शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी देश बन्दैन !

सोमबार, ११ असार २०७५, १४ : ०९
सोमबार, ११ असार २०७५

कुनै बेला नेपालले कोरियाली जनताका लागि खाद्यान्न सहयोग गथ्र्यो तर अहिले कोरिया र नेपालको अर्थतन्त्रको परिदृश्य फरक छ । कोरिया विकासको गतिमा छ । नेपाल विकासको बहसमै छ । कोरिया सरकारले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगमार्फत मात्र नेपालमा ५० मिलियन अमेरिकी डलरभन्दा बढी सरकारी र गैह्रसरकारी क्षेत्रमार्फत खर्च गर्ने हैसियत बनाएको छ । यति मात्र होइन, विश्व बजारमा नेपाल जस्ता थुप्रै देशहरूलाई कोरियाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यो भनइ हो एक जना कोरियन मित्रको । त्यसो भए कोरियाको यो प्रगतिको मुख्य कारक के हो त ? मेरो प्रश्नमा उनले उत्तर फर्काए, हामीसँग दक्ष मानव स्रोत थियो र छ । त्यसैको प्रभावकारी प्रयोगले हाम्रो देशले विकासको गति लिएको हो । 

अर्की एकजना अमेरिकी नागरिक राचेलले एक प्रसङ्गमा भनिन्, ‘टाइम इज मनी’ । सैद्धान्तिक कुरालाई सहमति जनाउँदै मैले प्रतिवाद गरँे, विकशित देशहरूमा समयको महत्व कति हुन्छ, म राम्रो सँग जान्दछु तर नेपालमा यसको भावार्थले मेल खाँदैन । ऊ फिस्स हाँस.. । कहाम्रो देशमा आफ्नै परिवारको सदस्यसँग कहिलेकाहीँ हप्तौसँग भेट हँुदैन । उसले फेरि थपी– ‘वी हेभ नो इनअफ टाई टु स्लिप’, उसले मलाई हेर्दै भनी, ‘स्टिल इन दिस डिकेट नेपलिज आर स्लिपिङ विदआउट ड्रिम एन्ड सोसिअल रिस्पोन्सिबिलिटी ।’

एक दिन त्यही कोरियनले एक प्रसङ्गमा भने, ‘मैले नेपाल सरकारको जनसङ्ख्याको प्रतिवेदन हेरेको छु । नेपालमा कुल जनसङ्ख्याको करिब ४० प्रतिशत जनसङ्ख्या ३५ वर्षमुनिको छ, एक हिसाबमा नेपाल युवाहरूको देश हो । यो मानव स्रोतलाई सरकारले सही ठाउँमा प्रयोग गर्न सके देश र जनताले छोटो समयमा परिवर्तनको महसुस गर्न सक्छ ।

केही समयदेखि नेपालमा कार्यरत यी विदेशी मित्रहरूलाई तपाईंहरूलाई नेपाल कस्तो लाग्यो ? सोचेजस्तै वा परक भन्ने विषयको छलफलका क्रममा उनीहरूले फेरि थपे– ‘हेयर इज नो सिस्टम इभ्रिवेयर पिपुल बार्गेनिङ फर मनी ।’ हस्पिटलमा पनि सिस्टम छैन, पब्लिक यातायात व्यवस्थित छैनन् । होटेलहरूमा विदेशी भन्यो कि पैसा धेरै माग्छन् । हवाई सेवा सुरक्षित छैन । तपाईंलाई थाहा छ ? हाम्रो देशममा सिस्टम छ, सबैले सिस्टमभित्र बसेर काम गर्नुपर्छ ।

मधेस, तराई, सुदूरपश्चिम अनि कर्णालीका थुप्रै बस्तीमा म पुगेको छु । ती दूरदराजका गाउँहरूमा युवाहरू प्रायः भेटिँदैनन्, भएका किशोर किशोरीहरूमा कुनै रहर लाग्दा सपना भेटिँदैनन् । भविष्यको लक्ष्यहरू भेटिँदैनन् । यस्ता थुप्रै ठाउँहरू घुम्दा कोरियनले भनेका कुरा धेरै चोटि सम्झेको छु, प्रतिवेदनले देशलाई युवाहरूको देश भन्छ तर देशका विकट गाउँहरू त बुढो पो भइसकेछन् । अहिले गाउँको अवस्था कति दर्दनाक छ भने गाउँलेहरू मर्दापर्दा मलामी पाउँदैनन् । गाउँमा अनुहार चाउरिएका वा आमा र त्यही केटाकेटी हुर्काइरहेकी महिलाहरू छन् । अझै महिलाहरू पनि बालबच्चाको गुणस्तरीय पढाइका लागि भन्दै सहरमै बस्छन् ।

कर्णाली प्रदेशको मुगु जिल्लाको सोरु गाउँपालिका जाँदैगर्दा बाटोमा एकजना १६ वर्षे युवा भेटेँ । उनलाई सोधेँ भाइ स्कुल जाँदैनौँ ? उसले रुखो तरिकाले गजबको उत्तर फर्कायो । ‘पढेर क्या गन्र्या’ उसले फेरि थप्यो, ‘जसरी पनि पैसा कमाउने हो । मेरो उम्मेर नपुगेर मात्र हो, अहिले सोह्र वर्षको भएँ । दश कक्षामा पढ्छु परीक्षा दिन मात्र स्कुल जान्छु । अब १८ वर्षको भएपछि पासपोर्ट बनाएर विदेश जाने हो । गाउँका सबै दाइहरू विदेश छन् । कोही विदेश जान भनेर सहरमै बसेका छन् । काठमाडौँको कुन्नि के मेनपावर कम्पनीको नाम लिएर उसले आउँदो वर्षको लटमा आफूलगायत १२ जना गाउँका युवाहरू विदेश जाने गोप्य कुरा खोले ।

विकशित देशमा केही महत्वपूर्ण सवालबाहेक प्रायः नागरिकहरू खासै चासो राख्दैनन् । जिम्मेवार सार्वजनिक व्याक्तिका धारणाप्रति पनि अपेक्षित प्रतिक्रियाहरू देखिँदैनन् । मुख्यतः दक्षिण एसियाको जनताले, अनावश्यक कुरामा चासो राख्छन् । त्यसमा पनि नेपाली युवाहरूमा अलि बढी नै यो प्रवृत्ति देखिन्छ । 

हामी युवाहरूले समाजमा विद्यमान विभेदका सवालमा, समाजका जनजीविकाका सवालमा, समाज अनि राज्यका गलत प्रवृत्तिका सवालमा, देश विकासका सवालमा, विकृत राजनीतिका सवालमा जति बहस र छलफल गर्नुपर्ने हो गर्न सकेनौँ । जिम्मेवार नागरिकको दायित्व, शिक्षित युवा जमातको कर्तव्य देश निर्माणको एउटा पाटो बन्नु पर्ने होइन ?

हुन त भारतीय प्रधानमन्त्री गत वर्ष मात्र सोसियल मिडियामा सबैभन्दा बढी फलोअर भएको वर्ष व्याक्ति घोषणा नै भए । यस अर्थमा नेपाली भएकोमा गर्व गर्ने ठाउँ भने हामीले पनि बनाएका छौँ । पहिलो इन्डियन आइडलमा जम्मा ३ करोड नेपालीले करिब १२७ करोड जनसङ्ख्या भएको भारतलाई उछिनिदियौँ । हामीले प्रशान्त तामाङलाई नेपाली इन्डियन आइडल बनायौँ । अर्को प्रख्यात भारतीय रियालीटि सो लिटल च्याम्पमा पनि तेरियालाई हामीले जितायौँ । विभिन्न अरू क्षेत्रका प्रतिस्पर्धीहरूलाई पनि हामीले अन्तराष्ट्रिय मञ्चमा विजेता बनाएका छौँ । यस अर्थमा हामी एक नेपालीले  अर्को नेपालीको भलाइप्रति कति जिम्मेवार छौँ, प्रष्ट हुन्छ ।

फिफा विश्वकप खेल जगतको महान पर्व नै हो । सन १९३० मा सुरु भएको विश्वकप सन् २०१८ सम्म आइपुग्दा २१औँ संस्करण रसियामा सञ्चालन भइरहेको छ । जुन १४ बाट सुरु भएको विश्वकप आउँदो जुलाई १५ मा सम्पन्न हुँदैछ ।

विश्वकपका सवालमा रमाइलो पक्ष त के छ भने एसिया महादेशका थोरै देशहरू विश्वकपमा सहभागी छन, सिङ्गो दक्षिण एसियाले विश्वकपमा प्रवेश पाएको गौरवको इतिहास छैन । यसको मतलब हाम्रो देश मात्र होइन, सिङ्गो एसिया महादेशले खेलकुदमा खासै चासो नदिएको प्रष्ट हुन्छ । तर उदेक लाग्दो विषय हामी नेपाली युवाहरू विश्वकप नराम्रो सँग लागेको छ जुन आवश्यक पनि होईन ।

विगत र वर्तमान अवस्थामा नेपालले पनि खेलजगतमा खेलाडीहरूले उत्साहजनक प्रगति गर्न नसकेको होइन, तर पनि जीवन र उद्देश्यविहीन नेपाली खेल क्षेत्रमा कैयौँ हस्तीहरू निराशासहित यस क्षेत्रबाट हराएका छन् । यति मात्र होइन मिडियाहरूमा आफैले प्राप्त गरेका मेडलहरू बेचेर गुजारा चलाइरहेका तिता समाचारहरू सम्पे्रषण हँुदा खेल जगतसँग सरोकार राख्ने क्षेत्र र स्वयम् राज्य र सरकार यस क्षेत्रप्रति चासो नदिएको प्रष्ट्याउँछ । विश्व जगतमा देशलाई परिचित गराउन खेलजगतको महत्वपूर्ण भूमिका रहे पनि हाम्रो देशले विश्व खेल क्षेत्रमा प्रभाव निर्माण गर्न नसकेकोमा हामी नेपाली खेल प्रेमीहरू बाहिरी दुनियाको फन्डामा बहस गरिरहेका छौँ ।

विश्वकपका बारेमा जति हामी बहस गरिरहेका छौँ त्यति बहस नेपाली खेलकुद क्षेत्रको विकासका पक्षमा गर्नु पथ्यो । त्यो गर्न सकेनौँ । हामी खेलाडीका बारेमा जति बहस गरिरहेका छौँ त्यति बहस सम्भावित खेलक्षेत्रको बारेमा बहस गर्ने हो भने मात्र पनि नेपाली खेलाडीहरूमा अर्को आशालाग्दो पुस्ता जन्मिन्थ्यो । खेल क्षेत्रका हस्तीहरूमा ऊर्जा त जन्मिन्थ्यो । हामी आफूभित्रको प्रतिभाको खोजीमा लाग्न सकेका छैनौँ । बरु छिमेकीहरूको प्रगतिबाट पनि गर्व गर्न सकेका छैनाँै । 

अतः युवाहरूको सिर्जनात्मक क्षमतालाई देश विकास प्रयोग गर्नेतर्फ बहस गरौँ । नीति निर्माणको क्रममा हाम्रा प्रतिनिधिलाई सुझाव सल्लाह दिनका लागि बहस गरौँ । राज्यमा व्याप्त भ्रष्टचार नियन्त्रणका लागि प्रभावकारी रूपमा युवाहरूको परिचालन सम्बन्धमा बहस गरौँ । समाजमा विद्यमान छुवाछूत जस्ता विकृत रूपलाई कसरी निर्मूल पार्नेतर्फ बहस गरौँ । शिक्षा, बेरोजगारी, स्थानिय स्रोत सदुपयोग, वातावरण संरक्षण आदिमा बहस गरौँ । अनि मात्र देशका कुना कन्दराका प्रतिभाहरूलाई कसरी फलाउन फुलाउन सकिन्छ । 

अहिले विश्वकप कसले जित्छ, कुन खेलाडीले कति गोल हान्छ यो हाम्रो सरोकारको विषय होइन । अहिले जनताका इच्छा आकाङ्क्षातर्फ केन्द्रित हुँदै सिङ्गो युवाहरूका सपना साकार पार्ने अभियानमा सिर्जनात्मक बहस र छलफल गरौँ । देश बनाऊँ । हामीले देश बनाए हाम्रो सन्तानले यही भूमिमा विश्वकप खेलाउलाने शौभाग्य पाउन सक्छन् । अतः  समयको मूल्यलाई बुझेर देशको भविष्य र सन्तानको भविष्य बनाउने महान अभियानको थालनी गरौँ । जय युवा !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश विश्वकर्मा
रमेश विश्वकर्मा
लेखकबाट थप