शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कथाः फस्ट किस

शनिबार, ३१ असार २०७४, ०८ : १४
शनिबार, ३१ असार २०७४

-दीपक घिमिरे 

दुनिया भरका केटाकेटीका लभ परे, कलेज पढ्दा सबैका आआफ्नै गर्लफ्रेन अनि ब्वाइफ्रेन भए । बिचरो म एक्लै । 

रुम पाटनर बिनितले कीर्तिपुरकै ज्यापुनीलाई प्रेमजालमा फसायो । उनीहरूको रुममा डेटिङ चल्दा म कीर्तिपुर मैदानतिर बरालिनुपर्ने बाध्यता ।

 हप्तामा दुई तीन पटक मलाई रुमबाट नक–आउट गरेर उनीहरू मस्ती गर्थे । म सहन्थे, किनभने विनित मेरो बच्चैदेखिको साथी हो, साथीका लागि ज्यान दिन सक्ने मित्रता हामीबीच थियो ।

कल्कलाउँदो सोर वर्षे जवानीमा हामी थियौँ, कलेज पढ्ने बहानामा काठमाडौँ छिरेका हामी कलेजभन्दा धेरै मोजमस्ती मै दिन बिताउँथ्यौँ । कसले रोकोस हाम्लाई ? न बाको डर, न आमाको अनि न त आफन्तको नै । फ्री, एकदम फ्री ।

एक दिन राति रुममा विनितले त्यो ज्यापुनीलाई लिएर आयो । पर्यो फसाद ! 

मलाई सूर्यको कोठामा गएर सुत्न आग्रह गर्यो । साथीका लागि ज्यान दिने मैले किन नाइँ भन्थेँ । राति नौ बजे म सूर्यको कोठामा गएँ, विनित र ज्यापुनी हाम्रो रुममा सुते । रातभर के–के भयो । त्यो कसरी लेख्न सक्छु र अब । भो बयान गरेर बिजेत नगरम ।

अर्को दिन कलेज थियो । बिहानै रुममा आएँ । बिनित सुतिरहेको थियो । ज्यापुनी टाप कसिसकेकी थिई । एकछिन जिस्क्याएँ, अनि निस्किएँ कलेज । 

कलेज पनि उदेक लाग्दो थियो । सबैका जोडी थिए । जोडी ढुकुर जस्ता मीठा जोडी । म अभागी एक्लो, एकलकाँटे जस्तो । 

अनुहार ठीक थियो, हेन्समै थिएँ । गोजामा दुई चार रूप्पेँको कमी हुन्थेन, तर केटीको प्रेम–प्रस्ताव कहिले आएन । 

मनमा धेरै केटी सजाउँथँे तर न मैले प्रपोज ठोक्थे, न उसले आई लभ यु भनेर नजिक आउँथी । बस ! ‘आँखो आँखो से प्यार करो, और सपने मे खो जाओ’ वाला इस्क लडाउने काम हुन्थ्यो । 
हाम्रो बार कक्षाको पढाइ सुरु हुँदै गर्दा एघारमा एउटी मैयाँ आइन, मेरो दिलमा पहिलो दिन नै बास बसिन् ।

 कलेज जान मन नलाग्ने भइसकेको थिएँ, तर एघारमा ऊ पढ्न आएपछि कति बेला कलेज जाऊँ हुन्थ्यो मलाई । उसलाई हेरिरहन्थे, पढाइको बाल मतलब थिएन मलाई । उसलाई आफ्नो गर्लफ्रेन बनाउने सपना आँखा भरी आउन थालिसकेका थिए, म उसलाई पट्याउने खेलमा लागे । 

उ कीर्तिपुर यातायातको गाडी चढेर आउँथी । अनुहार हेर्दा क्षेत्रीनी जस्ती देखिने उसको नाम पत्ता लगाउनै एक महिना लाग्यो । बिनितले उहीँ ज्यापुनीलाई लगाएर उसको नाम अनि घर पत्ता लगाइदियो ।

 नाम थियो अन्जना बस्नेत अनि घर नवलपरासी । 

 अब सुरु भए प्रेम प्रस्ताव राख्ने दिनहरू । ऊ हल्का नखरावाली रैछे, पछि थाहा पाएँ । दर्जन पटक उसलाई आई लभ यु को प्रस्ताव गरेपछि उसले एक दिन फोनमा भनी “रिप्लाई भेटेर दिन्छु ।”

भेट्न निक्कै लजाउने म, ऊ फोनमा नखुल्ने । हाम्रो प्रेम पनि खास्सै फैलेला जस्तो लागेन । 

ऊ आफूलाई निक्कै पढन्दास देखाउँथी । फोन गर्दा कहिले नोट सार्दै छु त, कहिले इक्जाम आउँदैछ भनेर गफिन नमान्ने  । 

तर एक दिन बिनितको गर्लफ्रेन ज्यापुनी मार्फत उसले कीर्तिपुर गुम्बा घुम्न जाने प्रपोज गरी मलाई । म खुशी त भए तर त्योभन्दा बढी दुःखी भए किनभने म लजाउँथे धेरै, डेटिङ गएर के गर्ने ? 
 
न अहिलेसम्म प्रेम प्रस्ताव एसेप्ट भएको छ, न त उसको मनमा बसेको छु या छैन पत्ता लागेको छ । एक्कासि डेटिङको प्रस्ताव आएपछि मर्दको सान पनि बचाउनै पर्यो ।

 शनिबारको दिन हाम्रो गुम्बा घुम्ने डेटिङ फिक्स भयो ।

शनिबार बिहानै हजाम कहाँ गएर कपाल काटेँ, रुममा आएर रेखी बसेका दारी काँटे । कहिले कुन त कहिले कुन कपडा लगाउँदै आफैले आफैलाई नियालिरहँे ।

 उता बिनितले खाना तयार गर्यो तर मलाई भोक थिएन । कतिबेला बार बज्छ अनि गुम्बा पुगेर अन्जनाको हात समातेर आई लभ यु भन्ने हो भनेर समय कुरिरहेँ । 

हेर्दै हिरो जस्तो भएर बाह्र बजेपछि कोठाबाट निस्की हिँडेरै गुम्बा पुगेँ । गुम्बाको पछिल्लो साइडमा एउटी परी आएर बसेकी थिई, मभन्दा अघि ।

 सेतो लुज वाला भेस्ट, कालो टाइट वाला पाइन्ट अनि सेतो कन्भर्स सुजमा सजिएकी अन्जना मोबाइलमा गेम खेलेर बसिरहेकी थिई । म उसको नजिक गएर उभिएँ, बोल्न सकिनँ, मात्र हेरिरहेँ ।

 ऊ एक्साइटेड हुँदै भनी “कति ढिला गरेको यार ! बस यता ।”

 उसले हात तानेर नजिकै बसाली ! मैले उसलाई हेर्न सकिरहेको थिइनँ । ऊ त्यसै परी जस्तै लाग्थ्यो झन् आज उसले गरेको फेसनले स्वर्गकी परी पनि फ्लप थिई ।

 उसले मेरो हात कोट्याउँदै सोधी “फस्ट डेटमा मेरा लागि के ल्याएका छाँै नि ?”

म ट्वाँ परेँ, कहिले कसैसँग डेट गएको भएपो थाहा होस्, के लग्नुपर्छ भनेर ।

 म रित्तो हात डेट गएको थिएँ, ऊ चैँ के ल्याएका छौ भनेर सोध्दै थिई ।

 लजाउँदै भने “जीवनकै फस्ट डेट हो, त्यसैले के ल्याउनुपर्छ थाहा भएन त्यसैले खालिहात छु ।” 

ऊ मुख छोपेर हाँसी । हास्दा ऊ झन् राम्री देखिन्थी । म झन् धेरै लोभिएँ ऊप्रति । 

“पागल मान्छे ! तिम्रो लभ गुरु बिनितले भनेन ? फस्ट डेटमा के लग्ने भनेर ?” उसले मेरो आँखामा आँखा जुधाउँदै प्रश्न गरी । 

उसका आँखा एकदमै नसालु थिए । मलाई मात लगाउने खालका । म बोल्न सकिनँ, अनि मुण्टो मात्र हल्लाउँदै भन्दिएँ– “नाई, मैले सोधेन उसलाई  ।” 

ऊ धेरै फ्रेङ्क थिई, मज्जाले हाँसेरै कुरा गर्दिने ।

 म निक्कै लजालु थिएँ, उसको आखामा आँखा जुधाउन नसक्ने । 

अघि एक पटक उसको आखामा आँखा जुधाउँदा उसको अनुहार राम्रोसँग हेरेको थिए । उसले लगाएको पिङ्क कलरको लिपिस्टिकले उसलाई हदभन्दा सुन्दर बनाएको थियो । ओठमा लगाएको लिपिस्टिकले उसको सुन्दरतामा झन् धेरै महत्व बोकेको थियो । 

“केही बोलन यार ! चुप बस्न डेट आएका हौ ?” उसले मौनता तोड्दै गफ गर्न आग्रह गरी ।

मलाई केही बोल्नै आइरहेको थिएन । फेरि एकपटक भन्दिएँ– “आई लभ यु !”
 
उसले मेरो हात तानेर हत्केलामा हत्केला मिसाउँदै भनी “रियल्ली ?”
 
मैले मुन्टो मात्र हल्लाइदिएँ । 

साच्चै आज लभ परेको फिल भइरहेको थियो मलाई । हाम्रो यो डेट अरू धेरै डेट पछाडिका डेट जस्तै लाग्दै थियो । 

अरू धेरै जोडी यही गुम्बामा घुम्दै थिए । उसले आई लभ यु टु नभने पनि हामी प्रेमिल जोडी हौँ जस्तै लाग्दै थियो  मलाई ।

“तिमी मलाई भुल्न सक्छौ ?” उसले रोमान्टिक मौसमलाई स्याडनेसतिर धकेल्दै बेमौसमी प्रश्न गरी । 

“नेभर !” छोटो अनि मीठो उत्तर दिएँ ।

उसले मेरो हात मुखैमा लगी अनि हत्केलामा चुप्प चुप्प दुई पटक म्वाइँ खाई । 

शरीरमा काँडा उम्रिए, म झसङ्ग भए । खुशीले पागल भएँ । 

थाहा भयो उसले मलाई माया गर्दि रैछे ।

 मैले पनि उसको हात तानेर म्वाई खाइदिएँ, उसले जस्तै गरेर अनि उसको आँखामा आँखा जुधाउँदै फेरि भने “रियल्ली अन्जना ! आई लभ यु यार ।”
 
यतिबेला पुरै फिल्मी सिन हुँदै थियो । प्रपोज एसेप्टेड भनेर दिमागले खुसीको सिग्नल मुहारसम्म ल्याइदियो । 

ऊ पनि मलाई पाउँदा खुशी नै थिई । मैले झन् खुशीको सीमा नाघिसकेको थिएँ । 

“फस्ट डेट्मा के ल्याउँछन् थाहा छैन लाटा ?” उसले आफ्नो टाउको मेरो छातीमा टसाउँदै प्रश्न गरी । 

“नाई ! कसम थाहा थिएन ।” मैले आफ्नो अवस्था सुनाएँ । 

उसले गुम्बाभन्दा अलि पर भएको पसल देखाउँदै भनी “क्याटवरी डेरिमिल्क लिएर आऊ ! म मिठाई खाने हो अनि हाम्रो माया पनि मिठाई जस्तै मीठो बनाउने हो । ”
 
म बतास जस्तै द्रुत गतिमा पसल गएँ, दुईवटा डेरिमिल्क किनँे अनि बतास जस्तै बेगमा आएँ ।  

उसको हातमा डेरिमिल्क दिएँ । ऊ जुरुक्क उठी अनि मेरो दुवै गालामा हात राखेर ओठमा किस गरी । 

ओ माई गड ! म नर्भस भएँ ।

 यता उता हेरेँ, कोही कसैले देखेकी भनेर ।

 भाग्य भनौँ या के भनौँ ! यतिबेला कोही थिएन ।

 मैले ओठ पुछेँ, पुरै पिङ्क कलरको लिपिस्टिक मेरो ओठैभरी थियो । 

उसले फेरि अँगालोमा बेरेर छातीमा मुन्टो टँसाइ अनि छातीमा चुप्प म्वाई खाइदिई । 

सारा लिपिस्टिक मेरो भेस्टमा टाँसियो । हातले पुछेर पनि नजाने । 

एकछिन हास्यौँ । उसले आई लभ यु दीपक भनेर प्रपोज गरी, मैले सयाँै पटक भनिसकेको थिएँ यो शब्द । 

फर्कने समय भइसकेको थियो, मेरो ओठमा उसको लिपिस्टिकको रङ अझै थियो । भेस्टमा नहुने कुरै भएन ।  मैले ओठ र भस्ष्टको लिपिस्टिक पुच्छदै थिएँ । उसले प्रश्न गरी “कस्तो लाग्यो फस्ट किस ?”
 
मसँग उत्तर नै थिएन । खिस्स हाँसिदिएँ अनि अँगालोमा बाँधिएर गुम्बाभन्दा अलि तलसम्म झर्यौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप