शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच वर्षको तलब ज्येष्ठ नागरिक र अपाङ्गलाईलाई दिने वडाध्यक्षको घोषणा

शुक्रबार, ३० असार २०७४, १६ : ५८
शुक्रबार, ३० असार २०७४

भीमदत्तनगर– कञ्चनपुरको भीमदत्तनगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफ्नो पाँच वर्षको कार्यकालमा सरकारबाट प्राप्त हुने तलब वडामै वितरण गर्ने घोषणा गरेका छन् ।  

भीमदत्तनगरपालिका–१ बाराकुण्डास्थित वडा समितिको कार्यालयमा शुक्रबार बसेको पहिलो बैठकमा वडाध्यक्ष कुँवरले पाँच वर्षसम्मको तलब वडाका ७५ वर्षभन्दा माथिका वृद्धवृद्धा र पूर्ण अपाङ्गलाई दामासाहीले वितरण गर्ने घोषणा गरे । 

घोषणासँगै उनले वडासचिव प्रेमबहादुर विष्टलाई ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको लगत संकलन गर्न निर्देशनसमेत दिए । आफूले मासिक पाउने रु २० हजार वितरण गर्नका लागि निर्देशिका बनाइने उनको भनाइ छ ।  

“म यहीँका नागरिकको सहयोगामा वडाध्यक्षको कुर्चीमा पुग्नुका साथै तलब लिने मान्छे भए,” वडाध्यक्ष कुँवरले पहिलो बैठकमा भने, – “मैले पाउने सरकारी सुविधा गाउँकै नागरिकको सम्मान र भलाइका लागि खर्च गर्नेछु ।” 

बैठकमा उपस्थित स्थानीयवासीले दुईवटा खोलाको बीचमा रहेको वडा नं १ मा झोलुङ्गे पुल, सडक, खानेपानी र बिजुलीको प्रबन्ध गर्नका लागि पहल गरिदिन वडाध्यक्ष कुँवरलाई आग्रह गरेका छन् । खन्नेखोला र रौटेला खोलाको बाढीका कारण बर्सेनि स्थानीय बासिन्दाले दुःख पाउने गरेका छन् । 

स्थानीय डिल्लीराज हमाल पहिलो दिनमै वडाध्यक्षले परोपकारी निर्णय गरेर पाकापुस्ताप्रति सम्मान व्यक्त गर्नु सुखद संकेत भएको बताउँछन् । 

स्थानीय ६० वर्षीय दलबहादुर विष्टले वडाध्यक्ष कुँवरले आफ्नो तलब गाउँलेलाई प्रदान गर्ने निर्णयको स्वागत गरे । “यस्तो निर्णय कहिल्यै भएको थिएन, यहाँका बस्ती जोगाउन तटबन्ध निर्माणको समेत उहाँको प्रतिवद्धता आउनेमा आशावादी छौँ,” विष्टले भने ।  

वडाध्यक्ष कुँवरले आफू वडाको समग्र समस्याप्रति जानकार रहेको र समाधानका लागि लागिपर्ने बताए । “यहाँको धार्मिक तथा पर्यटकीय सम्भावनाका बारेमा पनि मसँग योजना छन्, त्यसमा कटिबद्ध भएर लाग्छु,” उनले भने, “किसानमुखी कार्यक्रम वडामा सञ्चालन गर्ने योजना बनाएको छु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप