शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोलार प्लान्टमा चिनियाँ ‘क्रान्ति’, नेपालले के सिक्ने ?

मङ्गलबार, २६ असार २०७५, ०८ : १९
मङ्गलबार, २६ असार २०७५

काठमाडौँ । विशाल तिब्बती पठारको एक छेउको २७० वर्गमिटर क्षेत्रफलमा फिँजाइएको छ – १ सय २५ हजार सोलार प्यानल । त्यही सोलार प्यानलमार्फत चीनले २० मेगावाट बिजुली उत्पादन गरेको छ । 
चीनको सिचुवान प्रान्तको होङ्गयुआन काउन्टीको कोङ्क्षीमा रहेको सोलारप्लान्ट चीनकै सर्वाधिक उचाईमा रहेको परियोजना हो ।  समुन्द्र सतहबाट ३,७०० मिटरको उचाईमा रहेको  उक्त सोलार प्लान्टमा  चिनियाँ र अमेरिकी गरी दुई प्रविधि अपनाइएको कोङ्क्षी फोटोभोल्टिक पावर स्टेसनका प्रमुख लो आओ युइउले जानकारी दिए ।

यो त एक उदाहरणमात्रै हो, चीनको सिचुवान प्राप्तमा सोलार प्लान्टमा एक खालको क्रान्ति नै भएको छ । सिचुवानमा प्रान्तमा मात्रै चीनले सौर्य उर्जाबाट २ हजार मेगावाटको हाराहारीमा बिजुली निकालेको छ ।  

साताअघि चीन भ्रमणका क्रममा सो सोलारप्लान्टको अवलोकनका लागि पुगेको एक नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँग प्लान्टका प्रमुख लो आओ युइउले सिचुवान प्राप्तमा पर्याप्त जलस्रोत भएपनि वैकल्पिक उर्जाको रुपमा सोलार प्लान्टको उपयोग गरिएको बताए ।

चीन सरकारले प्राकृतिक स्रोत बचाउनको लागि सोलारप्लान्टमा जोड दिँदै आएको छ । जलस्रोतलाई बचाएर सोलारप्लान्टमा लगानी गर्ने नीति अनुसार नै  प्रान्त सरकारले सिचुवानभरी  २ हजार मेगावाटको हाराहारीमा  बिजुली उत्पादन गरिसकेको छ ।

स्टेसनका प्रमुख लो आओका अनुसार परियोजना निर्माण सन् २०१४ मा  सुरु गरि त्यसको एक वर्षभित्र सम्पन्न गरिएको थियो । २५० मिलियन आरएमबीमा निर्माण सम्पन्न गरिएको परियोजना जलविद्युत परियोजना निर्माण गर्न सकिने खर्चमै निर्माण गर्न सकिने भएपनि यसको आयु भने जलविद्युत परियोजनाको तुलनामा केही कम हुने उनको भनाई छ ।    

२७० वर्ग किलोमिटर क्षेत्रफलमा राखिएको १ सय २५ हजार सोलार प्यानल राखिएकोमा १ प्यानल बराबर २.६ किलोवाट बिजुली उत्पादन गर्न सकिने स्टेसनका प्रमुख लो आओले जानकारी दिए ।

परियोजनाका पोजेक्ट म्यानेजर  सीचाङले सूर्यको प्रकाशअनुसार सोलार प्यानल स्वचालित रुपमा घुम्ने जानकारी दिँदै  त्यसमा पनि  चिनियाँ  प्रविधि र अमेरिकी प्रविधिको फ्यूजनले उत्पाननमा सहजता प्रदान गरिरहेको बताए । उनका अनुसार  मौसमअनुसार कुनै समय चिनियाँ प्रविधिले काम नगर्दा अमेरिकन प्रविधि र अमेरिकन प्रविधिले काम नगर्दा चिनियाँ प्रविधिले काम गरी विद्युत उत्पादनमा सहजता प्रदान गर्छ ।

होङ्गयुआनमा सोलर प्लान्टबाट विद्युत उत्पादन गरेको  कम्पनीले नेपालमा समेत लगानी गर्न इच्छा देखाएको छ ।  ‘हामीले यहाँ सोलार सिस्टमबाट २० मेगावाट विजुली उत्पादन गरेका छौं । यो जलस्रोतको विकल्प त हुँदै हो, जलस्रोतमा जत्तिकै लगानीमा सहज ढंगले उत्पादन गर्न सकिन्छ,  स्टेसनका प्रमुख लो आओले भने, ‘हामी लगानीको दायरा बढाउन चाहन्छौँ । नेपाल सरकारले चाहेको खण्डमा पनि सोलार प्लान्टमा लगानी गर्न इच्छुक छौं ।’

पर्याप्त जलस्रोत हुँदाहुँदै पनि जलविद्युत परियोजनाको निर्माण पर्याप्त नहुँदा देशमा चर्को रुपमा विद्युत माग छ । यस्तो अवस्थामा सोलार प्लान्ट छोटो समयमै  निर्माण गर्न सकिने भएकाले पनि आफ्नो सीप र दक्षता नेपालमा प्रयोग गर्न चाहेको लो आओको भनाई छ ।

नेपालमा सौर्यऊर्जाबाट यदाकता बिजुली निकालिएपनि व्यवसायिक प्रयोजनका साथ ठूलो मात्रामा बिजुली निकालिएको छैन । भलै  नेपाल विद्युत प्राधिकरणले निर्माण नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ ।

नुवाकोटको देवीघाट जलविद्युत केन्द्र परिसरमा स्थापना हुन लागेको नेपालकै सबैभन्दा ठूलो भनिएको सोलार प्लान्टको शिलान्यास केहि पहिले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले गरेका थिए भने यसले एक वर्षभित्रै पूर्णता पाउने लक्ष्य लिइएको छ  । सो परियोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलीयतपूर्ण ऋणमा निर्माण हुनलागेको हो ।

यस्तै परियोजनामा चीनले समेत लगानी गर्न चाहेको हो ।

छोटा समयमा निर्माण गर्न सकिने यस्ता प्लान्टमा लगानी गर्न सकिर्न   राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने अपेक्षा  लिइएको छ ।  

के छ नेपालको अवस्था ?

विद्युत् विकास विभागकाअनुसार हालसम्म कूल ४० वटा सौर्य परियोजनाले सर्वेक्षणको अनुमति लिएका छन् । त्यसको क्षमता २२२. ७४ मेगावाट रहेको छ । सर्वेक्षणको अनुमति लिएका कुनै पनि आयोजना निर्माणमा गएका छैनन् । अनुमति लिएका मध्ये केही मात्रै आयोजनाको क्षमता १० मेगावाटको आसपासमा रहेको छ । अधिकांश आयोजना एक देखि तीन मेगावाटसम्मका रहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाबाट सौर्य परियोजना निर्माणका लागि दुई वर्षपहिले टेण्डर गरेपनि नीजि व्यवसायीले हालसम्म काम गरेका छैनन् । उनीहरु विद्युत् खरिद सम्झौताका लागि समेत तयार देखिएका छैनन् । अधिकांश आयोजना तराई मधेशमा रहेका कारण हिउँदको समयमा विद्युत् उत्पादन गर्ने क्षमता राख्दैनन् ।

सर्वेक्षणको काम सम्पन्न गरेर एउटा मात्रै परियोजनाले निर्माणको अनुमति लिएको छ , नवलपरासीको रामनगरमा स्टेशन रहने गरी विष्णुप्रिय सौर्य फार्म परियोजनाले एक मेगावाट क्षमताको सौर्य परियोजना निर्माण सुरु गर्न लागेको छ । त्यसबाहेक अरु कुनै पनि परियोजनाले निर्माण सुरु गरेका छैनन् ।

हालसम्म एक मेगावाट क्षमता भन्दा कम अर्थात् ०.६८० मेगावाट क्षमताको एक सौर्य परियोजना मात्रै सञ्चालनमा रहेको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले बाग्मतीमा एक परियोजना सञ्चालनमा रहेको छ । चीनले सौर्यउर्जामा जोड दिइरहेको बेला नेपालका लागि पनि यो केही पाठ बन्न सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप