बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कामनपा–१६ लाई नमुना वडा बनाउने अभियानमा रिजाल, यो वर्ष के–के गरे ?

सोमबार, ३२ असार २०७५, २३ : ३६
सोमबार, ३२ असार २०७५

काठमाडौं–गतवर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट विजयी वडाध्यक्ष मुकुन्द रिजाललाई सोह्रखुट्टेस्थित कार्यकक्षमा विभिन्न काम लिएर आएका जनताको गुनासा र समस्या सुन्दैमा फुर्सद थिएन ।

आर्थिक वर्ष २०७३–०७४  सकिनु २ दिनअघि आफ्नो कार्यकक्षमा निकै व्यस्त देखिएपनि उनी तनाव मुक्त देखिन्थे । ‘बिहानदेखि बेलुका सुन्ने बेलासम्म वडाकै बारेमा सोचिरहेको हुन्छु । मलाई जनताले सेवा गर्नकै लागि चुनेर यो ठाउँमा पठाउनु भएको हो । मलाई जनताको काम गर्नैमा  आनन्द आउँछ’, नेपाली कांग्रेसबाट विजयी रिजालले भने, ‘मैले दैनिक विभिन्न किसिमका गरी सरदर  सिफारिसमात्रै ७०० को  हाराहारीमा गर्नुपर्छ ।’

उनका अनुसार वडाबासी  बाटो–घाटो पुल कुलेसोको समस्याका साथै अनेकन सवालमा परामर्शका लागि वडा कार्यालयसम्म आउने गर्छन्  ।  वडासम्म आउने सबैखालका समस्याको समाधानमा आफ्नो प्रयास  रहने र गरिएको पनि उनले बताए ।  ‘मैले अहिलेसम्म सम्भव हुनेजति काम जनताको गरिदिइरहेको छु । वडाका एमाले, माओवादीका सदस्यहरुले पनि मेरो कुनै आलोचना गर्नुहुन्न, किनकी हामी मिलेर काम गरिरहेका छौं ।’

 आर्थिक वर्ष २०७३–०७४ मा उनले  सीमित बजेटका बीच पनि उल्लेख्य काम गरे । स्र्रोह्रखुट्टे–म्हेपी सडकखण्ड र  बालाजुचोक–बाइसधारा, सडकखण्ड पिच भयो । बालाजु पुलिसचौकीदेखि बनस्थली जाने बाटो पीच हुने तरखरमा छ भने बालाजुदेखि रानीबनको किनारासम्म जाने बाटो विस्तारको क्रममा रहेको छ । ऐराहिटीबाट राधाकृष्ण जाने बाटोमा ढल निर्माणको कार्य भइरहेको छ । यसो त भित्रि गल्लीहरुका ६० प्रतिशत स्थानमा ब्लक हाल्ने काम सम्पन्न गरिएको पनि उनले दाबी गरे ।

उनको भनाईमा महानगरभित्रका भित्रि वडाका  १३ वटा वडा बराबर १६ नम्बर एउटै छ। तर १६ नम्बर वडाले पनि ती वडाकै हाराहारीमा बजेट  पाएको यथार्थ सुनाउँदै उनले भने, ‘मैले सडकविभागसहित केन्द्र सरकारका बजेट पनि सिधै ल्याउन सफल हुँदा सन्तोषजक रुपमा काम गर्न सकेको छु  ।’ रिजालका अनुसार महानगरपालिकाले २ करोड १५ लाख बजेट दिएको तर थप केन्द्रीय बजेट पनि पार्न सफल हुँदा २० करोडको हाराहारीको बजेटको काम गरिएको बताए । 

वडा नम्बर १६ मा  पुरातात्विक सम्पदाहरु धेरै रहेको भन्दै त्यसको संरक्षणमा पनि आफू जुटेको रिजालको भनाई छ  । ‘यहाँ भएका पुरातात्विक सम्पदाहरुको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो । नयाँ कुरा त हामीले भोलि निर्माण गर्न सक्छौं, अहिले मल्लकालीन र लिच्छवीकालीन सम्पदालाई  नयाँ पुस्तालाई देखाउनुपर्छ भनि संरक्षणमा लागेको छु । जस्तो गैरीधारा जो फोहोर फालेर पुरिएको थियो । अहिले  केहि हदसम्म पुननिर्माण गरिएको छ । सोह्रखुट्टेपाटीका काठ र ढुंगा म आउनु भन्दा अघि नै चोरी भइसकेको रहेछ, अहिले सडक विभागबाट आएको बजेटले जग हालेर पुर्ननिर्माणको क्रममा जुटिएको छ’, रिजालले भने, ‘कालाधारा  पुननिर्माणको क्रममा रहेको छ । पार्टी पौवा, धारा र सार्वजनिक जग्गा खोजी गर्ने प्रमुख काम गरिरहेको छु ।’ 

यस्तै धूलो न्यूनीकरण अन्य स्थानको जस्तै १६ नम्बरमा ठूलो  चुनौतिको रुपमा रहेको भन्दै उनले त्यसका लागि महानगरले नै ब्रुमर किन्न पहल गरिरहेको बताउँदै यसमा ‘पब्लिक अवारनेस’ समेत हुनुपर्नेमा जोड दिए ।  

अहिले विभिन्न सेवाप्रदायक कम्पनीले विद्युतका खम्बामा टाँगेको तारले सहर नै कुरुप बनेको उनको भनाई थियो  । 

यस्तै विगतमा जस्तै वडाभित्र रहेका गरीब तथा जेहेन्दार विथार्थीलाई  विद्यालय शिक्षा र उच्च शिक्षाको व्यवस्था गर्न, रोजगारीको व्यवस्था गर्नलगायतका काममा आफूले निरन्तर सहयोग गर्ने   बताउँदै रिजालले विष्णुमति सफा बनाउने पनि आफ्नो सपना रहेको सुनाए । 

‘विष्णुमतिलार्इै राज्यले हेर्दैन । अधिकारसम्पन्न बागमतिमा अर्बौको लगानी भएपनि विष्णुमतिको लागि कुनै लगानी भएन’, उनले गुनासो गरे, ‘तरपनि विष्णुमतिको पानीको बाहव  स्वच्च बनाउन लागिपर्ने योजना छ ।’ यस्तै १६ नम्बर वडामै पर्ने नारायणकोट र म्हेपी जस्ता पर्यटकीय स्थलको संरक्षण र संवद्र्धनमा सक्रियतापूर्क लागिपर्ने पनि उनले योजना सुनाए । 

यसबाहेक सडक, पुल–कुलेसो, ढल निकासको व्यवस्थापना लगायतका काम गरी जनतालाई सबै किसिमको सेवा  सुविधा प्रदान गरी १६ नम्बरलाई नमुना वडा बनाउने आफ्नो चाहना रहेको उनले सुनाए । यसका लागि महानगरपालिकाका मेयर, वडाका टीम र कर्मचारीका साथै वडाभित्रका २६०० घरधुरी जनतासँग जनतासँग मिलेर लागिपर्ने उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप