बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘त्यो श्रीमान्–श्रीमतीबीचको लभ सीन थियो, त्यसमा म लज्जित छैन’

बुधबार, ०२ साउन २०७५, १२ : ०६
बुधबार, ०२ साउन २०७५

दिव्या आर्य / बीबीसी

एक महिलाले आफ्नो ब्लाउजको बटन खोलिन् र उनको पूरा छाती देखियो । त्यसपछि उनले एक पुरुषसँग यौन सम्बन्ध स्थापित गरिन् र  छाती खुल्ला राखेर उनी नजिकै सुतिन् ।

जम्मा ३०–४० सेकेन्डको यो भिडियो ह्वाट्सएपमार्फत भाइरल भयो र ती महिलालाई पोर्न स्टार भन्न थालियो ।

युट्युबमा उक्त सीनबाहेक त्यसको १० सेकेन्डको स–सानो क्लिप अपलोड भए जुन हज्जारौं पटक हेरिसकिएको छ ।

यहाँसम्म कि उक्त भिडियो घुमेर ती नायिकाका आफन्तसम्म पनि आइपुग्यो । यो सार्वजनिक रुपमा बाँडिएको छ भन्ने जानकारी दिन ।

यो पोर्न भिडियो होइन । यो सीन ‘नेटफ्लिक्स’ मा रिलिज भएको सिरिज ‘सेक्रेड गेम्स’ मा एउटा निकै विशेष मोडमा आउँछ ।

सिरिजमा श्रीमानको भूमिकामा नवाजुद्दिन सिद्दिकी र श्रीमतीको भूमिकामा राजश्री देशपान्डेका बीच सम्बन्ध निकै असहज रहन्छ । नवाजुद्दिनको पात्र बेडमा लगभग ‘हिंस्रक’ रुप लिने गर्दछ ।

तर स्थितीमा परिवर्तन आउँछ र दुबैबीच प्रेम पलाउन थाल्छ । यो दृश्यले त्यही परिवर्तन देखाउँछ । यसमा उनीहरु निकै प्रेमपूर्ण तरिकाले एक अर्कासँग नजिक हुन्छन् ।

तर उक्त दृश्यबाट कहानी निकाल्ने हो भने त्यही मात्र बाँकी रहन्छ । खुल्ला छाती र सेक्स ।

‘मलाई लाज लगेन’

राजश्रीको फोनमा, कहानीको सन्दर्भ नबुझी, उनकै त्यो केही सेकेन्डको भिडियो जब आफन्तले पठाए तब उनलाई निकै नराम्रो लाग्यो ।

राजश्री भन्छिन्, ‘मलाई असाध्यै नराम्रो लाग्यो । मलाई लाज लागेन, नराम्रो लाग्यो । म किन लज्जित होऊँ ।’

उनलाई आफ्नो भूमिका र कहानीमा त्यो भूमिकाको यो दृश्यको आवश्यकतामाथि पूर्ण विश्वास थियो ।

विश्वास थियो कि उनले केही गलत गरेकी छैनन् । महिलालाई वस्तु जसरी देखाइएन ।

उनको शरिरको विभिन्न हिस्सामा क्यामरा ‘जूम’ भएन ।

दोहोरो अर्थ लाग्ने भद्दा शब्द भएका गीत प्रयोग गरिएनन् ।

महिलालाई असभ्य चित्रण गरिएन ।

मात्र सिधा तरिकाले श्रीमान् श्रीमतीको प्रेम प्रसंग देखाइयो ।

राजश्री भन्छिन्, ‘मलाई राम्रोसँग थाहा छ, शरिर देखाउने स्वतन्त्रतालाई जिम्मेवार तरिकाले प्रयोग गर्नुपर्छ । मेरो नियत ठिक थियो । मैले केही गलत गरेकी छैन ।’

तर राजश्रीलाई नराम्रो लाग्यो । उनको भिडियोलाई पोर्नको रुपमा हेरिएका कारण मात्र नभई त्यसलाई मानिसहरुबीच साझा गरिएका कारण उनी दुःखी छिन् ।  

भाइरल त धेरैकुरा हुन्छन् । कसैले आँखा झिम्काएको पनि भाइरल हुनसक्छ ।

तर यो भिडियो अलग हो । ३०–४० सेकेन्डको सीनको एउटा हिस्सालाई रोकेर त्यसको सानो भिडियो र तस्बिर बनाएर बाँडिदैछ ।

हेर्नेहरुलाई के भन्ने ?

राजश्री भन्छिन्, ‘यदि यस्ता सामग्री तपाईंसम्म आइपुगे तपाईंले त्यसलाई के गर्ने भन्ने सोच्नुपर्छ । प्रविधी एउटा हतियार हो, यसको प्रयोग मार्नका लागि हुनसक्छ र कसैलाई बचाउनका लागि पनि ।

फिल्म र टेलिभिजन सिरियलमा महिलाको शरिरलाई खुल्ला तरिकाले देखाउने गरिन्छ ।

कहिले यो कहानीको लागि आवश्यक हुन्छ त कहिले अनावश्यक रुपमा । तर सधैं यसलाई धेरै नै देखाइन्छ ।

पोर्न जस्तै । सन्दर्भ बिना । इन्टरनेटमा स–साना क्लिपमा काटेर ।

बिडम्बना यो छ कि हेर्नेहरुलाई कसैले पनि प्रश्न गर्दैनन् ।

तर यो हेर्नेहरु, रस लिनेहरु, आनन्द महसुस गर्नेहरु ती महिलालाई पोर्न स्टार मान्न र भन्न अलिकति पनि ढिला गर्दैनन् ।

‘ऐंग्री इंन्डियन गडेसेस’ र ‘एस दुर्गा’ मा अभिनय गरिसकेकी राजश्री देशपान्डे, ठूलो पर्दाको आफ्ना यी भूमिकाजस्तै, वास्तविक जीवनमा पनि चुप लागेर बस्ने जमातमा पर्दिनन् ।

राजश्री भन्छिन्, ‘बोल्न आवश्यक छ, तब मात्र परिवर्तनको आशा राख्न सकिन्छ । पाँचजनाले मात्र आफ्नो सोच परिवर्तन गरे यो ठूलो उपलब्धि हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप