शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथाको पानी विदेश पुर्राउने खानेपानी मन्त्रीको योजना, तर ८१ प्रतिशतलाई छैन सुरक्षित खानेपानीको सुविधा

मङ्गलबार, २६ असार २०७५, १२ : ४७
मङ्गलबार, २६ असार २०७५

काठमाडौँ–खानेपानी मन्त्री वीना मगरले हिमालको पानी विदेश निर्यात गरेर ठूलो रकम आम्दानी गर्न सकिने भाषण पटक–पटक गरेकी छन् ।

तर, यहीका ८० प्रतिशतभन्दा बढी जनतालाई सुरक्षित खानेपानी नपुगेको विषयमा भने उनको योजना छ । 

यता खानेपानी तथा सरसफाइ, ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दासका अनुसार ८१ प्रतिशत नागरिकमा सुरक्षित पिउने पानीको व्यवस्था हुन सकेको छैन । 

सुरक्षित खानेपानीको व्यवस्था अहिलेसम्म १९ प्रतिशत मात्रै भएको पनि  उपमहानिर्देशक दासले बताए । 

गत बै शाख ८ मा काभ्रेको बनेपा नगरपालिका-१३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताएकी थिइन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीका ४ महिनाका ५ विवाद !

उनले नेपालका हिमालको खानेपानी विदेशमा बेचेर औद्योगिक तथा आर्थिक विकास गर्ने बताएकी थिइन् । 

त्यसबाहेक मन्त्री मगरले गत बैशाख २९ गते  नेपाली हिमालको पानी अन्तर्राष्ट्रिय बजारमा पु¥याउने र पानी उद्योगमा युवालाई संलग्न गराउने योजना समेत बनिरहेको बताएकी थिइन् । 

मन्त्री मगरले ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा आयोजित लुभु खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत तल्लो दोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भनेकी थिइन्, ‘हिमालबाट बगेर उत्पादन भएको पानीको माग अन्तर्राष्ट्रिय बजारमा धेरै छ,’ उनले भनेकी थिइन् , ‘पानी उद्योगबाट रोजगारी सिर्जना गरेर आयआर्जन गर्न सकिन्छ।’

खानेपानी मन्त्रालयभित्र आकासे पानी : यसरी राखिन्छ ढोकामा बाल्टी (भिडियो)

उनका अनुसार अहिलेसम्ममा देशभर ८७.७ प्रतिशत नागरिकमाझ खाने पानीको सुविधा पुगेको बताए । तर यो आधारभूत खानेपानीको सुविधा मात्रै हो । 

सुरक्षित खानेपानी छैन, के आउँछ समस्या ? 

के तपार्इंले जार र बोतलका पिउने पानी निर्धक्क प्रयोग गरिरहनुभएको छ ? 

यदि छ भने सोच्नुपर्ने भएको छ । 

उपभोक्ताले निर्धक्कसँग उपभोग गरिरहेको जार र बोतलको पानी दूषित रहेको विभिन्न रिर्पाेटले देखाएका छन् । 

केही समयअघि विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको अध्ययन परीक्षणले यो तथ्य सार्वजनिक गरेको थियो । 

यस्तै नास्टले गरेको अध्ययन परीक्षणले पनि पिउने जार र बोतलको पानीमा दिसामा पाइने जीवाणु इ. कोलाई देखाएको छ ।

पिउने पानी स्वच्छ नहुँदा धेरै नागरिकहरू बिरामी पर्ने गरेका छन् । 

मेलम्ची खानेपानी लफडा : आगामी दशैंमा पनि मेलम्चीको पाइपबाट हावामात्र आउने

विशेषतः गर्मी र बर्खाको समयमा यस्ता समस्या बढी हुने चिकित्सकहरू बताउँछन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका केमिकल रिसर्च कोअर्डिनेटर डाक्टर शेरबहादुर पुनका अनुसार प्रदूषित पानीका कारण झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइड, हैजा जस्ता विभिन्न सरुवारोग देखिने गरेका छन् । 

यसको मुख्य कारण पानीलाई नै मानिएको डाक्टर पुनले बताए । 

डाक्टर पुनका अनुसार काठमाडौँमा बिक्री वितरण गरिँदै आएको जारको पानी बढी प्रदूषित पाइएको छ ।

खानेपानीको दु :ख - एउटा कुवाको भरमा दुईसय परिवार

पानीकै कारण लाग्ने रोगका बिरामी गतवर्षभन्दा यो वर्ष बढेको उनको भनाइ छ । उनी भन्छन्, ‘हामी बाध्यताबस किनेको पानी खान्छौँ, किनेको पानी भनेपछि हाम्रो दिमागमा सफा हुन्छ भन्ने सोच छ । तर कुनै पानी व्यवासायिक या सम्बन्धित निकायको हेलचेक्र्याइँले दूषित हुने गरेको पाइएको छ  ।’

२०७२ सालमा धेरै जना बिरामी भएपछि के कारणले यस्तो भएको भन्ने विषयमा आफूले अनुसन्धान गर्दा जारको पानी नै मुख्य दोषी पाएको उनले बताए । 

उनका अनुसार जारको पानीबाट ५० प्रतिशतमा झाडापखाला, जन्डिस हुने ठूलो सम्भावना हुन्छ । 


‘पहिला पहिला झिँगा भन्केको खाना नखाऊ भनिन्थ्यो । त्यसपछि हात धुने तरिका सिकाइयो’, उनले भने, ‘अहिले पानीबाट नै समस्या देखिरहँदा सम्बन्धित निकायले यो बारेमा पनि जानकारी गराउन जरुरी छ ।’
पानी उमालेर मात्रै खाने हो भने झाडापखाला नियन्त्रण गर्न सकिने उनको भनाइ थियो । 

खाना र पानीकै कारण झाडापखाला  तथा हैजा देखिने गरेको भन्दै उनले यकिन तथ्याङ्क नभए पनि हजारौँ नागरिक बर्सेनि बिरामी पर्ने गरेको उनले बताए ।

ब्रान्ड नभएको १० देखि १५ रुपियाँ पर्ने जारको पानी पनि उपभोक्ताले खाने गरेको  बिरामीबाट जानकारी पाएको डाक्टर पुनले बताए ।

डाक्टर पुनका अनुसार जारको पानी प्रयोग गर्ने धेरैलाई समस्या आएको देखिएको छ । 

खानेपानी मन्त्रीको जिल्ला : एउटा वडाका आठ सय परिवार दूषित पानी पिउछन

गतवर्ष ललितपुर जनस्वास्थ्य कार्यालयले परीक्षण गर्दा जारको पानीमा हैजाको किटाणु देखिएको थियो । सकेसम्म पानी उमालेर खानु सबै भन्दा राम्रो उपाय हो । 

उनका अनुसार पानीका कारण बिरामी भएर अहिले दैनिक दर्जनको हाराहारीमा शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी आउने गरेका छन् । 

के भन्छन् स्वास्थ्य मन्त्रालयका प्रवक्ता  ?

पिउने पानीकै कारण कति नागरिक बिरामी हुन्छन् भन्ने प्रश्नमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर महेन्द्र श्रेष्ठले यसको तथ्याङ्क सरकारसँग नभएको बताए । 

स्वच्छ खानेपानीको अभावका कारण सङ्ख्यागत रूपमा भन्न नसके पनि समस्या देशैभर रहेको प्रवक्ता श्रेष्ठले बताए । तर यो समस्या काठमाडौँ उपत्यकाका ३ जिल्लामा बढी मात्रामा रहेको र त्यसमा पनि पहिलो नम्बरमा काठमाडौँ पर्ने उनले बताए । 

प्रवक्ता श्रेष्ठले गत वर्ष जिल्ला जनस्वास्थ्य कार्यालयमा प्रमुखको जिम्मेवारीमा रहँदा गरेको सर्वेक्षणमा  काठमाडौँमा खानका लागि प्रयोग हुने ७० देखि ८० प्रतिशत पानी दूषित रहेको पाइएको उनले बताए । 

दूषित पानी पिउँदा सबै जिल्लामा समस्या आइरहेको भन्दै उनले यसबारेमा खानेपानीको क्षेत्रमा काम गर्ने निकायले सोच्न जरुरी रहेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप