शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केही दिनअघि गिरफ्तार गरिएका छबिलाल पौडेललाई भेट्ने इच्छा गरिन् गंगामायाले

शुक्रबार, २९ असार २०७५, १८ : ५०
शुक्रबार, २९ असार २०७५

काठमाडौं– लामो समयदेखि राजधानीको वीरअस्पतालमा अनसनरत गंगामाया अधिकारीले अनसन तोडेकी छन् । शुक्रबार कानुनमन्त्री शेरबहादुर तामाङ को उपस्थितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अधिकारीको अनसन तोडाएका हुन् ।

गोरखा फुजेलकी उनी द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै विगत लामो समयदेखि अनसनमा बसेकी थिइन् । 

अनसन तोड्दै गंगामायाले १० दिनसम्म जुसमात्रै खाएर बस्ने र सरकारको प्रतिबद्धतालाई हेर्ने बताएकी छन् । कानुनमन्त्री तामाङका अगाडि अधिकारीले छोराको हत्याराहरु तत्काल पत्ता लगाउन आग्रह गरिन् ।  उनले केही दिनअघि गिरफ्तार गरिएका गोरखा फुजेलका छबिलाल पौडेललाई जेलमै गएर भेटेर मात्र सरकारको कदम पत्याउने बताइन् ।

उनले भनिन्ः ‘सरकारको भर छैन, एकजनालाई गिरफ्तार गरिएको भनिएको छ तर म गिरफ्तार गरिएका भनिएका व्यक्तिलाई भेट गरेपछि मात्र यो कुरा पत्याउँछु ।’ उनले आफ्नो एउटा छोराको हत्या भएको, एउटा छोरा वेपत्ता भएको र श्रीमान पनि बितिसकेको स्मरण गर्दै आफ्नो जिन्दगी पनि फाँसीमा लड्केको जस्तो भएको गुनासो गरिन् । 

अनसन तोडाउँदै मन्त्री तामाङले १० दिनभित्रमा हत्यारा पत्ता लगाउने प्रतिबद्धता जनाए । मन्त्री तामाङले द्वन्द्वकालमा गंगामायाजस्तो पीडित अरु नभएको बताउँदै अनसन तोडेर सामान्य जीवनयापनमा फर्किएपछि उनको स्वास्थ्यको हेरबिचार सरकारले गर्ने बताए । मन्त्री तामाङले गंगामायाको नाममा १ करोड बराबरको कोष खडा गरिदिने समेत  बताए । गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा तत्कालीन विद्रोही  पक्षले हत्या गरेको आरोप लागेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप