शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

बुधबार, २७ असार २०७५, ०८ : ११
बुधबार, २७ असार २०७५

पाल्पा - सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । 

जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो । 

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए । “गाउँमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन्, केही विदेशमा श्रम गरिरहेका छन्, अब गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम शुरु गरेका हौँ” बस्यालले भने । 

युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम सात लाखबाट ऋण उपलब्ध गराइएको हो । युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई चार लाख रकम उपलब्ध गराइएको छ । 

बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि चार लाख ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका लागि रु एक लाख ऋण लिएका छन् । सोही स्थानका सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि  एक लाख ऋण पाए । 

यस्तै बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि  एक लाख ऋण गाउँपालिकाले उपलब्ध गराएको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले गाउँमा शैक्षिक बेरोजगार रहेका युवाबाट उद्यम सञ्चालन हुने गरी ऋण प्रदान गरिएको बताए । 

गाउँपालिकाले दिएको ऋणबाट तीन महिनाभित्र काम शुरु हुनुपर्ने छ भने दुई वर्षसम्म ब्याज तिर्नु पर्दैन । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाएपछि यहाँका युवा हर्षित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप