बामदेव गौतमको मोर्चा : प्रतिविमर्श

person access_timeसाउन १, २०७४ chat_bubble_outline0

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले अन लाइन खबर र छापा पत्रिकामा यही एमाले र माओवादीसहितको वर्गीय मोर्चा बनाऔँ भन्ने शीर्षकको लेख प्रकाशित गर्नुभएको छ । त्यस लेखमा गौतमले एमाले पार्टीले असैद्धान्तिक संयुक्त मोर्चा बनाउँदा दीर्घकालमा देश नै महासङ्कटमा पर्ने उल्लेख गर्नुभएको देखिन्छ । उहाँको लेख स्थानीय निकायको निर्वाचनमा पार्टीले विभिन्न पार्टीहरूसित गरेको आपसी तालमेलको परोक्ष असहमतिमा केन्द्रित देखिन्छ । उक्त लेखको प्रतिवाद स्वरूप लेखिएको यस आलेखमा एमालेले यस विषयमा लिएको नीति र व्यवहारको सारसङ्क्षेप चर्चा गर्नु अपरिहार्य देखिन्छ । 


जनताको बहुदलीय जनवादले वर्गीय र राजनीतिक गरी दुई खालका संयुक्त मोर्चा निर्माण गर्ने मान्यता स्थापित गरेको छ । यस खालका मोर्चाहरू र तिनको परिचालन राष्ट्रिय स्थिति, समय, परिस्थिति र सन्दर्भलाई ख्याल गरेर गर्नुपर्ने मान्यता जबजमा निम्नानुसार उल्लेख गरिएको देखिन्छ । 


जबजले निर्देश गरेको वर्गीय संयुक्त मोर्चा सामन्तवाद साम्राज्यवाद विरोधी जनताको जनवादी क्रान्तिलाई सफल बनाउने उद्देश्यले निर्माण गरिने कुरा उल्लेख छ । साझा शत्रुका विरुद्ध अन्य सबै वर्ग, तह, पेसा र परिवेश भएका जनतालाई राष्ट्रिय रूपमा एकताबद्ध पारेर सङ्घर्ष गर्नु यसको उद्देश्य रहेको छ । यस्तो मोर्चा विशेषतः वर्गपक्षधर शक्ति, समूह र नेपाली कम्युनिस्टहरूका बीच हुन्छ । यस खालको मोर्चाले एकअर्का पार्टी, शक्ति र समूहका बीच मैत्रीपूर्ण भावना विकसित गर्न सक्छ र यसले भावी दिनमा बाम एकताको सम्भावनालाई पनि सहज बनाउन सक्छ । माक्र्सवादी लेनिनवादी मार्गदर्शनमा चल्ने देशी विदेशी पार्टीहरू, मोर्चा सङ्गठनहरू लगायत तमाम यस मोर्चाका मित्र शक्तिहरू हुन् । 
 
तात्कालिक उद्देश्य प्राप्तिका लागि गरिने यस मोर्चाको औचित्य र आवश्यकताका विषयमा जबजमा ०४६ सालमा प्राप्त उपलब्धि जोगाउने लक्ष किटान गरिएको देखिन्छ । ०५९ सालमा जबजमा वर्तमान राजनीतिक स्थितिमा दरबारद्वारा नेतृत्व गरिएको सामन्ती निरङ्कुशतावादी पुनरुत्थानवादको खतरा, आम जनता, जनवादी शक्ति र प्रजातान्त्रिक अधिकारको निम्ति साझा खतरा रहेको निष्कर्ष निकालेको थियो । त्यसबेला नै जबजमा वर्तमान सत्तापक्षका जनता, राष्ट्र र प्रजातान्त्रिक अधिकार विरोधी नीति तथा कामहरू आम जनताका तत्कालीन सङ्घर्षका साझा राजनीतिक निशाना हुन् भनिएको थियो । त्यसैले जबजमा तात्कालिक राजनीतिक संयुक्त मोर्चा निर्माणका आम जनता, जनवादी शक्तिहरू तथा देशभक्त र प्रजातान्त्रिक तत्वहरूलाई मित्रशक्तिका रूपमा किटानी गरिएको छ । राष्ट्रिय पुँजिपति वर्ग, धनी किसान, तथा समाजका देशभक्त प्रजातान्त्रिक तत्व एवं तहहरू पनि अस्थिर चरित्रका तर वर्तमानका क्रान्तिका मित्र नै हुन् भनेर जबजमा उल्लेख गरिएको छ । यसरी प्राप्त उपलब्धि खोस्न उद्यत शक्तिलाई एक्ल्याएर अग्रगमन गर्ने पवित्र उद्देश्यबाट यस्तो मोर्चा बनाउने एमाले मान्यता रहेको छ । 
 त्यसैले अहिले एमाले पार्टीले २०६३ सालमा प्राप्त उपलब्धि र संविधान निर्माण गरेपछि प्राप्त अधिकार जोगाउने उद्देश्यलाई सफल बनाउन राजनीतिक मोर्चा बनाउन सकिन्छ र यस्तो मोर्चा ओली नेतृत्वमा गठबन्धन सरकार बनाएर उपलब्धि पनि हासिल गरेको स्पष्टै छ । 

पूर्व माले पार्टीले तत्कालीन महासचिव मदन भण्डारीको अगुवाइमा ०४६ पूर्वबाम मोर्चा निर्माण गरी सफलता पनि पाएको देखिन्छ । यसपछि पनि आम निर्वाचनका समयमा बाम तालमेलको प्रयत्न नभएको होइन । यसका आफ्नै खालका अनुभवहरू रहेका छन् । त्यस अतिरिक्त तात्कालिक उद्देश्यका लागि संयुक्त सरकार र गठबन्धन सरकार निर्माण गरी राजनीतिक तालमेल पनि पार्टीले गरिआएको छ । तर यस खालको राजनीतिक संयुक्त मोर्चा निर्माणको उद्देश्य देश, जनता र लोकतन्त्र, गणतन्त्र, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रतासित सम्बन्धित हुनुपर्छ भन्ने मान्यता जबजको रहेको कुरा एमाले पार्टीको सातौँ राष्ट्रिय महाधिवेशन २०५९ को दस्तावेजमा उल्लेख गरिएको देखिन्छ । उक्त पार्टी दस्तावेजमा प्रजातन्त्र र जनअधिकारको रक्षा लागि प्रमुख प्रतिद्वन्द्वीसित समेत सहकार्य गरेको अनुभव हामीसित छ । अतः सरकारमा जानुको उद्देश्य र परिणाम देश, जनता र प्रजातन्त्रको पक्षमा प्रष्ट भएको अवस्थामा दक्षिणपन्थी चरित्रका पार्टीहरूसित पनि सहकार्य गरी सरकारका जान सकिन्छ । तर यसरी राजनीतिक संयुक्त मोर्चा निर्माण र परिचालन गर्दा विकृति र विसङ्गति भित्रिएलान् कि भनेर आत्तिने भन्दा चुनौतीहरूको सामना गर्नबाट पछि हटेर हुन्न भन्ने कुरा पनि उक्त दस्तावेजमा लेखिएको देखिन्छ । त्यसैले अहिले स्थानीय तहमा गरिएका चुनावी तालमेल अन्य पार्टीहरूले झैँ मात्र चुनावमा जित हासिल गर्नका लागि मात्र हो भन्ने भ्रमबाट सबै नेता र कार्यकर्ता मुक्त हुनुपर्छ र यस काममा दोमन नभई त्यसलाई क्रियान्वयन गर्न लागि पर्नुपथ्र्यो । त्यसमा भने कमजोरी रहेको देखिन्छ । माओले नै पनि सिद्धान्त सही भएर पनि कार्यान्वयन गरिएन भने उपलब्धि शून्य हुन्छ भनेका छन् । फरि यस खालका राजनीतिक संयुक्त मोर्चा भोलिका दिनमा पनि जरुरी मात्र होइन, अपरिहार्य हुन पनि सक्छ । 


 बामदेव गौतमले आफ्नो लेखमा नेपालका सबै कम्युनिस्ट पार्टीहरूका बीच आगामी माघ ७ गतेअघि नै सैद्धान्तिक संयुक्त मोर्चा बनाउनुपर्ने बताउनुभएको छ । गौतमद्वारा लिखित यस लेखमा आगामी दिनमा हुने प्रान्तीय र केन्द्रीय निर्वाचन अगावै साझा सहमतिको मोर्चा निर्माण गर्ने मात्र होइन, एमाले र माओवादी केन्द्रले एउटै चुनाव चिन्ह लिएर चुनावी तालमेलको मोर्चा बनाऔँ भन्ने रहेको छ । यस्तो मोर्चा माले, राष्ट्रिय जनमोर्चा, ने.म.कि.पा., नेकपा संयुक्तसमेत समावेश भएर बनाउनुपर्ने कुरामा गौतमले जाड दिनुभएको देखिन्छ । 


बामदेव गौतमले सिद्धान्त र विचार विपरीतका पार्टीहरूसित चुनावी तालमेल अनावश्यक ठहर गर्नुभएको छ । उहाँले विगत कालखण्डका अपवाद स्वरूप विशेष परिस्थितिका असैद्धान्तिक गठबन्धनलाई फेरि पनि मान्यता दिनु र यसलाई निरन्तरता दिनु अनुचित ठहर गर्नुभएको छ । गौतमले यसको उदाहरणमा विगत कालमा एमाले पार्टीले बनाएको संयुक्त सरकार सञ्चालनलाई उदाहरणका रूपमा उपस्थापित गर्नुभएको देखिन्छ । ०७४ सालको स्थानीय तहमा एमाले पार्टीले अन्य पार्टीहरूसित चुनाव केन्द्रित तालमेललाई गौतमले मन पराएको देखिन्न । उहाँले यस खालको गठबन्धन गर्दै जाने हो भने राजनीतिमा अनुशासनहीनता, अराजकता, विकृति र विसङ्गतिहरूले प्रश्रय पाउँछन् र राष्ट्रले ठूलो क्षति व्यहोर्नुपर्ने स्पष्ट पार्नुभएको देखिन्छ । 


संयुक्त राजनीतिक मोर्चा निर्माणको औचित्य सिद्ध गर्न गौतमले बेलायती संसदीय प्रणालीलाई विस्थापित गरी समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली भएको व्यवस्थापिका संसद् र प्रत्यक्ष निर्वाचित शक्तिशाली राष्ट्रपतीय शासन प्रणालीलाई समन्वयात्मक ढङ्गमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । यसो गर्न सकिएन भने राष्ट्रलाई महासङ्कटबाट जोगाउन नसकिने किटानी जाहेरी गौतमले लेखमा गर्नुभएको छ । आसन्न उक्त महासङ्कट समाधान गर्दै मुलुकको शान्ति, समुन्नति र समृद्धि गर्नका लागि वर्गीय संयुक्त मोर्चा निर्माण अपरिहार्य रहेको गौतम लेखको निष्कर्ष देखिन्छ । 


गौतमले अघि सारेको वर्गीय संयुक्त सैद्धान्तिक मोर्चाको प्रस्ताव छलफल, विमर्श र सहजतापरक देखिँदैन । गौतमको यो प्रस्ताव हो कि उहाँको निर्णय र निर्देशन हो ? उहाँले राखेको मोर्चा अवधारणाका सबै विकल्पहरू खुला गर्नुभएको देखिन्न । नेपाल जस्तो मुलुकमा राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये कसलाई कार्यकारी बनाउने विषय नै एउटा गम्भीर छलफलको विषय हो । गौतमको प्रस्तावले अहिले देश र जनताले भोगेका सङ्गीन समस्याहरू सुस्पष्ट रूपमा खुलस्त गरेको पाइँदैन । प्रस्तावमा अतिसूक्ष्म रूपमा नेपालको वर्तमान राजनीतिक सङ्गीन परिस्थिति सङ्केतित गरेको देखिन्छ । तर वर्तमान राजनीतिक परिदृश्यहरूलाई सत्यतथ्य रूपमा अघि सार्न सकिएको भए त्यस आधारमा के–कस्तो संयुक्त मोर्चा बनाउन सकिन्छ भन्ने अझ स्पष्ट हुने थियो । ६० प्रतिशत कम्युनिस्टहरू भएको अवस्थामा वर्तमानको राष्ट्रिय सङ्गीन सवालमा एकताबद्ध नहुनु उदेकको विषय हो । अहिले ०६३ सालमा प्राप्त उपलब्धिहरू र संविधान निर्माण र यसलाई लागू गराई यथाशीघ्र सङ्क्रमण काल समाप्त पार्ने दिशामा पर्याप्त समस्याहरू छन् । यसमा अझ दक्षिण छिमेकबाट बाह्य र आन्तरिक अनेक कृत्रिम विवाद उठाएर र उल्झाएर देशको स्वाधीनता, अखण्डताविरोधी काम हुने सम्भावना देखिन्छ । जबजले ०४९ सालमा नै राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय आत्मनिर्भरताका निम्ति नवउपनिवेशी शोषणबाट मुक्त हुने स्वाधीनताको सङ्घर्ष अझै जारी रहेको उल्लेख गरिएको स्थिति अहिले झन् टड्कारो बनिरहेको देखिन्छ । त्यसैले सम्भव भएसम्म वर्गीय वा राजनीतिक संयुक्त मोर्चा बनाएर अग्रगमनलाई सहज बनाउनु अपरिहार्य देखिन्छ । त्यसैले यस खालको बहस सामयिक तथा सान्दर्भिक देखिन्छ । यस खालका सबालमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भने सैद्धान्तिक मोर्चाका बारेमा सकारात्मक हुनसक्ने देखिन्छ तर पार्टीको प्रमुख नेतृत्व त्यस बारेमा आन्तरिक मन र मतिले सकारात्मक हुने सम्भावना देखिँदैन । पुष्पकमल दाहाललाई अन्तर्राष्ट्रिय अदालत हेगको डर देखाएर भारतीय पक्षले बेलाबेला उपयोग गरिरहेको देखिन्छ । त्यसमा पनि दाहालले भारतसित गोप्य बोलकबोल के–के गरेका छन् ? त्यसबाट उम्किन निक्कै गाह्रो होला । राजनीतिक र वर्गीय संयुक्त मोर्चा बनाउने कुरा दुई पक्षीय वा बहुपक्षीय सहमतिमा हुने कुरा हो । यस कुरालाई सबै हिसाबले अन्य पार्टीहरूसित छलफलमा लानुपर्ने र यसको औचित्य पुष्टि गर्नु पनि अपरिहार्य हुन्छ । त्यसमा पनि सत्तासीन पार्टी यथास्थितिका लागि तदनुसारका पार्टी र शक्ति र समूहहरूसित संयुक्त मोर्चामा आबद्ध छन् । तर जबजमा साझा राजनीतिक सबालमा सम्भव शक्तिहरूलाई उचित ढङ्गले एकताबद्ध बनाउन प्रयत्न नगर्ने अलगाववादी दृष्टिकोण र अरूसँग एकताबद्ध नभई अघि बढ्न सकिन्न भन्ने परावलम्बी दृष्टिकोणलाई गलत ठहर गरिएको छ भने आफ्नो स्वतन्त्र शक्तिलाई बलियो बनाउन प्रयत्न नगर्ने दृष्टिकोण गलत दृष्टिकोण रहेको पनि जबजमा उल्लेख गरिएको पाइन्छ । तर अहिले स्थानीय तहका दुवै निर्वाचनमा सबै खालका प्रतिकूताका बीच अभूतपूर्व रूपमा पार्टी प्रथम तथा सशक्त स्थानमा आएको हुँदा यस ठाउँमा रहेर संयुक्त मोर्चा बारे पर्याप्त छलफल र बहस गर्न सकिन्छ । यस पालिको निर्वाचनमा पहिले पूरै ढलेका ठाउँहरूमा एमाले पार्टी धुलो टक्टक्याउँदै दह्रो रूपमा उठेको छ । 


नेकपा एमाले यो मुलुकको अग्रगतिको कारक शक्ति हो । यसले मुलुकका धेरै समस्याहरूको समाधान गरेको देखिन्छ, बामदेव गौतमले उठाएका विषयहरूमा छलफल गर्नुपर्छ तर एक हातले ताली बज्दैन । एमाले विरुद्धको भित्री र बाहिरी ठूलो चलखेलविरुद्ध पहिले एमाले उपल्लो नेतृत्व मण्डली खोटरहित भएर सामूहिक भावनाका साथ ठिङ्ङ उभिनुपर्छ । आफ्नै पार्टी नेतृत्वको सरकार गिराउन गोप्य कोठामा स्वस्थानी गर्ने गम्भीर मनोरोग हट्नुपर्छ । पार्टीको पदीय तथा अत्यन्त प्रभावकारी शीर्ष नेतृत्व पार्टीको टाउको हो । यसैलाई लतारेर र खसालेर किमार्थ उठ्न सकिन्न । तालमेलको मसी सुक्न नपाउँदै अन्यथा सोचले सुनिश्चित परिणाम ल्याउँदैन । सही सिद्धान्त र विचार भए पनि त्यसलाई कार्यान्वयन गर्नमा राम्रो मिहेनत गरिएका भने परिणाम फुस्सा हुन्छ । अहिले भएको त्यही हो । पार्टीको अगुवाइमा यस खालका मोर्चा बनाउनु कुनै आपत्तिको विषय नै होइन, तर यस विषयमा निर्णय गरेपछि त्यसलाई कार्यान्वयन गर्न नेतृत्व एक ढिक्का हुनुपर्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ