माओवादी बैठकबाट के अपेक्षा गर्ने ?

person access_timeसाउन १, २०७४ chat_bubble_outline0
SHARES

कम्युनिस्ट पार्टीको आत्मा भनेको माक्सवाद हो । माक्सले संसार बदल्न चाहनेहरू पहिला आफै बदलिनुपर्छ भन्छन् । माक्सवादी विश्व दृष्टिकोणसहित संसार बदल्न हिँड्नेहरूको सङ्गठन कम्युनिस्ट पार्टी हो । असल र राम्रा मान्छेहरू यही कम्युनिस्ट पार्टीमा हुन्छन् भनेर अहिले पनि नेपाली जनताको ठूलो हिस्साले कम्युनिस्ट पार्टीहरूलाई माया र भरोसा गरेका छन् । लेलिनले समाजवादी चेतना ग्रहण नगरेकाहरू क्रान्तिकारी बन्न सक्दैनन् भन्दै उनले कम्युनिस्ट पार्टीलाई सर्वाहारा वर्गको सचेत र सङ्गठित अग्र दस्ताका रूपमा व्याख्या गरे । उनले यो अग्रदस्ता सञ्चालन गर्ने विधि पनि पत्ता लगाए । जसलाई जनवादी कन्द्रीयताको नामले चिनिन्छ । जनवादी केन्द्रीयताको नियम अनुसार सर्वहारा वर्गीय दृष्टिकोणका आधारमा पाटी र क्रान्तिका हरेक सवालमा पाटीभित्र पर्याप्त छलफल गरेर निष्कर्ष निकाल्नु सर्वहारा जनवादको अभ्यास हो । यस प्रकारको अभ्यासमा पार्टीभित्रका सबैको ज्ञान र अनुभूतिको केन्द्रीकरण हुन्छ । यसरी निकालिएको निष्कर्षले नै पाटीलाई सही ढङ्गबाट अगाडि बढाउन भूमिका खेल्दछ । यसै सन्दर्भमा लामो समयपछि बहुप्रतिक्षित माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित श्रावण २ गते हुन गइरहेको छ । स्थानीय तहको निर्वाचनलगायत पार्टीका अन्य समस्याको बारेमा यो बैठकले पार्टी पङ्क्तिलाई मात्र होइन, देश दुनियाँका प्रतीक्षालाई समेत सटिक जवाफ दिने छ भन्ने चिन्ता र चासो लागेर सामान्य कार्यकर्ताको हैसियतले यो आलेख तयार पारिएको हो । 


निश्चित रूपमा माओवादी पाटी जनयुद्धमार्फत युगान्तकारी परिवर्तको नेतृत्वको गरेर आएको पार्टी हो । यो पार्टीले उठाएका राजनीतिक एजेन्डाहरू नेपाली राष्ट्रिय राजनीतिका मूल आधार बनेका छन् । यिनै एजेन्डालाई संस्थागत गर्न आफ्नै नेतृत्वमा गरिएको निर्वाचनमा परिणाम अपेक्षाकृत आउन सकेन बरु विगतमा यी एजेन्डाका विरुद्धमा रुजान राख्नेहरू अहिले निर्वाचन मार्फत् उदाइरहेका छन् । तथापि निर्वाचनको परिणाम जे आए पनि यसलाई आत्मसाथ गर्दै आफूभित्रका कमजोरीहरू खोतल्न यो बैठक बोलाइएको हुनुपर्छ । कसैले स्वीकार गरोस् वा नगरोस् माओवादी आन्दोलनको उपहार वर्तमान परिवर्तन हो । यसलाई संस्थागत गर्ने कार्यको अगुवाइ माओवादी र यसका अध्यक्ष क. प्रचण्डबाट सुरुवात भयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिलाई सन्तुलनमा लिएर २०औँ वर्ष पछि हुने भनिएको निर्वाचनको प्रतिकूल वातावरणलाई अनुकूल वातावरण बनाएर निर्वाचनको रथ हाँकेर माओवादीले समग्र राष्ट्रिय राजनीतिको मिओ बन्ने अवसर प्राप्त गर्यो । तर निर्वाचनको परिणम भने नेपाली कम्युनिस्ट आन्दोलनको आवरणमा रहेको दक्षिण पन्थी संशोधनवादलाई जनस्तरमा हावि बनाएको छ । यो चुनौतीपूर्ण नयाँ परिवेशमा हुन गएको माओवादी वैठकले दक्षिण पन्थी संशोधनवाद र विर्षजनवादका विरुद्ध नयाँ उचाइमा वैचारिक सङ्घर्ष उठान गर्नेछ । यद्यपि यो प्रवृत्ति पार्टीभित्र पनि जबर्जस्त हुर्कन र मौलाउने जमर्को गरिरहेको छ । माओवादीका लागि अर्को चुनौती हो । खासगरी शान्ति प्रकृयामा आएपछि पार्टीमा देखा परेका यस प्रकारका विजातीय प्रवृत्तिका विरुद्ध पार्टीभित्रको वैचारिक सङ्र्घष शून्य जस्तो देखिन्छ । यसका विरुद्ध जुध्नेभन्दा पनि ढाकछोप गर्नका लागि लेलिन र माओको पार्टीमा समेत खु«स्चेभ र तेङ जन्मेको उदाहरण पेश गर्ने गरिन्छ । यी समग्र भित्री र बाहिरी राजनीतिक वैचारिक सङ्र्घषमा माओवादीले आफूलाई कसरी प्रस्तुत गर्छ, यसैबाट यसको भविष्या निर्धारण हुनेछ ।      


यो निर्वाचनमा रोल्पा जस्तो जनयुद्धको आधारभूमि र राष्ट्रिय राजनीति र सत्तामा निरन्तर प्रभाव जमाइरहेका नेताहरू भएको जिल्लामा समेत स्थिति उत्साहाजनक रहन सकेन । देशव्यापि रूपमा करिब २२ जिल्लामा पार्टीको उपस्थिता शून्य रहन जानुले समग्र पार्टीको भविष्यप्रति गम्भीर प्रश्नचिन्ह खडा हुन पुगेको छ । यो निर्वाचनमा माओवादीको पक्षमा देखिएको कमजोर परिणमको बारेमा सही निष्कर्ष निकालेर जनताको बीचमा नजाने हो भने टिकट भविष्यमा हुन गइरहेको प्रदेश र केन्द्रका निर्वाचनमा पाटीको अवस्था होला सहजै अनुभान गर्न सकिन्छ । त्यसैले श्रावण २ गते हुने माओवादीको बैठक माओवादी आन्दोलनकै लागि कोसे ढुङ्गा बन्न सक्नुपर्छ । त्यसका लागि निर्मम समीक्षा गर्दै पार्टीभित्र मौलाएको दण्डहीनता र अराजकता र जिम्मेवारी बहन नगर्ने तर नेता बनिरहन पर्ने जस्ता प्रवृत्तिविरुद्ध ठोस कदम चाल्न आवश्यक छ । यसो गर्न सकिएन भने बैठक बैठक लागि मात्र हुने छ ।  


भनिन्छ क्रान्तिकारी सिद्धान्तविना क्रान्तिकारी आन्दोलन हुन सक्दैन । यदि त्यसो हो भने सिद्धान्त र राजनीतिलाई सोझ्याएर अगाडि बढ्ने आँट गर्नुपर्छ । एउटै निर्वाचन हार्नु वा जित्नुले कम्युनिस्ट पार्टीको भविष्यको फैसला हुँदैने । यो निवार्चनमा माओवादीको पक्षमा जुन कमजोर परिणाम देखापर्यो त्यसका पछाडिका कारणहरू केके रहे ? को–कसको भूमिका के–के रहे ? यस विषयमा निर्मम समीक्षासहित ठोस योजनाका साथ जनताको बीचमा जाने हिम्मत माओवादीले गर्नै पर्दछ । त्यसका लागि यो बैठकले निम्न कुराहरूलाई सच्याएर अगाडि बढ्ने आट गर्नै पर्दछ । 


१.     पार्टी विभाजित भएर विभिन्न समुहमा रहेका पूर्व माओवादीहरूले जनयुद्ध परित्यापग गरेको, जनसेना विघटन गरी संसदीय व्यवस्थालाई स्वीकार गरेकाले माओवादी केन्द्र र काँग्रेस, एमालेमा कुनै फरक छैन भन्ने वैचारिक आरोप लगाउँदै छुट्टै पसल राखेका ती सबै समूह यो निर्वाचनमा यो वा त्यो रूपमा सहभागी भएकाले उनीहरूको त्यो आरोप आफै खण्डित हुन पुगेको छ । यो निर्वाचनमा माओवादी केन्द्रलाई हराउन र कमजोर बनाउन ती समूहले कोकोसँग विजातीय सम्बन्ध राखे, त्यो छलङ्र्ग छ । यी समूह प्रचण्डलाई कमजोर बनाउन पर्याप्त भए पनि माओवादी आन्दोलनको साख र गरिमा बचाउने काम प्रचण्डबाट मात्रै सम्भव भएको कुरा निर्वाचनले प्रमाणित गरेको छ । यी समूहहरूका तथ्यहीन आरोपहरूलाई वैचारिक रूपमै खण्डन गरेर अगाडि बढ्ने योजना र टिम यो बैठकले निर्माण गर्न आवश्यक छ । विगत केही समयदेखि हाम्रो पार्टीमा वैचारिक काम ओझेलमा पर्दै गएको छ । जसका कारण पार्टीभित्र विस्तारै गुट उपगुटहरू हावि हुन खोज्दैछन् । यसलाई तत्काल नियन्त्रण गर्नुपर्दछ ।  


२.     परम्परागत संसदवादी दलहरूका विकल्पमा माओवादीको आवश्यकता र त्यसको मौलिक उपस्थित र औचित्यलाई कायम राखेर अगाडि बढ्नका लागि पार्टीले नयाँ कार्य योजना अगाडि ल्याउन आवश्यक छ । अन्यथा काङ्ग्रेस वा एमालेमध्ये कुनै एकको पुच्छर मात्र बन्ने सोच्न राख्ने हो भने तेस्रो संसदवादी दलको कुनै औचित्य हुने छैन । पार्टीमा काम र जिम्मेवारी दिएर मूल्याङ्कन नगरी सबैलाई पद दिएर खुसी बनाउने परिपाटीले सङ्गठन केन्द्रमुखी, नेतामुखी बनिरहेको छ । नेताको चाकडी गरे पार्टीका पद र लाभका पद सबै पाइने कमाउधन्दा पनि चलिरहने भएपछि गाउँतिर जाने सङ्गठन गर्ने परिपाटी बन्द हुनु स्वाभाविक छ । पार्टीमा गल्ती गर्नेहरूलाई दण्ड सजायको व्यवस्था अहिले कथा जस्तो भएको छ । गल्ती गर्नेहरू बढुवा भइरहेका छन् । त्यसो नहुँदो हो त ०७१ को बाग्लुङमा सम्पन्न संविधान सभा उपनिर्वाचनमा पार्टी केन्द्रबाट टिकट लिएर उम्मेदवार बनेका नेताजीहरू नक्कली बिमारी बनी निर्वाचनबाट भागेर आम जिल्लालाई निरास बनाउने काम भयो जिल्ला पार्टीले त्यस्ता नेतालाई कारवाहीको सिफारिस गर्दासमेत केन्द्रमा उनी बढुवामा परे अहिलेको स्थानीय निर्वाचनमा ती नेताजी जिल्लामा फर्कने आँट गरेनन् । अब यस्तै खाले नेता राखेर गर्ने समीक्षा बैठकले के परिणाम देला ? यसलाई उल्टाउन आवश्यक छ कि छैन ? 


३.     यो चुनावमा नेताहरू अधिकांश केन्द्रीय नेताहरू मुकदर्शक बनेको पाइयो । कतिपय नेताहरूलाई अतिथि बनाएर जिल्लामा बोलाउन पर्यो भने उनीहरूमा पावर र पहँुच पुर्याउनुपर्ने महसुस भयो । सरकार प्रमुख र पार्टी प्रमुखका हैसियतले अध्यक्ष प्रचण्डको कुदाइ एक्लो महसुस हुन्थ्यो । केन्द्रीयस्तरका प्रभावशाली नेताको उपस्थिति हस्तक्षपकारी देखिएन् । आर्थिक व्यवस्थापन पनि नेताका नजिकका व्यक्ति र उनीहरूको भूगोल र स्वार्थसँग जोडिएको ठाउँमा मात्र सीमित रह्यो । आर्थिक अभाव र पार्टीको उचित रेखदेखको अभावमा उम्मेदवारको मनोबल कमजोर बन्न पुग्यो । कतिपय नेताहरू आफ्नो परिवारका सदस्यलाई उम्मेदवार बनाएर जिताउन लागे । पाटी सङ्गठनलाई वर्गसत्रुको हातमा थमाएर जसरी पनि आफ्नो परिवारले जित्न पर्ने मनोरोग नेताहरूमा देखा पर्यो । बागलुङमा भर्खर मात्र जिल्ला इन्चार्जको जिम्मा लिएर गएका लीला थापाले उनको आफ्नो गाउँपालिकामा छोरालाई काङ्ग्रेसबाट उम्मेदवार बनाएर नेपाली काङ्ग्रेससँग आत्म सर्मपण गरे । उनले त्यो गाउँपालिकामा माओवादीबाट उम्मेदवार बन्न तयार भएका कार्यकर्तालाई  टिकटबाट वञ्चित गरी चुनाव लड्नबाट रोके ।  पार्टीले निर्णय गरी उक्त गाउँपालिकामा पठाएका टिकटहरू जफत गरी त्यस गाउँपालिकामा माओवादीबाट एक जना पनि उम्मेदवार हुन सकेन् र कतिपय स्वतन्त्र लड्न बाध्य भए । यी सबै आपराधिक क्रियाकलापलाई समयमै पार्टी केन्द्रदेखि प्रदेशसम्म जानकारी गराइयो । तर त्यस बारेमा पार्टीले तत्काल कुनै निर्णय गर्न सकेन जिल्लामा सम्मपन्न निर्वाचन समीक्षा बैठकमा उनको बारेमा व्यापक विरोध भयो । श्रावण २ गते हुन गइरहेको केन्द्रीय सचिवालयसहितको विस्तारित वैठकमा त्यस्ता इन्र्चाजलाई बोलाएर कस्तो रिपोर्टिङ र समीक्षा होला वा त्यस्तालाई कारवाही ? यो बैठकले यसबारेमा कस्तो निर्णय गर्ला, प्रतीक्षाको विषय हो । आफ्नो अपराधमा आफै न्यायाधीश बन्न खोज्नेहरूलाई न्याय गर्ने ठाउँमा आमन्त्रित गरेर न्याय मार्ने काम नगरियोस् । उनीहरूलाई दण्डको व्यवस्था गरेर कार्यकर्तामा उत्साहित बनाउँदै जनतालाई माओवादीले न्याय गर्यो है भन्ने सन्देश दिनसक्नुपर्दछ । पार्टी नीतिविपरि चल्ने र आफूखुसी गर्न जो कोहीलाई पनि दण्डित गरी पार्टी विधिमा चलाउने आँट गर्नु पर्छ । लेलिनले भने कुनै पनि राजनीति पार्टी आफ्नो व्यथाको वास्तविक नाम बताउने आँट गर्दैन भने उसले रोगको उपचारको विधि पनि भेटाउन सक्दैन त्यतिबेला पार्टी आदारको पात्र मात्र हुनेछ । हामीभित्र सिद्धान्त राजनीति र साङ्गठनिक आचरणबीच गम्भीर अन्तर्विरोध देखापरिरहेको छ । यसलाई जनता र कार्यकर्ताले सहज रूपमा पचाउन सकिरहेका छैनन् । त्यसको परणाम अहिले हामीले भोगिरहेका छौँ ।


आशा गरौँ यो वैठकले माओवादीको भाव र आदर्श अभिव्यक्त हुने खालको निर्णयसहित पार्टीमा पलाएका झारपात गोड्मेल गर्न सफल होस् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ