शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा वर्षाको कहर : भक्तपुर र काठमाडौँ डुबानमा, तीनको मृत्यु, १५० को उद्धार (फोटो/भिडियो)

बिहीबार, २८ असार २०७५, ०९ : ४३
बिहीबार, २८ असार २०७५

काठमाडौँ । लगातारको वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण माटोको ढिस्को खस्दा तीन जनाको मृत्युसमेत भएको छ ।

महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ ।

जसमा हिरा लामा ७० वर्ष, पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो । 

श्रेष्ठका अनुसार जगातीमा सडक क्षेत्र नै डुबानमा पर्दा यातायात अवरुद्ध हुन पुगेको थियो । ‘केही समयअघि हामीले एकतर्फी सडक खुलाउन सफल भएका छौँ,’ उनले भने ।

जिल्लाको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परे ।

सोही नगरपालिकामा अवस्थित सिद्धस्मृति महिला तथा बाल अस्पताल, डाक्टर इवामुरा अस्पताल भित्र पनि बाढी पसेको छ । इवामुरा अस्पतालको एक्सरे कक्ष, फिजियो थेरापीकक्ष, टिएमटी मेशिन राखेको कक्ष डुबेको अस्पताल व्यवस्थापक रन्जित मारिखुले बताए ।

यता मध्यपुरथिमि नगरपालिकाको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्तीमा रहेका घरहरुको तत्लो तला सबै डुबेका छन् । सूर्यविनायक नरपालिकामा चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेगमा डुबान भएको छ ।

राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबानमा छन् । राधेराधे अगाडिदेखि सानोठिमी जाने निकोसेरासम्म नै डुबानमा परेपछि घरबाट निस्कने अवस्था नभएको स्थानीयवासी पुरुषोत्तम कार्कीले जानकारी दिए । 

जमीनबाट चारफिट माथिसम्म पानी जमेपछि घरभित्र पानी पसेको छ । प्रत्येक घरको भुइँतलामा पानी पसेपछि भूइँतलामा बस्नेको बिजोग भएको छ । यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन् । यहाँको डुबानले कति क्षति भयो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ । 

हालसम्म डुबान क्षेत्रबाट १५० जनाभन्दाको उद्धार गरेको छ । उद्धारको लागि नेपाली सेना, शस्शस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दालगायकाहरु उद्धारमा जुटेका छन् । राधेराधेमा डुबानक्षेत्र फँसेका केहीलाई नेपालीसेनाले क्रेननको सहायतामा उद्धार गरिरहेको छ ।

यता काठमाडौँमा पनि बागमती र मनोहरा खोलाको बहाव बढेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहन थापाका अनुसार बाढीको खतरा बढेपछि बल्खु क्षेत्रका आठ घर खाली गराइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप