन् २०१७ मा उनको मृत्यु भएपछि संसारभरी यसले चर्चा बटुलेको थियो ।

सिसिटिभी फुटेजमा देखिए अनुसार वार्मबियर होटलको पाँचौ तल्लामा घुमिरहेका थिए ।

यद्यपी, उत्तर कोरियाली सरकारले कहिले पनि यो आरोप स्विकार गरेन । किनभने त्यहाँको सरकारले यंगाकडो होटलमा पाँचौं तल्ला छ भनेर मान्दैनन् ।

केल्भिन सनका अनुसार जब उनी होटलमा बसेका थिए तब त्यस्तो कुनै पोष्टर थिएन जसलाई निकाल्न सकिन्थ्यो । धेरैजसो भित्तामा पेन्टिङ गरिएको थियो । केही होर्डिङ बोर्डलाई किलाले ठोकिएको थियो ।

वार्मबियरको मृत्युपछि उत्तर कोरियामा पर्यटनको विषयमा प्रश्न उठाउन थालियो । धेरैजसो टुर अपरेटरले अमेरिकी नागरिकलाई आफूसँग उत्तर कोरिया लैजान अस्विकार गरे । कतिपय टुर अपरेटरले आफ्नो नीतिमा परिवर्तन गरे ।

अब केल्भिन आफ्नो मेडिकलको पढाईको अन्तिम वर्षमा छन् । उनी मौका पाउँदा अहिले पनि यात्राका लागि निस्कन्छन् । ब्लगमा उनका हज्जारौं फलोअर्स छन् ।

तर अब कुनै देशमा जानुअघि उनी निकै सावधान हुने बताउँछन् ।

उनी भन्छन्, ‘अटो वार्मबियरमाथि जे भयो त्यसले मलाई दुःखी बनाएको छ । कुनै पनि विदेशीले अन्य देशको सभ्यता संस्कृति र नियमलाई सम्मान गर्नुपर्छ ।’

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ