शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काउन्टिहो कथा : ३ वर्ष अन्तर्राष्ट्रिय फुटबलमा गुमनाम, अहिले स्टार

बुधबार, १३ असार २०७५, १७ : ०५
बुधबार, १३ असार २०७५

काठमाडौँ । अन्ततः काउटिन्होले विश्वकप खेले । स्वीटजरल्यान्ड र कोस्टारिकाबिरुद्धको खेलमा शानदार गोल पनि गरे । यी खेलाडी अहिले निकै चर्चामा छन् । पछिल्ला केही वर्ष लिभरपुल र अहिले बार्सिलोनामा पनि मज्जाले जमिरहेका छन् । तर, काउटिन्होको समय सधैं सुखद थिएन । सन् २०१० मै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका काउटिन्होले त्यस वर्ष मात्र २ वटा मैत्रिपूर्ण खेल खेले । त्यसपछि सन् २०१४ को विश्वकपसम्म अन्तर्राष्ट्रिय फुटबलमा गुमनाम रहे । सन् २०१४ को विश्वकपपछि भने उनी ब्राजिलको नियमित सदस्य रहँदै आएका छन् । 

१२ जुलाई सन् १९९२ मा फिलिपो काउटिन्होको जन्म ब्राजिलको राजधानी रियो दि जेनरियोमा भएको थियो । राजधानी नजिकैको रोचास्थित त्यस्तो बस्तीमा काउटिन्हो हुर्किए, जहाँ , उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थको भण्डारण हुने गरेको थियो । कंक्रिटको जङ्गल भनेर चिनिने यो बस्तीका खुला मैदान र सडकहरु काउटिन्होका लागि हराभरा स्थान थिए ।  

दुई दाजुहरुको पछि–पछि उनी फुटबल कुदाउँदै हिँड्थे । छोटो समयमै उनले दाजुहरु क्रिस्टियानो र लियन्द्रो मात्रै नभएर टोलका सबै बालकहरुलाई उछिने ।  चर्चित क्लब भास्को डि गामाले ट्रायलमा बोलायो । भास्को डि गामाको युथ टोलीमा छदाँ बेला–बेलामा उनको जम्काभेट नेयमारसँग हुने गर्दथ्यो । त्यतिबेलासम्म न काउटिन्होको चर्चा विश्वव्यापी थियो । न त नेयमारकै । 

यो थियो, सन् २००३ को कुरा, जतिबेला नेयमार भर्खरै सान्तोषमा आबद्ध भएका थिए । काउटिन्होले ठूलो मैदानमा खेल्न थालेको २ वर्षमात्रै भएको थियो । रोविन्हो र डियगो यतिबेला उदयमान खेलाडीका रुपमा चर्चामा थिए । उनीहरुले ब्राजिली फुटबल हाँक्ने अनुमान गरिएको थियो ।

काउटिन्होको समय आउँदै थियो । सन् २००८ मा नेयमारको सान्तोषलाई भास्को डि गामाले यु–१७ कोपा ब्राजिलमा हरायो । यही खेलमा उत्कृष्ट प्रदर्शन गरेका काउटिन्हो चर्चामा आए । अर्को वर्ष ब्राजिलले दक्षिण अमेरिकी यु–१७ फुटबल च्याम्पियनसिप जित्दा काउटिन्होले तीन गोल गरे । 

त्यसपछि धेरै युरोपेली क्लबले आँखा लगाए । इन्टरले भर्खरै नाम सुनिएका १६ वर्षीया खेलाडीमाथि ४ मिलियन युरोको बाजी लगायो । त्यो पनि, २ वर्षपछि क्लबमा भित्र्याउने शर्त राखेर । उनले थप २ सिजन भास्कोबाटै ऋणमा खेले । 

२०१० मा डेब्यु 
सन् २०१० मा इन्टर आउने बित्तिकै काउटिन्होले आफ्नो कला देखाउन थाले । सन् २०१० को च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानले टोट्टेनह्यामलाई ४–३ ले हराउँदा काउटिन्होले दुई गोलका लागि एसिस्ट गरेका थिए । यस खेलपछि नै हो । युरोपमा उनी चर्चामा आए । 

उनको खेलबाट प्रभावित भएका प्रशिक्षक मानो मेनिसेजले इरान विरुद्धको मैत्रिपूर्ण खेलमा यी खेलाडीलाई डेब्यु गराए । उक्त खेलमा ब्राजिल ३–० ले विजयी भएको थियो । काउटिन्हो यतिबेला १८ वर्षका मात्रै थिए । त्यसको चार दिनपछि उनले युक्रेन विरुद्धको मैत्रिपूर्ण खेलमा ९० मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रन पाए । यस खेल ब्राजिलले २–० ले जित्यो ।  नोभेम्बरमा अर्जेन्टिना विरुद्ध भएको मैत्रिपूर्ण खेलमा पनि उनी टोलीमा समावेश थिए । तर, अर्जेन्टिना विरुद्ध ब्राजिल एक शुन्यले पराजित हुँदा उनले बेन्चमै बसेर टुलुटुलु खेल हेरे । 

यसपछिका तीन वर्ष काउटिन्हो टोलीमा परेनन् । मानो मेनिसेजको सट्टामा लुईस फिलिप स्कोलारी प्रशिक्षक बनेर आए । उनले काउटिन्होको प्रतिभा चिनेनन् । 

सन् २०१४ को विश्वकपमा टोलीमै परेनन् सन् २०१४ मा ब्राजिलमै विश्वकप आयोजना हुँदा स्कोलारीले अन्तिम अवस्थामा टोलीबाट काउटिन्होको नाम हटाए । विश्वकपमा ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहो¥यो । तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्यान्डस्सँग ३–० ले पराजित भयो । यसपछि प्रशिक्षक लुईस फिलिप बर्खास्त भए । डुंगा प्रशिक्षकका रुपमा टोलीमा फर्किए । टिमका धेरै खेलाडी फेरबदल भए । अनि काउटिन्होको पालो आयो । 

सन् २०१४ को विश्वकपपछि काउटिन्हो ब्राजिली टोलीका नियमित सदस्य रहँदै आएका छन् । उनले उक्त विश्वकपपछि खेलेका ३६ खेलमा १२ गोल गरेका छन् । 

लिभरपुलका ठूला स्टार 

इन्टर मिलानमा सुरुवात राम्रो गरेपनि काउटिन्होले आफ्नो उत्कृकष्ट प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । त्यसैले, इन्टरले उनलाई सन् २०१२ मा ऋणमा स्पेनिस क्लब इस्पानियोल पठायो । इस्पानियोलमा राम्रो खेलका काउटिन्हो फेरि क्लब फर्कदाँ उनीबाट ठूलो अपेक्षा गरिएको थियो । तर, सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि २०१२÷१३ को सिजन समाप्त नहुँदै इन्टरले काउटिन्होलाई लिभरपुलमा बेच्यो । यस सिजनमा उनले १९ खेल खेलेर १ गोलमात्रै गरेका थिए । 

तर लिभरपुल आएपछि काउटिन्होले आफ्नो वास्तविक क्षमता देखाए । लिभरपुलमा डेब्यु सिजनमा १३ खेल खेल्दै ३ गोल गरे । उनको खेल सुरुदेखि नै हेर्न लायक थियो । उनको तुलना क्रिष्टियानो रोनाल्डोसँग हुन थाल्यो । प्रिमियर लिगमा यस्तै खेल डेब्यु सिजनमा म्यानचेस्टरका लागि रोनाल्डोले खेलेका थिए । रोनाल्डोलेजस्तै काउटिन्होले पनि विपक्षी खेलाडीहरुलाई डिस्टर्व गर्थे । गोलका लागि छरितो पास उपलब्ध गराउँथे । ड्रिब्लिङ र बलमाथिको नियन्त्रण गज्जबको थियो । विपक्षी टोलीको रक्षापंक्ती भत्काउन माहिर काउटिन्होको सम्मानमा विपक्षी टोलीका समर्थकहरुको शिर पनि पटक–पटक झुक्ने गर्दथ्यो । काउटिन्होले प्रिमियर लिगका दर्शकहरुलाई मनोरञ्जन दिएको डेब्यु सिजन लिभरपुल सातौं स्थानमै सिमित भयो । 

अर्को सिजन लिभरपुलको कथा फेरियो । लिभरपुलले जित हासिल गरेका महत्वपूर्ण खेलमा उनले लुईस सुआरेज र डेनियल स्टरिजलाई गोलका लागि अवसर सिर्जना गरे ।  लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उपाधिका लागि अन्तिम क्षणसम्म प्रतिस्पर्धा ग¥यो । म्यानचेस्टर सिटीसँग २ अंकले पछि परेर उपाधि गुमाएपनि लिभरपुलको प्रशंसा सबैले गरे । काउटिन्होले लिगको अन्त्यतिर उपाधि होडमा रहेको सिटी विरुद्ध निर्णायक गोल गरे । ‘यो गोल प्रिमियर लिगकै अहिलेसम्मको उत्कृष्ट गोल हो,’ लुईस सुआरेजले आफ्नो आत्मकथामा लेखेका छन् । 

सन् २०१४/१५ को सिजन सुरु नहुँदै सुआरेजले लिभरपुल छाडे । त्यसपछि, काउटिन्हो टोलीका सबैभन्दा ठूला स्टार बने । तर दबाब थेग्न सकेनन् । २०१५/१६ मा प्रशिक्षक योर्गेन क्लोपले लिभरपुल सम्हालेपछि काउटिन्हो र रोर्बटो फिरिमानोले फेरि एकपटक लिभरपुललाई ठूला खेलमा विजयी गराए । सन् २०१६/१७ को सिजन काउटिन्होका लागि अर्को एक अविस्मरणीय वर्ष बन्दै थियो । यस सिजन लिभरपुलले अंक तालिकाको चौथो स्थानमा रहेर लिग टुंग्यायो । सुआरेजको बर्हिगमनपछि लिभरपुल चौथो स्थानमा अटाएको यो पहिलोपटक थियो । काउटिन्होको प्रदर्शन उसको सफलताको प्रमुख कारण थियो । 

गत सिजन काउटिन्हो लिभरपुल छाडेर बार्सिलोना आए । बार्सिलोना आउनुअघि उनले लिभरपुलबाट खेलेका १३ खेलमा ७ गोल र ६ एसिस्ट गरेका थिए । च्याम्पियन्स लिगमा उनले लिभरपुलबाट समुह चरणका ४ खेलमा ५ गोल र २ एसिस्ट गरेका थिए । च्याम्पियन्स लिग चलिरहेकै बेलामा बार्सिलोना सरुवा भएपछि उनले सिजनका बाँकी खेल गुमाए । तर, उनको बर्हिगमनपछि महोमद्द सलाहको प्रेरणादायी प्रदर्शनमा लिभरपुलले च्याम्पियन्स लिगको फाइनल यात्रा ग¥यो । 

बार्सिलोनामा लिग च्याम्पियन 

यता, बार्सिलोना आएकै वर्ष काउटिन्होले ला–लिगा उपाधि तथा कोपा डेल रे जिते । जनवरीयता, सिजनको अन्त्यसम्म खेलेका ला–लिगाका १८ खेलमा उनले ८ गोल तथा ५ एसिस्ट गरे । कोपा डेल रेमा ४ खेल खेल्दै २ गोल गरे । 

इस्पानियोलका पूर्व प्रशिक्षक मारिसियो पोचेटिन्होले काउटिन्होको तुलना  लियोनल मेस्सी र रोनाल्डिन्होसँग गरेका छन् । ‘फिलिपोको खुट्टामा विशेष जादु छ ,’ उनले भनेका छन् । पास उपलब्ध गराउने मामिलामा उनको आँखा निकै तेजिलो मानिन्छ । उनलाई लिभरपुलका समर्थकहरुले ‘लिट्टिल म्याजिसियन’ उपनाम  दिएका छन् । उनी दुवै खुट्टाले उत्तिकै राम्रो बल प्रहार गर्न सक्छन् र लामो दुरीबाट प्रहार गर्न पनि माहिर छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप