शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : पर्खाल

शनिबार, ३१ असार २०७४, ०७ : ५१
शनिबार, ३१ असार २०७४

-शिखर भट्ट 

पर्खाल बनाइन्छन् 
कहिले ढल्छन् र कहिले उभिन्छन् 
ती पर्खालको भित्तामा 
नाराबाजी लेखिन्छन्
माक्स लेनिनका वाणीहरू कोरिन्छ्न् 
फूलको चित्र बनाइछन् 
त्यै पर्खालमा अढेस लगाएर 
मजदुर घन्टौँ सुस्ताउछन् ।

त्यै पर्खालका भित्ताहरूमा,
मैले ज्योमिट्रीका सवालहरू हल गरेँ 
त्यै पर्खालमा
केमेस्ट्रीका सूत्रहरू लेखी याद गरिरहे 
केही कोमल हातहरू कुची बोकेर आएँ
त्यो भित्तामा चन्द्र–सूर्य बनाएँ 
देश बनाएँ ।

यही पर्खालमा टाँसिए सूचनाहरू
पर्खालमै कोरिए बुद्धका सन्देशहरू !
मैले यही पर्खालको भित्तामा
हल गर्न खोजेँ आफ्नो जिन्दगीको वासलात !

एक असहाय बच्चा आयो
अनि कोर्यो पर्खालमै
आफ्नो आमाको अनुहार ! 

यस्तै पर्खाल 
एक मध्यरातमा खडा भएको थियो 
र सुनौलो बिहानीको सुरुवातमा 
देश दुई हिस्सामा सास लिइरहेको थियो ।
यस्तै पर्खाल 
खडा भयो फेरि सम्बन्धको बीचमा
मेरो आफ्नै भाइ छिमेकी बनिदियो
यस्तै पर्खालको छेलो पारेर
कसैले च्यातिदिए फूलमाया दिदीको कपडा 
र गाडिदिए स्तनमा दाँतहरू !

पर्खालहरू विचारका बीचमा उभिए 
सम्बन्धको बीचमा ठडिए 
दाजुभाइको अंश छुट्यायो यसले
विभेद गरिदियो, विभाजन गरिदियो ! 

कास 
यस्ता पर्खालहरू देशको सिमानामा उभिन्थे त
आज घरको भित्तामा 
मालासहित झुन्डिएको हँुदैन थियो होला
मेरो सिपाही दाइको तस्बिर !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप