बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्वतमा पहिरोमा पुरिएर २६ वर्षीय युवकको मृत्यु, तीन घाइते

बुधबार, ०२ साउन २०७५, १५ : २०
बुधबार, ०२ साउन २०७५

फलेवास– गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी बमबहादुर परियारको एक तले कच्ची घर माथिबाट आएको पहिरोले बगाएको थियो । 

अबिरल वर्षाकै कारण उक्त गाउँका १५ घरमा पनि क्षति पुगेको छ । अहिले उनीहरुलाई बस्ती नजिकै रहेको फर्से धाइरिङ माविमा सुरक्षित साथ राखिएको छ । पीडित परिवारलाई तत्काल खान र बस्नका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले राहत वितरण गरेको छ । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मृतक परियारको परिवारलाई तत्काल राहतस्वरुप रु एक लाख हस्तान्तरण गरे । 

वर्षाकै कारण जलजला गाउँपालिका–७ धाइरिङ बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोले पुरिँदा तीन जना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा घरमुलि भीमलाल आचार्य, तुलसीदेवी आचार्य र नारायणी आचार्य रहेका छन् । उनीहरुको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा लगिएको छ । उनीहरुको टाउको, ढाड र हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

त्यस्तै सोही स्थानमा रहेको लस्ती खोलाको किनारमा रहेका पाँच घरका वासिन्दा खोलाको कटानका कारण विस्थापित बनेका छन् । 

अवरुद्ध बेनी–मालढुंगा सडक सुचारु 

गएरातिदेखिको अबिरल वर्षाका कारण अवरुद्ध बनेको पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक केहीबेर अघिदेखि सुचारु भएको छ । 

अबिरल वर्षाका कारण जलजला गाउँपालिका–८ लस्तीमा रहेका सारंगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय बागलुङ, सुरक्षाकर्मी र यातायात व्यवसायीको पहलमा सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै सडकमा गुडिरहेको ध १ ज ५४२ नं को एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पुर्याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुसल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिए । 

ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो ।    सडक अवरुद्ध हुँदा अलपत्र परेका म्याग्दीको बेनी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप