शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

रेखाकी सौतेनी आमामाथि बनेको फिल्मले किन मच्चाइरहेको छ तहल्का ?

बुधबार, २७ असार २०७५, ०९ : १७
बुधबार, २७ असार २०७५

वोल्गा / बीबीसी

दक्षिण भारतमा सावित्री सबैभन्दा लोकप्रिय अभिनेत्रीमध्येकी एक हुन् । मानिसहरु उनको अभिनयका कायल मात्र नभई तमिल र तेलेगु फिल्मका अन्य अभिनेत्रीभन्दा भिन्न ठान्छन् ।

४० को दशकको अन्तिम वर्षमा जब उनले फिल्मी उद्योगमा कदम राखेकी थिइन् तब उनलाई अभिनय नआउने बताइन्थ्यो ।

तर ५० औं दशकको सुरुवात सँगै उनी फिल्मी क्षेत्रकी उत्कृष्ट नायिका बनिन् र उनको जादु आज पनि सिनेमा प्रेमी, विशेषगरी तमिल र तेलुगू फिल्म हेर्नेहरुमाथि चल्छ ।

यो उनको जादु नै थियो जब उनको जीवनमा बनेको फिल्म ‘महानती’ रिलिज भयो तब फिल्म हेर्न त्यस्ता मानिसहरु पनि पुगे जसले कहिले पनि सिनेमाघरमा पाइला टेकेका थिएनन् ।

फिल्म बनाउन सजिलो थिएनः

विशेषगरी त्यो तप्काको भीड देखियो जो सावित्रीलाई देखेर जवान भएका थिए । सिनेमाघर बाहिर ह्विल चेयरमा वृद्धाहरुको अनुहारमा चमक देखिएको थियो । यो सावित्रीको जादु नै थियो जसले उनीहरुलाई सिनेमाघरसम्म तानेको थियो ।

तर उनको जीवनलाई पर्दामा उतार्न सजिलो थिएन ।

निर्देशक नाग अश्विनले सावित्रीको जिद्दी स्वभाव र अचम्मको व्यक्तित्वलाई फिल्ममा समान महत्व दिए । उनी जे गर्न चाहन्छिन् त्यो गर्थिन् भन्ने कुरालाई उनले देखाए ।

तेलुगु दर्शक पनि मान्छन् कि सावित्रीको अगाडि अन्य कोही अभिनेत्री टिक्न सक्दैनन् ।

सावित्रीको आफ्नो ‘प्रेम’ सँग पहिलो भेट:

फिल्ममा सावित्रीको जीवन एक पत्रकारमार्फत देखाउन कोसिस गरिएको छ जसले उनको जीवनको उतार–चढावलाई देखाउँछन् ।

बाल्यकालमा आफ्नो बुवालाई गुमाएपछि सावित्री आफ्ना हजुरबुवाको रेखदेखमा हुर्किइन् । अचम्मको कुरा के छ भने कुनै तालिम बिना नै उनी उत्कृष्ट नृत्यांगना थिइन् र फिल्ममा काम गर्न मद्रास पुगिन् ।

१४ वर्षको उमेरमा उनी पहिलो पटक मद्रासको जेमिनी स्टुडियो पुगेकी थिइन् । त्यहाँ उनको तस्बिरहरु जेमिनी गणेशनले खिचेका थिए ।

लामो समयपछि मात्र उनको तस्बिरका कारण उनलाई फिल्ममा काम गर्ने अफर आयो । हडबडीमा उनले त्यो मौका गुमाइन् । निर्देशकले भनेका थिए, ‘उनी फिल्ममा फिट छैनन् ।’

सावित्रीको एउटा बानी थियो – उनी कुनै पनि कुरालाई चुनौतीको रुपमा लिन्थिन् र त्यसपछि उनी यस्तो अभिनय गर्थिन् जसले उनका आलोचकलाई सोच्न बाध्य बनाउँथ्यो ।

स्टारको रुपमा उदय र ‘प्रेम’ का लागि त्यागः

त्यतिबेला विजया फिल्म्सको सिक्का चल्थ्यो । जसले उनको फिल्ममा काम गर्थे उनीहरुलाई स्टार मानिन्थ्यो । सावित्रीले ब्यानरमा बनेको फिल्ममा राज गर्न सुरु गरिन् ।

उनले पहिलो पटक ‘देवदास’ फिल्ममा मुख्य भूमिका पाइन् । यसमा उनले पार्वतीको भूमिका निभाएकी थिइन् । त्यसअघि दुईवटा फिल्ममा उनले साइड रोल पाएकी थिइन् ।

देवदास अत्यधिक सफल भयो । भारतमा देवदास थुप्रै भाषामा बन्यो तर तेलुगुजस्तो सफलता सायद कसैले पनि पाएनन् ।

सावित्रीले यस फिल्ममार्फत मानिसहरुको मन–मस्तिष्कमा अमिट स्थान बनाइन् ।

त्यसैबीच उनी र जेमिनी गणेशन नजिकिए । गणेशन विवाहित थिए तर सावित्री भने उनीसँग विवाह गर्न चाहन्थिन् ।

थुप्रै कठिनाईपछि उनी यस्तो गर्न सफल भइन् । तर लुकिछिपी गरिएको विवाहमाथि कति दिनसम्म पर्दा रह्यो ?

जब यसबारे पर्दाफास भयो तब आफ्ना प्रेमी जेमिनी गणेशनका लागि सावित्रीले आमा, काका र काकीलाई छोडिदिइन् । प्रेमको लागि यो उनको ठूलो त्याग थियो ।

सफलताको शिखरमा सावित्रीः

विवाहपछि उनले माया बाजारमा काम गरिन् । उक्त फिल्म पनि अत्याधिक सफल रह्यो ।

त्यतिबेलासम्म उनले तेलुगु दर्शकको मनमा मात्र नभई मस्तिष्कमा पनि स्थान बनाइसकेकी थिइन् । तेलुगु फिल्ममा अब उनलाई रोक्न सजिलो थिएन ।

उनले एक पछि अर्को फिल्मको अफर पाइरहिन् । ठूल्ठूला कलाकारसँग उनले काम गरिन् । सावित्रीको अभिनय यस्तो हुन्थ्यो कि उनको अपोजिटमा भएका पुरुष अभिनेतालाई यो डर लाग्थ्यो कि सावित्री कतै उनीहरुको अभिनयमा हावी हुने हो कि ?

सावित्री आफ्नो करियरको शीर्ष स्थानमा थिइन् । उनले आफ्नो पारिश्रमिक पनि बढाइसकेकी थिइन् । यस्तै, गणेशन त्यतिबेलासम्म एक साधारण अभिनेता मात्र थिए ।

सावित्रीका दुई सन्तान थिए । छोरी विजया चामुन्डेश्वरी र छोरा सतिश कुमार । जब उनीहरुको छोराको जन्म भयो गणेशन सावित्रीबाट टाढा हुन थाले । उनलाई सावित्रीको सफलतामा ईष्र्या लाग्न थालेको थियो । सावित्री रेखाकी सौतेनी आमा हुन् ।

सम्बन्ध टुट्यो र सावित्री पनिः

सावित्रीको सफलतालाई गणेशनले थेग्न सकेनन् । मानिसहरु अब उनलाई सावित्रीका श्रीमानको रुपमा चिन्न थाले । जुन उनलाई मन परेन ।

दुबैको झगडा हुनथाल्यो । अन्ततः उनीहरु एकअर्कासँग अलग्गिए ।

सावित्री पीडामा बाँच्न थालिन् । नशा, एक्लोपना र सम्बन्ध टुटेका कारण उनी निकै विक्षिप्त भइन् ।

फिल्म निर्माणमा उनलाई घाटा लाग्यो । कारवालाहरुले छापा मारे । अन्त्यमा उनले आफ्नो धेरैजसो सम्पत्ति दान गर्ने निर्णय गरिन् ।

उनले दीनदुःखीको मद्दतका लागि आफ्नो गहना र कपडासमेत लिलामी गरिन् । अन्ततः उनी कोमामा गइन्, त्यसपछि उनको मृत्यु भयो ।

जुन देवदासबाट उनले चर्चा पाइन्, उनले त्यही देवदासझैं प्रेममा तड्पिएर मृत्युवरण गर्नुपर्यो ।

‘महानती’ मा सावित्रीको भूमिका कृति सुरेशले निभाएकी छिन् । फिल्मलाई त्यतिबेलाका मानिसले मात्र नभई युवाहरुले पनि निकै रुचाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप