कविता : जीवन मृत्यु
शनिबार, ३१ असार २०७४, ०८ : ०५
–इन्द्र थेगिम
मनको ढ्याङ्ग्रोले तर्साउँदा
रात चैगुना भएर बौलाउन थाल्छ
वीर मसानहरू हाँस्दै जाग्छन्
मृत्यु जुरुक्क उठेर हिँड्न थाल्छ ।
मन बिमारले लल्याक लुलुक हुँदा
एक्लै चिच्याउँछ कराउँछ करिडोरमा
मनुखेहरू घ्र्वार घ्र्वार घुर्छन् मन रुँदा,
खुशियालीमा झ्याम्टा पिट्छन् यमराज ।
मन वास्तविकतादेखि धेरै टाढा जाँदा
जीवन र जगतलाई लत्याई दिन्छ
चिहानसम्मको बाटो पहिल्याउँदै हिँड्दा
एक दिन आफैलाई समाधीमा पाउन सफल हुन्छ ।
जीवनको यो मोडमा आइपुग्दासम्म
मनको शरीरमा शिरा र धमनी सुक्दै जान्छन्
लपढप लपढप गर्ने मुटुको धड्कन
अब राजीखुशीले सदाको लागि बन्द हुन्छ ।