शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडक विस्तार विवाद : वडा अध्यक्षमाथि स्थानीयलाई आक्रमण गरेको आरोप

आइतबार, १० असार २०७५, १४ : ३६
आइतबार, १० असार २०७५

रौतहट । सडक विस्तारको विवादबीच एकै परिवारका ४ जना माथि धारिलो हतियार प्रहार भएको छ । 

जिल्लाको बौधिमाई नगरपालिकाको वडा नं ७ मा शनिबार साँझ भएको यस घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा जयगोविन्द कुशहवा, श्री गोविन्द कुशवाहा, राजकुमार कुशवाहा, राम अयोध्या कुशवाहा र श्याम कुशवाहा रहेका छन् ।

घाइतेहरुको गौरस्थित जिल्ला अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन पठाइएको छ ।

पीडित पक्षले यस घटनामा वडा नं ७ का वडा अध्यक्ष बिजय कुशवाहाको संलग्नता रहेको आरोप लगाएका छन् ।

सो क्षेत्रमा लामो समयदेखि सडक विस्तारको विषयलाई लिएर विवाद चल्दै आएको थियो । जसले गर्दा स्थानीय प्रहरीले पनि विवाद मिलाएर मात्र सडक विस्तार कार्य अघि बढाउन आग्रह गरेको थियो ।

तर, शनिबार विवादीत स्थानमा गिठ्ठी र बालुवा खनाइएपछि पुनः विवाद शुरु भएको थियो । जग्गा धनी शिव गोबिन्द कुशवाहाले १ महिना अगाडि सडक विस्तारमा रोक लगाएको थियो । रोक्का गर्न जिल्ला अदालतबाट आदेश पत्र पठाई सो विवादीत कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलको प्रहरी पूर्व ईन्चार्ज दिनानाथ यादवको नेतृत्वमा खटाईएको थियो । 

‘अदालतको आदेशलाई वेवस्ता गर्दै सडक विस्तारको काम अघि बढाउन खोजियो,’ जग्गा धनी तथा पीडित गोविन्दले बताए ।

विवाद समाधान गरेर सढक विस्तान निर्माण गर्न आफूहरुले आग्रह गर्दा वडाअध्यक्ष कुशवाहाले करिब ४ दर्जन मानिसहरु बोलाई आफूहरुमाथि आक्रमण गरेको गोविन्दले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामकुमार दानीले घटनाबारे छानविन भइरहेको र दोषीहरुको खोजी भइरहेको जानकारी दिए । यद्यपि, स्थानीय प्रहरी स्रोतका अनुसार पक्राउ गर्न हालसम्म पनि आदेश आएको छैन ।

यता, अध्यक्ष विजय कुशवाहाले ५ मिटर चौढाई र ५ सय मिटर लम्बाई भएको सडक विस्तार गर्नु पर्ने जानकारी दिए । ‘४८५ मिटर निर्माण भइसकेको छ । अब १५ मिटरमात्र बाँकी रहेको अवस्थामा एउटा परिवारका कारण काम प्रभावित भइरहेको छ,’ उनले भने ।

उनले पीडितहरुमाथि गाउँको मान्छे र उपभोक्ता समितिको मानिसहरुले हातपात गरेको र यसमा आफ्नो कुनै संलग्ना नभएको पनि बताए ।

‘हामीले त्यहाँ अर्कै प्रयोजनका लागि बालुवा र गिटी झारेका थियौँ । तर, उनीहरुले त्यहाँ आएर विवाद झिके । ड्राइभरलाई कुटेपछि स्थानीयले उनीहरुमाथि कुटपीट गरेका हुन् ,’ कुशवाहाले भने ।
उनले घाइतेहरु विकास विरोधी भएको पनि आरोप लगाए ।

वडाअध्यक्ष बिजय कुशवाहा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् । उनी जिल्लामा निकै विवादीत रहेका छन् । उनको नाम पटक–पटक तस्करीमा मुछिँदै आएको छ । 

यसअघि प्रहरी चौकी बंकुलका तत्कालिन प्रमुख सहायक निरिक्षक किस्मत पौडेलको नेतृत्वको टोलीले वडा अध्यक्ष कुशवाहाको तस्करीको सामान पक्राउ गरेको थियो । त्यस्तै सई अरुण सिंहको कमाण्डमा रहेको टोलीले तस्करी गरेर ल्याइएको कुशवाहकै सिमेन्ट पक्राउ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप