केन्द्रीय संस्करण

शिक्षासेवी उत्तम सञ्जेलको जीवन : मैले गरेको कामबाट राज्यले सिकोस्

person access_timeअसार २५, २०७५ chat_bubble_outline0

‘हामी संसारकै अभागी हौं,’ शिक्षासेवी उत्तम सञ्जेलले दाबी गरे, ‘जसले भएर दुःख पाइरहेका छन् । यति सुन्दर देश असल नेतृत्व नहुँदा नेपालीले दुःख पाएका हुन् ।’ 

हामी गरिब हुँदै होइनौं । तर, अभागी हौं । ‘सबै नेपालीले काम गर्दैनन्,’ शिक्षासेवी सञ्जेलले थपे, ‘सबैले काम गर्ने वातावरण सिर्जना नेतृत्वले गर्नुपर्छ । म त्यसको आधार निर्माण गर्दै छु ।’ त्यसैको प्रतिफल हो– ७५ जिल्ला समता स्कुल । समता सार्कराष्ट्रसम्म विस्तार भएको छ । समता अस्पताल सञ्चालनमा आएको छ । मैले गरेको कामबाट राज्यले सिक्नुपर्छ । आफू बाँचुन्जेल ७५ प्रतिशत नेपालीले सुख पाएको देख्ने रहर गर्ने शिक्षासेवी उत्तम सञ्जेलसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी : 

मेरो खाना
म शाकाहारी हुँ । भोक लागेको बेला पाएको शाकाहारी तर सादा खाना जे पनि खान्छु । सादा भन्नाले न धेरै चिल्लो, न धेरै पिरो, न धेरै गुलियो, न धेरै नुनिलो । त्यो पनि पीठोले बनेका खानेकुरा मन पर्छ । मलाई मासुको परिकार मन पर्दैन । योजनाबद्ध ढंगले खानकै लागि रेष्टुरेन्ट जान्न । कामविशेषले पुग्दा सलाद मगाउन बिर्सन्न । पाककलाबारे पटक्कै ज्ञान छैन । 

मेरो पोसाक
म आफ्नै (समता स्कुल) विद्यालयको पोसाक लगाउँछु । त्यसबाहेक ‘क्याजुयल’ पोसाक लगाउने गर्छु । पहेँलो, रातो र नीलो रङका पोसाक रोजाइमा पर्छन् । प्रायः ‘रेडिमेड’ पोसाक लगाउने गर्छु । कपडा किनेर अहिलेसम्म सिलाएको छैन । विद्यालयका पोसाक समूहमै सिलाइन्छ । त्यही लगाउने गरेको छु । कपडाको ‘ब्रान्ड’ बारे जानकार छैन । 

मेरो फिटनेस
बिहान एक घन्टा ‘मर्निङवाक’ गर्छु । आधा घन्टा शारीरिक व्यायाम गर्छु । सादा खाना खाने भएकाले ‘डाइटिङ’ गर्नुपरेको छैन । 

मेरो अध्ययन
म संसारको त्यस्तो भाग्यमानी मानिस हुँ, जसले किताब पढ्दैन । तर, चार वेद पढ्न मन लागेको छ । कुरान र बाइबलसमेत पढ्ने योजना बनाएको छु । लियो टल्सटय, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा र माधवप्रसाद घिमिरेको लेखन दमदार लाग्छ । मेरो संकलनमा पाँच हजार किताब छन् । किन्नु र उपहारस्वरूप पाएको किताब उस्तै–उस्तै हुन्छ । किताब किनेर ‘डोनेसन’ पनि गर्दै आएको छु । 

मेरो घुमफिर
समता स्कुल ७५ जिल्लामा विस्तार भएको छ । ७५ जिल्ला पुगेकै छु । त्यतिमात्रै होइन, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्समा समेत समता स्कुल स्थापना भएको छ । 
म त्यस्तो भाग्यमानी नेपाली हुँ, मैले देश देखेको छु । घुमेकामध्ये सुदूरपश्चिम असाध्यै मन पर्यो । सुदूरपश्चिम संसारको स्वर्ग हो । विदेशमा लन्डनको ‘कन्ट्री साइड’ असाध्यै मन पर्यो । 

मेरो फुर्सद
फुर्सद निकाल्ने हो । अवस्था हेरेर फुर्सद निकाल्छु । म पाँच घन्टामात्रै सुत्छु । १९ घन्टा काममै व्यस्त हुन्छु । यति धेरै काममा व्यस्त भएपछि शारीरिक र मानसिक रूपमा थकाइ लाग्ने नै भयो । जति नै थकाइ लागे पनि मोबाइल ‘स्वीचअफ’ गरेर आराम गर्ने बानी छैन । फुर्सद पाइहाले गीत लेख्छु । घरपरिवारलाई समय दिने कुरै भएन, घरपरिवारले मलाई छाडिदिए । 

मेरो खेलकुद
फुटबल र क्रिकेट असाध्यै मन पर्छ । मैले आजसम्म नखेले पनि हेरेर मनोरञ्जन लिने गरेको छु । बक्सिङ, करातेचाहिँ मन पर्दैन । फुटबल टिममा अर्जेन्टिना र क्रिकेट खेलाडी पारस खड्का र सन्दीप लामिछाने मन पर्छ ।

मेरो मोबाइल
सामसुङ सिक्स मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको ४२ हजार रुपैयाँ परेको थियो । मोबाइलका एप्लिकेसन प्रायः सदुपयोग गरेको छु । 

मेरो टेलिभिजन
टेलिभिजनमा समाचार, ‘टक शो’ र ‘नेसनल जोग्राफी’ प्राथमिकतासाथ हेर्छु । खाना खाँदा, होटल, लजमा बास परेको बेला टीभी हेर्ने गरेको छु । हाम्रो घरमा टीभी नभएको दुई वर्ष भयो । 

मेरो चलचित्र
मैले चलचित्र नहेरेको १० वर्ष भयो । त्यतिबेला हलसम्म पुगेरै चलचित्र हेरे पनि नाम सम्झना भएन । चलचित्र हेर्ने मन छ तर फुर्सद छैन । हेरेकामध्ये ‘थ्री इडियट’, ‘पीके’ र ‘बलिदान’ असाध्यै मन पर्यो । मह जोडी, दीपकराज गिरी, धुर्मस–सुन्तलीको अभिनय जीवन्त लाग्छ ।

मेरो स्वास्थ्य
सादा खाना खाने भएकाले अहिलेसम्म स्वस्थ छु । अहिलेसम्म एकपटक ‘होलबडी चेकअप’ गराएँ । म सकारात्मक सोच्छु । जसले सकारात्मक सोच्छ, ऊ स्वस्थ रहन्छ । 

मेरो भाषणशैली
शिक्षासेवी भएकाले कहिलेकाहीं भाषण गर्नुपर्छ । भाषणभन्दा ‘स्पीच’ भन्न मन पराउँछु । आफ्नो ‘स्पीच’ मूल्यांकन गर्दा ठिकै लाग्छ । विवादास्पद कुरा नगर्ने भएकाले भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि तयारी गर्ने बानी छैन । 

मेरो मापसे

अहिलेसम्म मादक पदार्थ लिएको छैन । 

मेरो संगीत
म गीतकार भएकाले गीत–संगीत नसुनिरहन सक्दिनँ । मैले लेखेको गीत रामकृष्ण ढकाल, सत्य–स्वरूप, उदय सोताङ, अञ्जु पन्त, मह जोडी, निमा रुम्बाले गाउनुभएको छ । नयाँ पुस्ताका गायिका मेलिना राईको आवाज त्यत्तिकै श्रवणीय लाग्छ । गायकमा अजय अधिकारी ‘सुशील’ राम्रो लाग्छ । गीतकार भएकाले गुनगुनाउँछु । 

मेरो भूल
मानिसले जान–अञ्जानमा गल्ती गर्नु अनौठो होइन । मबाट सानातिना गल्ती भइरहन्छन् । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । गल्ती नगरे पनि सधैं सजाय पाइरहेको हुन्छु । कसैले नगरेको काम गरेकाले त्यसलाई प्रमाणित गर्न लागिपरेको छु । त्यसबीचमा मानिसले ‘टर्चर’ गर्ने नै भए । 

मेरो घर
म बस्दै आएको घर संवत् २०४० मा बुवाले बनाउनुभएको हो । त्यतिबेला २० लाख रुपैयाँमा घर बनाइएको थियो । 

मेरो राशी
मेरो राशी मीन हो । कर्म राम्रो भएपछि ग्रहदशा लाइनमा आउँदोरहेछ । आफ्नो र विद्यालयको जन्मदिनमा वार्षिक पूजा गर्दै आएको छु । 

मेरो सौन्दर्य
कपाल ‘हाइलाइट’ गरेको छु । अनुहारमा क्रिम, पफ्र्युम प्रयोग गर्दिनँ । 

मेरो प्रेम
म अविवाहित हुँ ।

मेरो सपना
हामी संसारको अभागी हौं । जसले भएर दुःख पाइरहेका छन् । हामी त्यत्तिकै भाग्यमानी हौं, जहाँ ६ ऋतु छन् । दुई–दुई महिनाको ऋतु नेपालमै छन् । यस्तो ऋतु भएको देशको तराईबाट फोटो खिच्दन पहाड र हिमालसम्मको दृश्य कैद गर्न सकिन्छ । यति सुन्दर देश असल नेतृत्व नहुँदा नेपालीले दुःख पाएका छन् । हामी गरिब हुँदै होइनौं । तर, अभागी हौं । सबै नेपालीले काम गर्दैनन् । सबैले काम गर्ने वातावरण सिर्जना नेतृत्वले गर्नुपर्छ । म त्यसको आधार निर्माण गर्दै छु । त्यसैका लागि २० वर्षदेखि यो काम गर्दै आएको छु । त्यसैको प्रतिफल हो– ७५ जिल्लामा समता स्कुल । सार्क राष्ट्रमा समता स्कुल स्थापना भएका छन् । समता अस्पताल छ । मैले गरेको कामबाट राज्यले सिक्नुपर्छ । म बाँचुन्जेल ७५ प्रतिशत नेपालीले सुख पाएको देख्ने रहर छ । 

मेरो मृत्यु
मानिस जन्मेपछि मर्नुपर्छ । यो सामान्य र स्वाभाविक प्रक्रिया हो । मृत्युदेखि डर लाग्दैन । मृत्यु असाध्यै सहज होस् । 


 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ