बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्जेन्टिना र मेस्सी : लभ– हेटको सम्बन्ध

मङ्गलबार, १२ असार २०७५, १६ : १५
मङ्गलबार, १२ असार २०७५

एजेन्सी । डियगो म्याराडोना भगवान् सरह पुजिन्छन् । मारियो केम्पस महान् खेलाडी हुन् । सेवास्टियन भेरोन, डियगो सिमोनी, बाटिस्टुटा, रोर्बटो आयला, हर्नान क्रेस्पो, रोर्बटो आयला, कार्लोस टेभेच, एन्जेल डि मारिया लगायतका खेलाडीहरु अर्जेन्टिनीका लागि आदर्श हुन् । जब मेस्सीको सवाल उठ्छ । तब पुरै देश विभाजित हुन्छ । 

एकथरी मान्छन्, मेस्सी ब्रम्हाण्डकै सर्वोत्कृष्ट खेलाडी हुन र त्यस्ता खेलाडी अर्जेन्टिनामा जन्मनु आफैँमा गर्वको विषय हो । अर्कोथरी भन्छन्,‘म्याराडोनासँग त उनको तुलना नै हुन सक्दैन किनकी उनी अर्जेन्टिनी कम र स्पेनिस धेरै हुन् ।’

अर्जेन्टिनाको रोसारियो शहरबाट १३ वर्षकै उमेरमा बार्सिलोना आएका थिए, लियोनल मेस्सी । उनको  खेलशैली देखेर बार्सिलोनाले युवा टोलीमा राखेको थियो । उनी बार्सिलोनामै हुर्किए । क्याटलान संस्कृतिसँग नजिकबाट परिचित छन् । बार्सिलोना समर्थकहरु कुनै समय उनको निर्दोष फुच्चे चेहराबाट आर्कषित थिए, विस्तारै ड्रिब्लिङ कलाले लोभ्यायो । अहिले मेस्सीलाई अलग राखेर बार्सिलोना क्लबका बारेमा समर्थकहरु सोच्ने अवस्था नै छैन । निर्विवाद रुपमा मेस्सी अहिलेसम्मकै सबैभन्दा ठूलो हिरो हुन् । 

बार्सिलोनामा सानै उमेरमा देखाएको अद्भूत प्रदर्शनकै कारण उनलाई अर्जेन्टिनाको युवा टोलीमा बोलाइयो । अर्जेन्टिनाअघि नै मेस्सीलाई स्पेनको युवा टोलीबाट खेल्न प्रस्ताव आएको थियो । तर उनले स्विकार गरेनन् । अर्जेन्टिनाको राष्ट्रिय जर्सी लगाएर मेस्सीले मैदान प्रवेश गर्न थालेदेखि नै उनीबारे टिकाटिप्पणी सुरु भयो । आखिर बार्सिलोनामा खेलेजस्तो मेस्सीले अर्जेन्टिनाका लागि किन खेल्न सक्दैनन् ?

बार्सिलोनाबाट मेस्सीसँगै खेलेका सेस फाब्रिगासले भर्खरै यस्तो तर्क गर्नेहरुलाई पुग्नेगरी जवाफ फर्काएका छन् । ‘उनलाई कसैले सहयोग गर्दैन । मेस्सी शो पिसजस्तो मात्रै देखिएका छन् । टोलीका अन्य खेलाडीको सहयोग नभई कसरी उनी एक्लै सफल हुनसक्छन् ?’

बार्सिलोनालाई मेस्सीले ३१ वटा उपाधि जिताइसकेका छन् । तर अर्जेन्टिनाको सिनियर टोलीलाई उनले कोपा अमेरिका र विश्वकपजस्ता ठूलो प्रतियोगिता जिताउन सकेका छैनन् । धेरैले के समेत बिर्सिएका छन् भने उनले सन् २००५ मा अर्जेन्टिनालाई फिफा यु–२० विश्वकप जिताएका थिए । सन् २००८ मा ओलम्पिक फुटबलमा स्वर्ण जिताए । अन्य टोलीको हकमा यही उपाधि ठूलो मानिन्छ । तर, दुईपटकको विश्वविजेता देशका नागरिकहरु यसलाई सफलता मान्न तयार छैनन् । 

अहिलेसम्म अर्जेन्टिनाको सिनियर टोलीबाट १ सय २६ खेल खेलेका मेस्सीले विश्वकपको फाइनल एकपटक र कोपा अमेरिकाको फाइनल दुईपटक खेलिसकेका छन् । सन् २०१४ को विश्वकप र सन् २०१५ को कोपा अमेरिका उनी सर्वोत्कृष्ट खेलाडी नै चयन भएका थिए । तर, दुग्भार्य उनले टोलीलाई उपाधी जिताउन सकेनन् । जसका कारण उनका आलोचकहरुले विरोध गर्ने अवसर पाए । 

सन् २०१६ मा मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे । त्यसपछि एकाएक सारा अर्जेन्टिना स्तब्ध भयो । राष्ट्रपतिदेखि विशिष्ट व्यक्ति तथा पूर्व फुटबलरहरुले सन्यास फिर्ता लिन आग्रह गरे । अनि, मेस्सी फर्किए । सन्यास फिर्ता लिएर फर्किएकै खेल, विश्वकपको दक्षिण अमेरिकी छनोटमा उरुग्वे विरुद्ध गोल गरे । कमजोर अवस्थामा रहेको अर्जेन्टिनाले जित्दै गयो । अन्तिम खेलमा इक्वेडरलाई हराएर मात्रै सोझै विश्वकपमा छानिने अवस्था थियो । मेस्सीले ह्याट्रिक गर्दै खेल ३–१ ले जिताए । 

त्यसपछि बुधबार निस्कने अर्जेन्टिनाको चर्चित पत्रिका ‘अले’ को फ्रन्टपेजमा हेडलाइन छापियो । ‘मेस्सी अर्जेन्टिनी हुन्’ । काम नपाएकाहरुले समय बिताउनका गर्ने तर्क–वितर्कलाई स्वभाविक हो । तर, अर्जेन्टिनाकै पत्रिकामा यस्तो सांकेतिक हेडलाइन राखिनुको अर्थ धेरै हुनसक्छ । 

पहिलो, अर्जेन्टिनाको चर्चित उखान ‘भगवान् अर्जेन्टिनी हुन्’ लाई संशोधन गरेर ‘मेस्सी अर्जेन्टिनी हुन्’ लेखिएको हुनसक्छ । यही उखानलाई संशोधन गर्दै अर्जेन्टिनामा म्याराडोना इज गड पनि भनिन्छ ।’ म्याराडोनालाई त अर्जेन्टिनी सञ्चारमाध्यमले डि१०अस पनि भन्छन् । डिअसको अर्थ स्पेनिसमा भगवान् हो । तर, मेस्सीका लागि यस्तो सम्मान अनौठो हुनसक्छ किनकी आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु भएदेखि नै मेस्सीले वास्तविक अर्जेन्टिनी नरहेको भन्दै आलोचना खप्नुपरेको छ । 

मेस्सीले न पत्रिका पढ्छन् । न त अर्जेन्टिनी टिभी नै हेर्छन्  । तर पनि उनी अर्जेन्टिनामा आफ्नो आलोचना हुन्छ भन्नेमा जानकार छन् । गत जुलाईमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिदैं उनले भनेका थिए, ‘म आलोचनालाई वास्ता गर्दिन । पहिले–पहिले गथ्र्यें किनकी त्यतिबेला मानिसहरु मेराबारेमा धेरै कुरा गथ्यें र सानो छँदा मलाई थाहा हुँदैन थियो किन मेरो आलोचना हुन्छ ।’

मैदानमा राष्ट्रिय गान बज्दा मेस्सीले अन्य सहकर्मी जसरी नगाएको भन्दै उनको आलोचना हुने गरेको छ । फ्यानहरु थप रुष्ट हुन्थें । अनि राष्ट्रियताको कुरा उठ्ने गरेको थियो । ‘म राष्ट्रिय गान यस कारण गुन्गुनाउदिँन किनकी मलाई लाग्दै म गाउनुपर्छ भन्ने,’ एक अन्तर्वार्ताका क्रममा मेस्सीले भनेका थिए, ‘हरेक व्यक्तिले राष्ट्रिय गानलाई फरक–फरक रुपले लिन्छ र म यसलाई सुन्दै आफ्नो शरीरभित्रबाट अनुभव गर्छु ।’

तर मेस्सीले राष्ट्रिय गान नगाएको विषय पनि म्याराडोनासँग तुलना हुन्थ्यो । म्याराडोनाले धैर्यताका साथ अर्जेन्टिनाको राष्ट्रिय गान गाउने गरेका थिए । अर्जेन्टिनाबाट खेल्दा म्याराडोनाले कहिल्यै कमजोर प्रदर्शन गरेका थिएनन् र सन् १९८६ मा एकल प्रदर्शनमै उपाधि पनि जिताइ छाडे । म्याराडोना अर्जेन्टिनीहरुका लागि चमत्कारिक लिडर थिए । 

बार्सिलोनामा पुजिएका मेस्सी र अर्जेन्टिनी फ्यानहरुबीच सम्बन्ध कहिल्यै एकनासको छैन । कोपा अमेरिकापछि सन्यास घोषणा गर्दा मेस्सीलाई धेरै समर्थकहरुले आफ्नो निर्णयमा पुनर्विचार लिन आग्रह गरेको दृष्टान्तलाई नै हेर्दा काफी हुन्छ , यो सम्बन्ध लभ–हेटभन्दा माथि छ । मेस्सीले कोपा अमेरिकाको चारवटा फाइनल खेलेर पनि अर्जेन्टिनालाई उपाधि जिताउन नसकेपछि आवेगमा सन्यास घोषणा गरेका थिए । 

सन्यास फिर्ता लिएर अर्जेन्टिनालाई विश्वकपमा छनोट गराएपछि मात्रै मेस्सीको महत्व बढ्यो । इक्वेडर विरुद्धको विश्वकप छनोटको अन्तिम खेलमा निर्णायक ह्याट्रिक गरेपछि मेस्सी झन्डै पागल भएका थिए । साथीहरुसँग मिलेर उनले ड्रेसिङ रुममा राष्ट्रिय गान गाएको भिडियो भाइरल बन्यो । पत्रिकामा ‘मेस्सी अर्जेन्टिनी हुन्’ भनेर छापिएको त्यसपछि हो । 

यसपटक विश्वकपमा अर्जेन्टिना निकै समस्यामा छ । मेस्सीमाथि टोलीको कप्तानीसँगै उत्कृष्ट खेल्नुपर्ने दायित्व छ । यस्तो लाग्दैछ कि उनले दबाब सहन सकिरहेका छैनन् । आइसल्यान्ड विरुद्धको पहिलो खेलमा १२ वटा पोस्ट चार्ज गरेर पनि मेस्सी सफल हुन सकेनन् । पेनाल्टी समेत गुमाए । 

क्रोएशिया विरुद्धको खेल सुरु हुनअघि नै मेस्सी निराश देखिन्थें । यस्तो लाग्थ्याें, उनलाई विश्वकप छाडेर क्याटालोनिया फर्कन हतार भइसकेको छ । क्लब फुटबलमा देखिने मेस्सीको जोश उक्त खेलमा पनि देखिएन र क्रोयशियाले ३–० का नमिठो हार चखायो । 

आज मेस्सी आफ्नो अग्निपरीक्षामा हुनेछन् । नाइजेरिया विरुद्ध अर्जेन्टिनाले जित्न नसक्नु भनेको पहिलो चरणबाटै घर फर्कनु हो । मेस्सीले विश्वकप खेल्न थालेयता अर्जेन्टिनाले पछिल्ला तीन संस्करणमा कम्तिमा क्वाटरफाइनलको यात्रा गरेको छ । यस्तो आज बराबरीमा रोकिए वा पराजित भएको खण्डमा सन् २००२ पछि पहिलो पटक अर्जेन्टिना क्वाटरफाइनलबाट बाहिरिनेछ । आइसल्यान्ड विरुद्ध २–० ले विजयी भएको नाइजेरियालार्ई हराउन सहज छैन । तर, मेस्सीले आफ्नो स्वभाविक खेल देखाउन सके यो सम्भव छ । 

अर्को महत्वपूर्ण पक्ष यस विश्वकपपछि सन्यास लिने संकेत मेस्सीले गरिसकेका छन् । यस्तो परिस्थितीमा कसलाई के थाहा, बराबरी वा हारले यही प्रतियोगिता मेस्सीको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बन्नसक्ने खतरा पनि छ । स्पष्ट छ, मेस्सीले खेल जिताउन सके ‘उनी मानिस होइनन्, एलियन हुन’ वा ‘भगवान् हुन्’ भन्ने नारा लाग्नेछ । खेल हारेमा उनको राष्ट्रियतामाथि फेरि प्रश्न खडा हुनसक्छ । 
फुटबलमा समर्थक र खेलाडीबीचको यो एउटा अनौठो नाता हुनसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप