शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिको नयाँ सङ्कल्प

आइतबार, ३१ असार २०७५, १० : ५१
आइतबार, ३१ असार २०७५

–मिलनकान्छा किराँती


नयाँ शक्तिले विकास र विसर्जन कुन बाटो समात्छ ? नयाँ शक्तिको झण्डा उठ्छ कि सुत्छ ?  यसको मुख्य कारकतत्व बाह्य नभई मूलभूतरूपमा आन्तरिक सशक्त हुने देखिन्छ । पार्टीभित्र आउने र जानेको लर्को लगभग आवरणमा टुङ्गिएको देखिए पनि सारमा निरन्तरता पाउने देखिन्छ । यसो हुँदा अगाडि बढ्न अन्यौलता मात्र नभई अरू विकराल परिस्थितिको अझै सामना गर्नुपर्ने देखिन्छ । तसर्थ, स्थापनाकालदेखि हालसम्म भएगरेका गल्तीबाट पाठ सिक्न सकिएमा अब नयाँ शक्तिले नयाँ सङ्कल्प गर्नैपर्ने हुन्छ । जो, यो कुरा पहिला पनि सुझाइएको थियो । 

‘अरूको काममा मद्दत गर्न कसैसँग समय हुँदैन । तर, बाधा पु¥याउन धेरैसँग प्रशस्त समय हुने गर्दछ’, भनेझँै अहिले नयाँ शक्तिको थुप्रैले आलोचना–आरोप र आत्मरतिका आलापमा समय खर्चिरहेका छन् । अर्कोतर्फ यसले पछिल्लो समय दिनप्रतिदिन असल अभियान उल्लेख्य रूपमा पाइरहेको छ । यी दुवै आंशिक विरोध र आंशिक समर्थनको पाटोलाई स्वीकार्दै यसले गुणात्मक गति पैदा गर्नुपर्ने हुन्छ ।

राजनीतिक पार्टी धर्मशाला पाटी हँुदै होइन । जहाँ सात जना मानिस भेला भएर आठथरी कुरा सुनाउँछन् । राजनीतिक पार्टी त्यो हो, जहाँ सङ्गठन विचारको पुञ्ज हुन्छ । विचारमा मतभिन्नता, काम–कारबाहीमा एकरूपता हुन्छ । विशेषतः पार्टीको आइडोलोजी र एजेन्डा ग्राउन्डमा एकसाथ सबैले सजिलै डेलिभरी गर्छन् । व्यक्तिको नभई पार्टीको आधिकारिक विचार, धारणा सम्प्रेषण गर्छन् । त्यतिखेर मात्रै पार्टी राजनीतिक पार्टीजस्तो हुन जान्छ । 

नयाँ बन्नलाई नयाँ साङ्गठनिक नाम, विचार र सिद्धान्त लोकप्रिय भएर मात्रै पनि हुँदैन । किनभने, नयाँ संविधान थुप्रै अपूर्णता र असहमति छिचोल्दै समर्थन र विरोधबीच जारी भएयता नेपाली राजनीतिक इतिहासमा नयाँ युगको एप चल्न सुरुआत भइसकेको छ । यो आधुनिक र रङ्गीन डिजिटल सफ्टवेयर एप हो । आमजनताको इच्छा–आकाङ्क्षा र चाहना बमोजिम निर्माण गर्न खोजिएको भए पनि केही महत्वपूर्ण त्रुटिहरू रह्यो । यद्यपि यसलाई समयसापेक्ष परिमार्जन र अपग्रेड गर्दै लान सक्दै नसकिने भन्ने त्यस्तो केही छैन । तर पुरानै थोत्रो सामन्ती श्यामश्वेत सादासेटमा कामचलाउ भर्सनहरूको क्राउडका कारण केही सानातिना उल्झन, बाधा र समस्य भएको छ । तसर्थ, समृद्धि–शान्ति र देशप्रेमी आमजनता दिग्भ्रमित छन् । चिन्तित छन् । यहाँ के सही के गलत ? छुट्टयाउन कठिन बनाइँदै छ । युगसापेक्ष यस्ता भ्रमलाई चिर्दै वर्तमान विकराल राजनीतिलाई सुदृढ पार्दै कसरी निरन्तर सुव्यवस्थित समृद्धितिर डो¥याउन सकिन्छ ? राजनीतिका लागि फगत राजनीति नभएर राष्ट्र, समाज र मानवजीवनको बाधा–बन्धन र अपरिहार्यता एवम् इच्छा–चाहनालाई परिपूर्ति गर्न कसरी राजनीतिलाई उपयोगी र अभियानलाई प्रभावकारी एवम् शक्तिशाली बनाउँदै निश्चित आकार दिन सकिन्छ ? यसबारे   विचार–विमर्शको सतही नभई गहिराईमा पुगेर ठोस रूपमा कार्यान्वायन गर्नुपर्ने हुन्छ ।

ठुल्ठुला सफलता हासिल गर्न सानासाना कुराहरूको ख्याल गर्नु आवश्यक हुन्छ भनेझँै थुप्रै कुराहरूमा सजग रहँदै वस्तुतः व्यावहारिक र वैज्ञानिक विधिको अवलम्बन गर्नैपर्ने हुन्छ । साथसाथै यसको तीव्ररूपमा विकास गर्दै हरतरहले चुस्तदुरुस्त, पारदर्शी र सुरक्षित राख्दै सदुपयोगी ढङ्गले विधिवत प्रयोग गर्दै निरन्तर अगाडि लगेर पुस्तान्तरण गर्नु महान उपलब्धि हुनजान्छ । यो एतिहासिक असाधारण कार्यभारको जिम्मेवारी परिस्थिति र समयबोध भएका साधारण युवापुस्तालाई सुम्पने नवयुगले फरमान जारी गरिसकेको छ ।
 
यसकारण यसको सम्बन्ध पुरानै श्यामश्वेत सादा पुरातन, प्रतिगामी सोच राख्ने युवाहरूसँग हुन सक्तैन । देशभक्तिको फोस्रो मन्त्र जप्ने, अरूलाई सत्तो–सरापेर आफू चोखिँदै सिन्को नभाँची महानतम अनुभूति गर्ने, आफ्नो आकार–प्रकार र वास्तविकतालाई बिर्सेझैँ गरेर अन्धोराष्ट्रवादी बन्ने, भ्रम छर्ने र प्रत्यक्ष–अप्रत्यक्ष स्थिर, प्रतिगमनलाई सघाउने, कुरा गर्नुपर्दा दसहात अघिसर्ने र काम गर्नुपर्दा दसहात पछिपर्ने वा काममा हाजिर नै नहुनेहरू नयाँ शक्तिको हिमायती हुनै सक्दैनन् । यस्तासँग नयाँशक्तिको सम्बन्ध रहनै सक्दैन । सत्यको आधारमा तथ्य खोज्दै, तथ्यको आधारमा आफ्नो वास्तविक धरातलको पहिचान गरेर प्राप्त साधन–स्रोतको अधिकतम प्रयोग गर्दै आन्तरिक निर्भरता, सम्पन्नता, पूर्णलोकतान्त्रिक मूल्य–मान्यताको अङ्गीकार गर्दै समानुपातिक, समावेशिता, सुशासन र मैत्रीपूर्ण अन्तरदेशीय, अन्तर्राष्ट्रिय सुमधुर कूटनीतिक सम्बन्ध कायम गर्दै सगरमाथाको चमत्कारका रूपमा तीव्ररूपमा देश–विकास र समृद्धि प्राप्त गरेर सुखी–सम्पन्न नेपाल निर्माण गर्ने अठोटका साथ आफ्नो रुचि–दक्षता र पायक पर्ने कार्यक्षेत्रमा तुरुन्त प्रभावकारी ढङ्गले उदाहरणीय रूपमा निरन्तर खटिने अग्रगामी, सचेत देशप्रेमी, विवेकी, परिश्रमी, सुशील–शालीन युवापुस्ता यस अभियानमा स्वतः समावेश हुनेछन् । उनीहरूलाई सामेल गर्न सक्नु पर्दछ । 

नयाँशक्तिले नयाँ सूत्र प्रयोग गरेर विचारमा मत भिन्नता र काम–कारवाहीमा सम्पूर्ण देशभक्त नेपालीको एकरूपता कायम गर्दै राष्ट्रिय स्वधीनता र समृद्धिका मार्ग हरतरहले प्रशस्त खुला गर्नु पर्दछ । त्यसो हुन सके मात्र यसको सार्थकता रहन्छ । त्यो गर्न सक्ने  यो अभियान प्रबल सामथ्र्य राख्दछ । नयाँ बन्ने सङ्गठनमा विभिन्न जेल–नेल, आन्दोलन, युद्ध–सङ्घर्षको अनुभव र भोगाइ–खटाइको मापदण्डभन्दा पनि कार्यक्षेत्रको दक्षता–विज्ञता र श्रमजीवी मजदुर र विशेषतः युवाको सन्तुलित सङ्गठन अपरिहार्य छ । 

नयाँशक्तिले पुँजीवादी युगको उच्चतम प्रयोग गर्दै समुन्नत समाजवादसम्म पुग्न दिशानिर्देश गर्न सक्छ । त्यसो हुन नसके लक्ष्यप्राप्ति सम्भव छैन । नत्र, समाजवादी विचार र लक्ष्य बोकेका दुई–तीन दर्जन नेपालका समाजवादी दलहरू उहिल्यै समृद्धिउन्मुख हुन्थे । सफलता प्राप्त गर्थे । जनताले यो दुर्गति भोग्नुपर्ने थिएन । अहिले नयाँ शक्तिको आवश्यकता पनि पर्ने थिएन । त्यसकारण, वैज्ञानिक विधि प्रयोग गरेर कसरी अघि बढ्न सकिन्छ ? यस विषयमा सजगता अपनाउँदै अघि बढ्नु नै बुद्धिमताभित्र पर्दछ ।

मानिसलाई आवश्यकताभन्दा बढी फुर्सदिलो समय प्राप्त भयोभने धेरैलाई नकरात्मक विचारहरू प्रायः उत्पन्न हुने गर्दछ । यो सन्दर्भमा विश्वकै हाई ¥याङ्किङमा नेपाल पनि पर्दछ । त्यसैले नराम्रा कुराको नकरात्मक प्रतिक्रिया स्वभाविक हो । अझ रचनात्मक र सिर्जनात्मक हुनसके नकरात्मक टिप्पणी पनि शिक्षाप्रद हुन्छ । तर राम्रा र सकरात्मक कुराहरूको पनि अन्जानमै भावावेश प्रकट गर्दै निर्लज्जताको पराकाष्ठा नाघेर नकरात्मक प्रतिक्रिया प्रवाह गर्नु पनि ठूलै रोग हो । यो रोगको शल्याक्रिया उपचार गर्ने चिकित्सक स्वयम् रोगीबाहेक अरू हुन सक्तैन । त्यसैले, नयाँ हुनलाई बरु पुरानै नामहोस् तर नयाँ कार्यशैली, नयाँ भाव, नयाँ योजना, संरचना, विचार, व्यावहार स्पष्ट हुनुपर्दछ । जनस्तरमा पनि चेतनाको विकास क्रमशः हँुदै जानेछ ।


दृढसङ्कल्प र समृद्धिको नमुना
नेपाली मात्रै नभएर दुनियाँमा दुई खुट्टाले उभिने हरेक मानिस निकै अचम्मका हुन्छौँ । समुद्र वा नदी–खोलामा डुबेपछि पानीलाई दोष दिन्छौँ । आँगन होस वा ढिस्को–छाँगाबाट लडेपछि ढुङ्गालाई दोष दिन्छौँ र आफ्नो थैली बलियो कस्दैनौँ । समान हराएपछि अरूलाई दोष दिछौँ । अनि जीवनमा असफलता भएर केही गर्न सक्दैनौँ भने भाग्यलाई दोष दिन्छौँ । त्यसअनुरूप नेपाल अविकास,  अस्थिरता र द्वन्द्वतिर धकेलिँदै गएकाबेला नेतालाई मात्रै दोष दिन्छौँ । नागरिकको भूमिका बिर्सिन्छौँ । स्वयम् आफ्नो भूमिका बिर्सिन्छौँ । आफ्नो दोष देख्दैनौँ । आफ्नो भूमिका केही पनि देख्दैनौँ । अझ आजभोलिको विकसित संस्कार त जत्तिसक्दो एकले अर्कोपक्षलाई जान–अञ्जान गाली–गलौज र आरोप थोप¥यो, त्यो सबैभन्दा चोखो, असल र महान कोही छैन भन्ने हिसाबले अन्धोसमर्थन गर्न पुग्छौँ । नगरी नहुने कसैले गर्नै नसक्ने कार्य भनेको निर्लज्ज भएर गाली गर्नु थियो, आरोप लगाउनु थियो– त्यो पुरा ग¥याँै भनेर खुब बधाईसमेत दिन पुग्छौँ । अब, यस्तो असभ्य आडम्बर र पाखण्ड विचार–संस्कार निरुत्साहित गर्दै विधि र सभ्यताको जग बसाल्नै पर्दछ । तसर्थ, अब नागरिक स्वयम्ले सक्षमता प्रस्तुत गर्दै समृद्धितिर लम्कने दृढ सङ्कल्प गर्नु पर्नेबेला हुर्कदै आएको छ । 

देशलाई तीव्र गतिमा विकास गर्ने हो भने सधैँ राजनीति गर्ने संस्कारको अन्त्य गरेर एक पटक सबै सचेत नागरिकले छोटो समयका लागि नयाँ फ्रेम–संरचनासहितको राजनीतिमा महत्वपूर्ण भूमिका– योगदान गर्ने सङ्कल्प गर्नैपर्ने हुन्छ । सबैभन्दा पहिले समाजमा रहेका असमान समस्यको हदैसम्म खुलस्त भएर वैज्ञानिक निराकरण गर्नुपर्ने हुन्छ । किनकि स्थायी शान्ति नै समृद्धिको पहिलो खुड्किला हो । 
यो युग भनेको मुढे बलले मात्रै होइन, अद्भूत विवेक र प्रविधि प्रयोग गरेर सत्ता–सरकार मात्रै होइन, संसार हात लिन सकिने कुराको यथार्थता भुल्नु हुँदैन । स्थायी शान्तिको वातावरणपछि स्थानीय उपलब्ध साधन–स्रोतको परिचालन, प्रयोगसँगै दुई छिमेकी विकसित शक्तिशाली महाराष्ट्रको सम्बन्ध सुदृढ पार्दै नेपालको राष्ट्रिय स्वधीनता अक्षुण्ण राख्दै भरपुर उपयोग गर्नु बुद्धिमानी र वैज्ञानिक हुन्छ । त्यसका लागि भारत र चीनसँग बाइलिटरल इन्भेस्टमेन्ट प्रोमोसन एन्ड प्रोटेक्सन एग्रिमेन्ट गर्नु पहिलो आवश्यकता हो । किनकि युग यस्तो मोडमा आइपुग्यो कि हार–जितको फर्मुला पुरानो काम नलाग्ने भयो । अब, दुनियाँ विन–विन गेम अर्थात दुवैपक्ष जित्ने खेल खेल्न चाहन्छ । हामी भारत–चीनलाई जित्न चाहन्छौं । हार्न चाहँदैनौँ । प्रतिस्पर्धा गर्दै लगानी भित्र्याउन चाहन्छौँ । उत्पादन भएको नेपाली वस्तुको पहिलो ग्राहक नेपाली जनता नै हुन् भन्ने चाहन्छौँ । प्रयोग गरेर बढी भएको वस्तु निर्यात गर्दा चीन–भारत एग्रिमेन्टको आधारमा दोस्रो ग्राहक र बजार बनाउन चाहन्छौँ । त्यसपछि तेस्रो ग्राहक र बजारमा युरोप–अमेरिका, शक्ति महाराष्ट्रहरूलाई सम्झन चाहन्छौँ । त्यसैले एउटा सियो, सलाई उत्पादन नगर्ने, गर्न नसक्ने, नसोच्ने तर राष्ट्रवादी भनेर छिमेकीलाई सत्तो–सराप्दै आफूलाई स्वभिमानी, महान ठान्दै पुरातनपन्थीको अहङ्कारी घोडामा सवार हुनेहरूलाई गिज्याउँदै नयाँ शक्तिका अभियान्ताले उदाहरण पेश गर्न कम्मर कस्नैपर्ने हुन्छ ।

 देशैभरी छायाँ सरकार सञ्चालन गरेर स्थानीय साधन–स्रोतको अधिकतम प्रयोग र सञ्चालनमा ल्याउन सरकारलाई सहयोग गर्ने र सरकारको गलत कार्य र निर्णयको भद्रविरोध र भण्डाफोर गर्न सुरुआत गर्नु पर्दछ । विचार र भावनामा मात्रै एकरूपता नभई खानपान, जीवन–शैली, सम्बन्ध–व्यावहार र शिष्टाचार, हरेक वस्तु र क्षेत्रको विशिष्टता पहिचान गर्दै विशाल अर्थ वाणिज्य र बहुराष्ट्रिय कम्पनी, कल–कारखानाको विस्तारसँगै सहकार्यलाई जोड दिएर समाज सुधारको दिशामा हरेक नागरिक सँगसँगै सुदृढीकरणको मार्ग पहिल्याउने र समान रेखाबाट समृद्धितिर लम्कने वातावरण बनाइनु पर्दछ ।

 त्यतिखेर, अहिलेको जिज्ञासा, शङ्का र सङ्कीर्णताको हदैसम्मको जवाफ प्राप्त भइसकेको हुनेछ । 
मुलुकले समुन्नत समाजवाद समाजको मार्ग प्रशस्त गरेर धेरैखाले मानवताविरोधी सामाजिक र भौगोलिक रेखाहरू मेटिने छन् । सुविधासम्पन्न स्वतन्त्रताको स्वर्ग यही माटोमा पाएर भावी सन्ततीहरू गर्व र श्रद्धाकासाथ वीर–सहिद, समृद्धिका अभियानता पुर्खाहरूप्रति नतमस्तक हुनेछन् । ती पुर्खाहरू हामी पनि हौँ वा हुनसक्छौँ । सन्ततीहरू त्यही सम्पन्नताको जगमा उभिएर साहसका साथ विश्वलाई हत्केलामा राख्दै अर्को सुन्दर संसार निर्माण गर्न लम्कनेछन् । 

(लेखक नयाँ शक्ति पार्टी नेपाल राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा एसिया प्यासिफिक जिल्ला संयोजक हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिलनकान्छा किराँती
मिलनकान्छा किराँती
लेखकबाट थप