शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुआरेज वा रोनाल्डो, कसले जित्लान् ?

शनिबार, १६ असार २०७५, २० : ४१
शनिबार, १६ असार २०७५

नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटजाँदा सुरु हुने खेलमा आज दुई पटकको विश्वविजेता उरुग्वे र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल जित्ने टोलीले क्वार्टरफाइनलमा फ्रान्स र अर्जेन्टिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

आजको खेलको मुख्य आकर्षण नै क्रिष्ट्रियानो रोनाल्डो र लुईस सुआरेज हुन् । सुआरेजले जारी प्रतियोगितामा २ गोल गरेका छन् भने रोनाल्डोले ४ गोल । 

पोर्चुगलका कप्तान रोनाल्डो टोलीका प्रमुख खेलाडी हुन् । टोलीलाई क्वार्टरफाइनल पु¥याउने जिम्मेवारी उनीमाथि । समुह चरणमा पोर्चुगलले गरेका ५ गोलमध्ये रोनाल्डोले ४ गोल गरेका छन् । त्यसैले आज पनि पोर्चुगल उनमा निर्भर रहनेछ । 

सुआरेजका लागि दबाब कम छ किनकी टोलीमा अर्का भरपर्दा स्ट्राइकर इडिन्सन काभानी पनि छन् । त्यसैले सुआरेज र काभानीलाई रोक्न पोर्चुगलको डिफेन्सले कडा कसरत गर्नुपर्नेछ । अहिलेसम्म राष्ट्रिय टोलीका लागि १ सय खेल खेलेर ५३ गोल गरेका सुआरेज उरुग्वेका सर्वाधिक गोलकर्ता हुन् । काभानीले १ सय ४ खेल खेलेर ४३ गोल गरेका छन् । 

डिफेन्समा मार्टिन सेसेरेस, सेवास्टियन कोआटेस, डियगो गुडिन र डियगो लाक्जाल्ट उत्कृष्ट फर्ममा रहेकाले उरुग्वेल काउन्टर कट्याकमा खतरनाक मुभहरु बनाउन सक्ने अवस्था छ । आफ्नो अन्तिम खेलमा आयोजक रुसमाथि ३–० को सहज जित निकालेका कारण पनि उरुग्वे निकै उत्साही छ । समूह चरणका सबै खेल जितेर स्पष्ट ९ अंकसहित उरुग्वेले दोस्रो चरणको बाटो तय गरेको हो । त्यस क्रममा उरुग्वेले ५ गोल गरेको छ । उसले अहिलेसम्म कुनै गोल खाएको छैन । 

यता, समूह ‘ए’बाट ५ अंक जोडेको पोर्चुगलले पनि ५ गोल नै गरेको छ । त्यसमध्ये ३ गोल स्पेनविरुद्ध बराबरी खेलेको खेलमा गरेको थियो भने १ गोल इरान विरुद्ध बराबरी खेल्दा गरेको थियो । मोरक्को विरुद्ध पोर्चुगलले १–० को जित निकालेको थियो । 

दुई वर्षअघि आफ्नो मजबुत डिफेन्सकै सहारामा युरो च्याम्पियन बनेको पोर्चुगल यसपटक डिफेन्समा कमजोर देखिएको छ । उसले प्रतियोगितामा ४ गोल खाइसकेको छ । अग्रपंक्तिमा रोनाल्डो र रिकार्डो क्वरिज्माले गरेको प्रदर्शन भने पोर्चुगलको बलियो पक्ष हो । इरान विरुद्ध उत्कृष्ट खेलेका पेपे र जाओ मारियोले आज पनि त्यही प्रदर्शनलाई निरन्तरता दिने हो भने काभानी र सुआरेजलाई गोल गर्नबाट पोर्चुगलले रोक्न सक्छ ।  

रुई पेट्रिसियो, एड्रियन सिल्भा र विलियम अघिल्लो खेलमा औसत देखिएका छन् । बलियो उरुग्वेविरुद्ध अझै सुधारिएको प्रदर्शन गर्नुपर्ने चुनौती उनीहरु सामू छ । आन्द्रे सिल्भाले आफुमाथिको अपेक्षालाई समूह चरणका खेलमा न्याय गर्न सकेनन् । उनले सोचेजस्तो खेल्ने हो भने पोर्चुगलले उरुग्वेलाई दबाबमा राख्नसक्छ । पोर्चुगल र उरुग्वेबीच अहिलेसम्म्म दुईपटक मात्रै भिडन्त भएको छ । एक खेल उरुग्वेले जितेको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।

रोनाल्डो र सुआरेजका केहीतथ्य
–    दुबै खेलाडी आ–आफ्नो देशका सर्वाधिक गोलकर्ता हुन् । सुआरेजले उरुग्वेका लागि ५३ गोल तथा रोनाल्डोले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । 

–    विश्वकपमा दुबै खेलाडीको राम्रो प्रदर्शन आफ्नो टोलीलाई सेमिफाइनलसम्म पु¥याउन सक्नु हो । तर, उनीहरुको टोलीले विश्वकपको अन्तिम चारसम्म पुग्दा टोलीमायी खेलाडी स्टार नभएर युवा थिए । सन् २००६ मा पोर्चुगलले विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा लुईस फिगो कप्तान थिए । रोनाल्डोलाई उदयीमान खेलाडीका रुपमा हेरिएको थियो । चार वर्षपछिको विश्वकपमा उरुग्वे सेमिफाइनल पुग्यो । टोलीका कप्तान डियगो फोर्लान यतिबेला सबैभन्दा ठूला स्टार थिए । युवा सुआरेज यही विश्वकपपछि चम्किए । 

–    विश्वकप जिताउन नसके पनि दुबै खेलाडीले आफ्नो महादेशको सर्वोच्च प्रतियोगिता जितिसकेका छन् । सुआरेजले सन् २०११ मा उरुग्वेलाई कोपा अमेरिका च्याम्पियन बनाए । रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरोकप जिताए । 

–    प्रिमियर लिगमै गरेको प्रदर्शनले दुई खेलाडीलाई चर्चामा ल्याएको हो । २००९ मा रियल म्याड्रिड आउनुअघि रोनाल्डो म्यानचेस्टर युनाइटेडका प्रमुख खेलाडी थिए । २०१४ मा बार्सिलोना आउनुअघि सुआरेज लिभरपुलका स्टार थिए । 

–    रियल म्याड्रिड  र बार्सिलोनाबाट खेल्ने यी दुई खेलाडी क्लब फुटबलमा पनि थुप्रै पटक आमने सामने हुने गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप