शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निःसन्देह दुई पार्टीका नेता–कार्यकर्ताको मन मिलाउने प्रश्न जटिल र कठिन : नेकपाका महासचिव विष्णु पौडेलसँग अन्तर्वार्ता

आइतबार, १७ असार २०७५, १० : १७
आइतबार, १७ असार २०७५

एकीकृत पार्टीको महासचिव बन्नुभएको छ, यो ४५ दिनको व्यक्तिगत अनुभव चाहिँ कस्तो रह्यो ?

– यो चाहिँ मेरो जीवनमा अत्यन्त गौरवपूर्ण जिम्मेवारीका रूपमा लिएको छु र जिम्मेवारी निर्वाह गर्ने कोसिस मबाट हुनुपर्छ भन्ने निष्कर्षमा छु । यो बीचको अवधि खासगरी कामको जिम्मेवारीका हिसाबले व्यस्ततापूर्ण अवधि रह्यो । अनुभवका हिसाबले हामी दुई पार्टीलाई केन्द्रीय तहमा एकताबद्ध ग¥यौं । अब स्थानीय तहमा एकता गर्नका लागि र पार्टीका जनवर्गीय सङ्गठनहरूलाई एकताबद्ध गर्नका लागि हामीले केही संरचना, कार्यदलहरू निर्माण गरेर  प्रक्रियालाई अगाडि बढाएका छौं । यस बीचमा विभिन्न कम्रेडहरूसँगको भेटघाट अनुभवहरूको आदान प्रदान त्यो चाहिँ महत्वपूर्ण रहेको छ ।

नेकपाका नेताहरू भेट्दा विष्णु पौडेल पहिला डिफेन्डर हुनुहुन्थ्यो, अहिले स्टाइकर बन्नुभएको छ भन्छन् । डिफेन्डरबाट स्ट्राइकर बन्दा दौडधुप, दबाब तदारुकताको पाटो चाहिँ कस्तो रह्यो ?

मैले कहिल्यै पनि आफूलाई पार्टीको साधारण कार्यकर्ताभन्दा माथि ठानिनँ, आज पनि म ठान्दिनँ । पार्टीको एउटा सदस्यका नाताले पार्टीको झण्डा र विचार बोक्न पाउँदा गर्वको अनुभूति गर्छु । र त्यस क्रममा जुनबेला जस्तो जिम्मेवारी आउँछन् पार्टीले पत्याएर  दिने जिम्मेवारी पूरा गर्ने जिम्मेवारी पूरा गर्ने इमान्दारीपूर्वक कोशिस गर्छु । निःसन्देह मेरा लागि अन्यन्तै महत्वपूर्ण जिम्मेवारी हो र यो जिम्मेवारी मैले इमानदारीपूर्वक पूरा गर्नुपर्छ भन्ने म ठान्दछु र त्यसका लागि मेरो प्रयास रहिरहन्छ ।

जेठ ३ गते सरप्राइज ढङ्गले पार्टी एकता गर्नुभयो । डेढ महिना भयो अब पार्टीको तल्लो वडा कमिटीदेखि प्रदेशसम्मका धेरै संरचना एकीकृतको बाँकी छ । आजका दिनमा कुन तहमा पुगेको छ र अब कति समय लाग्छ ?    

हामीले सुरुमा तीन महिनाभित्र सक्छौं भनेका हौं । आम रूपमा एकता प्रक्रियाका कार्यभारहरूलाई तीन महिनाभित्र पूरा गर्छौं भन्ने हाम्रो ठम्याइ हो । यस बीचमा केही कामहरू अगाडि बढेको छ । खासगरी जनवर्गीय सङ्गठनको एकताका लागि कार्यदलहरू बनेका छन् । कार्यदलहरूले आ–आफ्नो तहमा एकता प्रक्रियालाई अगाडि बढाइरहेका छन् । स्थानीय पार्टी कमिटीहरूको एकताका लागि प्रदेश तहमा र जिल्ला तहमा कार्यदल बनेका छन् । ती कार्यदलहरूको पनि आफ्नो कामलाई अगाडि बढाएका छन् । खासगरी कार्यदलको सिफारिसका आधारमा हामिले केन्द्रीय तहबाट आवश्यक निर्णयहरू गर्नु छ  । ती कामहरूलाई हामीले अगाडि बढाउँदै छौँ । यस बीचमा हामी पार्टीको विधान र प्रतिवेदन जस्ता दस्तावेजहरू जुन हामीले निर्वाचन आयोग समक्ष प्रस्तुत पनि गरिसकेका छौं । ती चीजहरूको सम्पादन गर्दै प्रेसमा पठाउने तयारीमा पनि हामी छौं । पार्टीको नियमावली निर्माणको काम अगाडि बढेको छ । त्यसमा पनि हामीहरू छलफलमा छौँ । यी कामहरूलाई हामीले समन्वयात्मक ढङ्गले अगाडि बढाइरहेका छौँ ।

जस्तो, पार्टी कमिटीहरू एक खालका प्राविधिक संरचना हुन्, यो वा त्यो ढङ्गको लिडरसिपमा बन्लान् नै, विगतका तीता मीठा अनुभवहरू पनि दुई पार्टीको बीचमा छन् । मन मिलाउने कुरा चाहिँ कत्ति सजिलो छ ?

तपार्इंले एकदमै पृष्ठभूमिका अनेक अध्यायतर्फ ध्यान जाने प्रवृत्तिको प्रश्न सोध्नुभो । निःसन्देह यो चाहिँ मन मिलाउने प्रश्न जटिल र कठिन विषय नै हो । तर कस्तो हुँदो रहेछ भन्दाखेरी मन फाट्दै गएको बेला आशङ्का अविश्वास गर्न नपर्ने विषयहरूमा पनि आशङ्का र अविश्वास सिर्जना हुन्छ, जतिबेला मन मिल्दै जान्छ त्यतिबेला चाहिँ अविश्वासका आधारहरू पनि कमजोर हुँदै जाँदा रहेछन् । खासगरी असोज १७ गतेपछि हामी जसरी राष्ट्रिय राजनीतिमा प्रस्तुत भयौँ । साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवार लिएर जनताका माझमा जाने हामीले जुन अभ्यास ग¥यौं, त्यसदेखि यता हाम्राबीचमा मन मिलाउनका लागि त्यति धेरै कठिनाइ उत्पन्न भएन ।

पार्इंसँग निकै महत्वपूर्ण मन्त्रालयसहित सरकारमा बसेर काम गरेको अनुभव पनि छ । अहिले देशमा यत्ति शक्तिशाली सरकार छ । मानिसहरूले यो देशमा कम्युनिस्ट सरकारले जनजीविकाको सवालमा  निकै महत्वपूर्ण निर्णय लिने अपेक्षा गरेका थिए । त्यो स्प्रिटमा काम नगरेको गुनासो छ । पार्टी च्यानलबाट आफ्ना सुझावहरू अथवा पार्टी र सरकारबीचको समन्वयको कस्तो प्रयोग गरिरहनुभएको छ ?    

सरकारले आम रूपमा, आधारभूत रूपमा ठीक निर्णय गर्दै ठीक काम गर्दै अगाडि बढेको छ । तर जहिले पनि जनताको अपेक्षा र यथार्थको बीचमा एउटा खाडल हुन्छ । त्यो ग्याप छ भन्नेकुरा हामीले बुझेका पनी छौं । तर परिस्थितिको सीमा र सरकार बनेको समयका हिसाबले हेर्ने हो भनेर सकारकारका काम कारवाही सन्तोषजनक छन् भन्ने ठान्दछु । जरुर जनताको अपेक्षालाई सम्बोधन गर्ने हिसाबले सरकारका काम कारवाहीलाई अझ प्रभावकारी बनाउने आवश्यकता त छँदैछ ।

कृषिमन्त्रीले भर्खरै रातोपाटीसँगको कुराकानीका क्रममा मन्त्रालय बीचको समन्वयको समस्या देखिएको कुरा गर्नुभएको थियो । क्याबिनेट मन्त्रीको त्यस्तो कुरा आउँदा आउटपुटमा समस्या होला नि ?

उहाँले के भन्नुभयो, हेर्न भ्याएको छैन । समन्वय अझ राम्रो हुनुपर्छ भन्ने अपेक्षा त स्वाभाविक हो ।   

अन्तिममा, सरकार सञ्चालनसम्बन्धी कुनै मेकानिजम बनाउने अथवा पार्टीले आवश्यकता अनुसार निर्णय गर्ने भन्ने हुन्छ ?  

अहिले के छ भने सरकारको नेतृत्व पार्टी अध्यक्षले गर्नुभएको छ । पार्टीका औपचारिक संरचनाहरू छन् । पार्टीको सचिवालय छ, स्थायी समिति र केन्द्रिय कमिटी छ । भनेपछि सरकारलाई दिनुपर्ने सुझावहरू अथवा पार्टीको तर्फबाट भन्नुपर्ने विषयहरू ती फोरमहरूमा बसेर भन्न सक्छौं । पार्टीको तर्फबाट गर्नुपर्ने निर्णयहरू हामी त्यहाँबाट गर्न सक्छौं । सरकारले पनि कुन ढङ्गले काम गर्दै छ, पार्टीका तर्फबाट कस्तो प्रकारको साथ सहयोग निर्देशको अपेक्षा गरेको छ भन्ने कुरा त्यही प्लेटफर्ममा बसेर भन्नसक्ने अवस्था छ । अहिले सरकार र पार्टीलाई हामीले निरपेक्ष ढङ्गले छुट्याएर हैन एक अर्कासँग घनिष्ट रूपमा आबद्ध भएको अवस्थामा पाउँछौँ । त्यस हिसाबले नै हामीहरू अगाडि बढिरहेका छौँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप