शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाकालीमा घाट बनाउन ठेक्का सम्झौता

मङ्गलबार, ०१ साउन २०७५, ०९ : १७
मङ्गलबार, ०१ साउन २०७५

कञ्चनपुर - भीमदत्त नगरपालिका–१२ महाकाली तटीय क्षेत्र ऐरीमा दाहसंस्कारका लागि अन्त्येष्टिघाट बनाउने प्रक्रिया अगाडि बढेको छ । 

अन्त्येष्टि घाट बनाउनका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको छ । शनिदेव निर्माण सेवा कम्पनीसँग घाट निर्माणका लागि ठेक्का गरिएकाले असोज महिनादेखि कार्य शुरु हुने शहरी डिभिजन क्षेत्रीय कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताउनुभयो । सम्झौता भएदेखि डेढ वर्षमा कार्य सकिने घाटमा एकै पटक छवटासम्म शव जलाउन सकिने गरी डिजाइन तयार गरिएको छ । 

घाट महाकाली नदीमा बन्न लागेको छलेनको पुलको पूर्व भागसँग जोडिएको क्षेत्र भुजेलामा नदी र छलेनको बाटोको बिचमा निर्माण हुने बोहराले बताए । 

उहाँका अनुसार घाटमा वर्षायाममा पानी धेरै आउने भएकाले उक्त समयका लागि अग्लो स्थानमा जलाउने र हिउँदमा पानी कम हुने भएकाले सिँढीमार्फत तल गएर अलि गहिरो पानी भएको ठाउँमा जलाउन सकिने गरेर डिजाइन तयार पारिएकोले अब शव जलाउन तथा घाटको समस्या नहुने भएको छ । 

घाटको संरचना ५० मिटर लम्बाइ र २५ मिटर चौडाइमा रहने छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि रु चार करोड ५० लाखको ठेक्का आह्वान गरेको थियो । 

तीन वर्षसम्म सञ्चालन हुने सघन शहरी विकास कार्यक्रमअन्तर्गतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ । 

शाखाका इञ्जिनियर गोरखबहादुर सिंहले गुरुयोजना बनाएर अन्त्येष्टि घाट निर्माणका लागि ठेक्का गरिएको बताए । चारैतिर पर्खाल हुने घाटमा खुला र टिनका छाना भएका चारचार घर हुने गुरुयोजनामा उल्लेख गरिएको छ । यसैगरी, हरियाली, आवतजावत गर्ने बाटो, नदी रोक्न पर्खाललगायतका संरचना निर्माण गर्ने योजना छ । 

महाकाली परमधाम शान्तिघाट जिल्ला समितिका अध्यक्ष तारादत्त जोशीले घाट निर्माणका लागि ठेक्का सम्झौता गरिएपछि वर्षौंदेखिको सपना पूरा हुन लागेको बताए ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले शारदा ब्यारेज नजिक नदीमा दाहसंस्कारमा अवरोध गर्न थालेपछि जोशीलगायतले घाट निर्माणका लागि अभियान चलाएका थिए । 

घाट निर्माणका लागि ब्रह्मदेव, झोलुंगे पुल, ओदालीलगायतका अन्य स्थानलाई सम्भाव्य क्षेत्रका रुपमा हेरिएको थियो । घाट निर्माणको कार्यलाई नगरको गौरवको योजनाअन्तर्गत समेत राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप