वर्षाको भलसँगै बग्यो करोडौँ बजेट
जाजरकोट - यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ ।
जमीन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ । वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको स्थानीयवासी बताउँछन् ।
छेडागाड नगरपालिकाले खनेको आन्तरिक सडक वर्षाको भलले बगाउँदा अहिले यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । यो नगरपालिकाले कति सडक निर्माण गरेको छ भनी सोध्दा नगरप्रमुख लालबहादुर महतराले सडक त खनियो तर कति किलोमिटर पुग्यो थाहा नभएको बताए ।
उक्त नगरपालिकाले वडा ७ र ८ वडामा मात्र सडक निर्माण नभएको र अन्य सबै वडामा सडक सञ्जालले छोएको उनले जानकारी दिए । सडक निर्माण गरिएका सबै ठाउँमा अहिले यातायात सेवा बन्द भएको छ । वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो ।
त्यस्तै शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले आफ्नो गाउँपालिकाभित्र निर्माण गरिएको सडकको यकिन विवरण आउन नसकेको बताए । यो गाउँपालिकाभित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका सबै सडक अवरुद्ध भएकाले अहिले यातायातका साधनहरु चल्न सकेका छैनन् ।
त्यस्तै जुनिचाँदे गाउँपालिकाभित्र २० किलोमिटर सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए । यो गाउँपालिकामा यातायातका साधनहरु सञ्चालन छैनन् । सडक निर्माणका काम भइरहेकोले अर्को वर्ष यातायातका साधन चल्ने अध्यक्ष केसीले बताए ।
नलगाड नगरपालिकाले १६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ भने १५ किलोमिटर पुरानो सडकको स्तरोन्नति गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए । यो नगरपालिका जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने भएकाले यहाँ यातायातका साधनहरु सञ्चालनमा छन् । केही नगरपालिका भित्रका आन्तरिक सडक अवरुद्ध भए पनि पुनःनिर्माण गर्दै यातायातका साधनहरु सञ्चालन गर्ने काम भएको उहाँले जानकारी दिए ।
सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै–हल्चौर सडक, कायखेत–हल्चौर सडकमा यातायात चल्न सकेको छैन् । यी सडकमा हिउँदयाममा नै यातायातका साधनहरु सञ्चालन हुन सकेका थिएनन् । सडकको मापदण्डभन्दा बाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेको नगरप्रमुख रावलले बताए ।
वडा नं ८ का वडाध्यक्ष गोविन्द शाहीले आफैँ डोजर लगाएर दुई वटा सडक खनेका थिए । यो सडकले कायखेत गाउँ, बगारा र मन्मै गाउँसमेत जोखिममा परेको छ । कायखेतमा सयौँ रोपनीमा लगाएको धानबाली नष्ट हुनाका साथै पाँच घरपरिवारसमेत विस्थापित भएको नगरपालिकाले बताएको छ ।
बारेकोट गाउँपालिकाले यो वर्ष १० किलोमिटर सडक निर्माण गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए । कुशेगाउँपालिका सबै वडामा यातायातको पहुँच पुगे पनि बर्खायाममा सबै सडक अवरुद्ध भएका छन् । वर्षाको भलले सबै सडकमा क्षति पुगेको हो ।
भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडक पनि अवरुद्ध छन् । नयाँ निर्माण गरिएका सबै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ । नयाँ सडक कति निर्माण भयो भन्ने यकिन विवरण यो नगरपालिकाले पनि दिन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा