शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : म रुँदैछु प्यारी हजारौँ माइल दुरीमा

शनिबार, ३१ असार २०७४, ०७ : ४९
शनिबार, ३१ असार २०७४

- सुधिरमानसिहं खाती
        
रातो सेतो चम्किलो, आहा ! अनार गेडी
एक अनारभित्र, सयौँ राता गेडी 
रातो मुगा गलामा, कम्मरको निलो पटुकी
हरपल सम्झिरहन्छु प्यारी, परदेशी भूमिमा पनि ।
 
खोलाको पानीमा, जोडी माछा पौड्ने 
माझीको जालमा एक फस्ने, अर्को चाहिँ उम्कने
तिमी छौँ जहाँ, म रुँदैछु हजारौँ माइल दूरीमा
आशु झर्छ र झर्दैछ, माछा जोडीझैँ वियोगमा ।

सारङ्गीको तीन तार, रेइँ रेइँ गर्दै बजाउने
विदेशी भूमिमा रगत र पसिना बगाउने ।
रात दिन हतार हतार, हातले मेसिन समाउने
कोही छैनन् प्यारी यहाँ, मनका बह सुनाउने । 

दुई चार रात भयो, अनिद्राको बास छ
छिन छिनमा बिउँझाउने, यो कस्तो हाल भयो ।
आँखा खोल्दा नदेखिने, छोप्दा देखिने 
तिम्रो चित्रले, साच्चै मेरो बेहाल भयो ।

हिजो आजझैँ लाग्छ, घर आँगन छोडेको 
यसै वर्षको असोजमा त, आठौँ वर्ष कटेछ  
थाहा छैन प्यारी, हामी एक्ला एक्लै भई
अभैm कति वर्ष कुर्नु छ ।

स्वदेशमा चाडपर्व आउँदैछ अरे ! 
साथीभाइहरु बिदामा घर जाने गरे 
खै कसरी फर्कु म घरमा 
धने साहुको ऋण तिर्न, बाँकी नै छ कर्ममा ।

रातो सेतो चम्किलो, आहा ! अनार गेडी
एक अनारभित्र, सयौँ राता गेडी । 
रातो मुगा गलामा, कम्मरको निलो पटुकी
हरपल सम्झिरहन्छु प्यारी, परदेशी भूमिमा पनि ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप