शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

सोमबार, ३२ असार २०७५, १४ : ००
सोमबार, ३२ असार २०७५

चितवन– पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । 

शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख कुमार घिमिरेका अनुसार दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो । 

निर्माणकर्ताले विद्युतीय उपकरण राख्ने भवन, आवश्यक सम्पूर्ण उपकरण र पार्किङसमेत निर्माण गर्नुपर्ने हुन्छ । उनका अनुसार दुई वटा विद्युतीय शव दाह उपकरण जडान गरिनेछ । एकै पटकमा दुई वटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेले बताए । 

बढीमा एक घण्टामा एउटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेको भनाइ छ । अत्याधुनिक उपकरण हुने भएकाले वातावरणीय प्रदूषण नहुने उनले बताए । राजधानी बाहिरको पहिलो विद्युतीय शव दाह देवघाटमा निर्माण गर्न लागिएको हो । 

भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले महानगरपालिकाको विशेष पहलमा विद्युतीय शव दाहस्थल निर्माण गर्न लागिएको बताए । 

दैनिक ३५ वटासम्म शव देवघाटमा ल्याइने गरिन्छ । जसका लागि आवश्यक पर्ने दाउरा पुर्याउन कठिन भइरहेको अवस्थामा विद्युतीय शव दाहस्थल निर्माणसँगै दाउरा र प्रदूषणको समस्या हट्ने उनले बताए । 

देवघाटमा मानिसको अन्त्येष्टि गरिएको दाउरा र थोत्रा कपडाले नारायणी नदी प्रदूषित बन्दै आएको छ । जसका कारण स्नान गर्न आउने भक्तजनहरु र जलचर प्राणी प्रभावित हुँदै आएका छन् । 

चितवनसहित नेपालका विभिन्न क्षेत्रबाट अन्त्येष्टिका लागि शव देवघाट ल्याउने गरिन्छ । देवघाटमा अन्त्येष्टि गरिएमा मोक्ष प्राप्ति हुने विश्वास रहिआएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप