शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प–पुटिनको भेटपछि अमेरिकामा जासुसीको आरोपमा रुसी महिला पक्राउ

मङ्गलबार, ०१ साउन २०७५, ०८ : ३२
मङ्गलबार, ०१ साउन २०७५

बीबीसी

अमेरिकी सरकारले २९ वर्षकी एक रुसी महिलालाई जासुसी गरेको आरोपमा पक्राउ गरेको छ ।

ती महिलालाई रुसी सरकारको एजेन्टको रुपमा राजनीतिक समूहमा घुसपेठको षड्यन्त्र रचेको आरोप लागेको छ ।

अमेरिकी मिडियाको रिपोर्ट अनुसार मारिया बुटिना नामकी यी महिलाले रिपब्लिकन पार्टीसँग नजिकिएकी थिइन् र बन्दुक राख्न पाउने अधिकारको वकालत गरिरहेकी थिइन् ।

यो मामला विशेष काउन्सल रोबर्ट मूलरद्वारा सन् २०१६ को राष्ट्रपति चुनावमा कथित रुसी हस्तक्षेपको अनुसन्धानभन्दा भिन्न छ ।

फिनल्याण्डको राजधानी हेलसिन्कीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीचको भेटघाटको केही समय पछि नै मारियाको गिरफ्तारीको खबर सार्वजनिक भएको हो ।

के हो आरोपः

मारिया बुटिना कथित रुपमा रुसी सरकारका उच्च अधिकारीको निर्देशनमा काम गरिरहेकी थिइन् ।

मारिया वासिङ्टनमा बस्छिन् र उनलाई आइतबार पक्राउ गरिएको थियो ।

डिपार्टमेन्ट अफ जस्टिसको तर्फबाट जारी बयान अनुसार बुधबार उनको मुद्दामा सुनुवाई हुनेछ र त्यति बेलासम्म उनी जेलमा नै बस्नेछिन् ।

एफबीआईका स्पेशल एजेन्ट केविन हेल्सनले सोमबार जारी गरेको बयान अनुसार मारियालाई ‘रुसी संघको हितलाई बढाउनका लागि अमेरिकी राजनीतिमा प्रभाव राख्ने अमेरिकीसँग नीजि सम्बन्धको प्रयोग’ गर्न निर्देशन दिइएको थियो ।

मारियाले आफ्ना गतिविधीको जानकारी अमेरिकी सरकारलाई दिएकी थिइनन् जबकी ‘फरेन इजेन्ट रजिस्ट्रेशन एक्ट’ अनुसार यस्तो गर्न आवश्यक छ ।

अमेरिकाको न्याय विभागले कुनै समूह वा राजनेताको नाम नलिई मारियाले ‘गन राइट्सको प्रचार गर्ने एक संगठन’ सँग नजिक हुन कोसिस गरेको बताएको छ ।

अमेरिकी मिडियाले यसअघि मारियाको सम्बन्ध अमेरिकाको सबैभन्दा शक्तिशाली गन लबी – नेशनल राइफल असोसिएसन (एनआरए) सँग भएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

मारिया बुटिना मूल रुपमा साइबेरियाकी हुन् र उनले अमेरिकी युनिभर्सिटीमा पढाईका लागि स्टुडेन्ट भिसामा अमेरिकामा आउनुअघि ‘राइट टु बेयर आर्म्स’ नामको समूह बनाएकी थिइन् ।

यसअघि मारियाले आफूमाथि रुसी सरकारसँग काम गरेको भन्ने आरोप खण्डन गरेकी थिइन् ।

द वासिङ्टन पोष्टका अनुसार मारिया रुसी बैंकर र पूर्व सिनेटर अलेग्जेन्डर टोर्सिनकी सहयोगी हुन् जसमाथि अमेरिकी ट्रेजरीले अप्रिलमा प्रतिबन्ध लगाएको थियो ।

टोर्शिन नेशनल राइफल असोसिएसनकी आजीवन सदस्य हुन् र मारिया अमेरिकामा सन् २०१४ देखि एनआरएको कार्यक्रममा भाग लिइरहेकी छिन् ।

मारियाले ट्रम्पको चुनाव प्रचार अभियानमा पनि भाग लिएकी थिइन् र कथित रुपमा रुससँग विदेशी नीतिमाथि ट्रम्पको विचार जान्न चाहेकी थिइन् ।

वासिङ्टन पोष्टका अनुसार त्यतिबेला ट्रम्पले जवाफ दिएका थिए, ‘हामी पुटिनसँग मिल्नेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप