शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवलपरासीमा तीन ठूला खानेपानी आयोजना सम्पन्न

बुधबार, ०२ साउन २०७५, १४ : २७
बुधबार, ०२ साउन २०७५

नवलपरासी– पूर्वी र पश्चिम गरी दुबै जिल्ला नवलपरासीमा ठूला तीन वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा दुईवटा र पश्चिम नवलपरासीको दक्षिणी ग्रामीण क्षेत्रमा एउटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका हुन् । 

क्रमागत रुपमा वर्षनी प्राप्त बजेट अनुसार ती ठूला खानेपानी आयोजना बल्ल आएर सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीका प्रमुख पूर्णबहादुर ज्हारचनले जानकारी दिए । 

समग्रतामा तीनवटै खानेपानी आयोजना निर्माण सम्पन्न भएकाले ती खानेपानी आयोजना निर्माण भएको आसपासका क्षेत्रमा खानेपानीका लागि निकै सहजता हुने विश्वास लिइएको प्रमुख ज्हारचनको भनाइ छ । 

आर्थिक वर्ष ०६५/६६ बाट शुरु भएको पश्चिम नवलपरासीको प्रतापपुरस्थित ग्रामीण क्षेत्रको जनसेवा खानेपानी आयोजना रु कूल चार करोड ६० लाख ७८ हजारमा लागतमा सम्पन्न भएको छ । 

सो खानेपानी आयोजनाबाट करिब आठ हजार ७२६ जनसंख्या लाभान्वित हुनेछन् । सो खानेपानी आयोजना यस गाउँपालिकाको विकासका लागि महत्पूर्ण रहेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । 

यसैगरी पूर्वी नवलपरासी जिल्लाको विकट पहाडी क्षेत्र बुङदीकाली गाउँपालिकामा मिथुकरम खानेपानी आयोजना साथै बुलिङटार गाउँपालिका–५ र बुङ्दीकाली गाउँपालिका–५ लाई लक्षित गरी जौबारी खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । 

पहाडी क्षेत्रमा स्थापना भएका यी दुबै खानेपानी आयोजनाले पहाडी क्षेत्रमा खानेपानी समस्याबारे केही हदसम्म समाधान हुने र अझै धैरे आयोजना आवश्यक रहेको यस क्षेत्रका प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिनुभयो । 

आर्थिक वर्ष ०६६/६६ बाट शुरु भएको पूर्वी नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा अवस्थित मिथुकरम खानेपानी आयोजना रु कूल दुई करोड लागतमा निर्माण भएको छ । सो खानेपानी आयोजनाबाट यस क्षेत्रका करीब चार हजार जनसंख्या लाभान्वित हुनेछन् । 

यसैगरी बुङ्दीकाली गाउँपालिका–५ र बुलिङ्टार गाउँपालिका– ५ मा अवस्थित जौबारी खानेपानी आयोजना रु तीन करोड दुई लाखमा निर्माण सम्पन्न भएको हो । सो खानेपानी आयोजनाबाट यस क्षेत्रका करीब आठ हजार पाँच सय जनसंख्या लाभान्वित हुने छन् । 

पहाडी क्षेत्रमा खानेपानी लिन घण्टौं हिँड्नुपर्ने सबैभन्दा ठूलो समस्या भएकाले यो आयोजनाले केही समस्या समाधान भए पनि पहाडी क्षेत्रमा खानेपानी विस्तारका लागि सरकारले विशेष योजना ल्याउनु पर्ने बुलिङ्टार गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले बताए । 

पछिल्लो पटक तीन वटा ठूला खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानीको क्षेत्रमा नवलपरासी जिल्लाले फड्को मार्दै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप