बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङमा सर्पदंशबाट पाँचको मृत्यु, प्रभावकारी छैनन् उपचार केन्द्र

बिहीबार, ०३ साउन २०७५, १० : १३
बिहीबार, ०३ साउन २०७५

दाङ - यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । 

राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै जिल्लामा सर्पदंशबाट पाँचजनाको ज्यान गइसकेको छ । अस्पतालमा सर्पले टोकेका बिरामी आएमा उनीहरुलाई सामान्य औषधि दिने र रिफर गरिदिने गरेको बिरामीका आफन्तले गुनासो गरेका छन् । केही बिरामीको बाटोमै मृत्यु भएको छ भने केही बिरामीको अस्पताल पु¥याएपछि मृत्यु हुने गरेको छ । 

जिल्लाका तीनवटै सर्पदंश उपचार केन्द्र नाममात्रैका छन् । उपचार केन्द्र प्रभावकारी नहुँदा सर्पदंशका बिरामीको मृत्यु हुने गरेको छ । तीनवटै स्वास्थ्य संस्थामा भेन्टिलेटर छैन, जसले गर्दा बिरामीलाई औषधि दिने अनि अन्यत्र पठाउनेभन्दा अर्को विकल्प नभएको चिकित्सकले बताउने गरेका छन् । केही समय अघि तुलसीपुर उपमहानगरपालिका–१९ निवासी ९ वर्षीय सुनिल विकको सर्पदंशबाट निधन भयो । राप्ती अञ्चल अस्पतालमा भेन्टिलेटर नहुँदा उनलाई नेपालगञ्ज रेफर गरिएकोमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो । 

सोमबार र मंगलबार मात्रै सर्पको टोकाइबाट दाङमा दुई जनाको मृत्यु भएको छ । मंगलबार बबई गाउँपालिका–४, हापुरे निवासी २३ वर्षीय देवराज आलेको मृत्यु भएको थियो । सोमबार तुलसीपुर–८, अस्वारा निवासी चार वर्षीय झपेन्द्र विकको निधन भएको थियो । यो वर्ष मात्रै दाङका पाँचजनाको सर्पको टोकाइबाट मृत्यु भइसकेको छ । 

त्यस्तै, तुलसीपुर–१ की एक १८ महिने शिशुलाई घर आँगनमै खेल्ने क्रममा सर्पले टोक्यो । त्यसको केही समयमा अस्पताल पु¥याउँदै गर्दा बाटोमै मृत्यु भयो । सर्पदंश उपचार केन्द्र भएपनि भेन्टिलेटर नहुँदा रेफर गर्नुपर्ने बाध्यता रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताए । “हामीसँग औषधि छ, तर भेन्टिलेटर छैन, जसले गर्दा हामीले बिरामी रेफर गर्नुपर्ने बाध्यता छ” उनले भ । 

त्यस्तै, सर्पका बिरामीलाई प्रभावकारी रुपमा उपचार गर्नका लागि भेन्टिलेटर अनिवार्य रहेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीका डा. जितनारायण यादवले बताए । “अहिले अस्पतालमा आएका सर्पदंशका बिरामीलाई रेफर गर्नुको विकल्प छैन” उनले भने । 

अस्पतालमै प्रभावकारी सेवा प्रदान गर्नका लागि भेन्टिलेटरको व्यवस्था अनिवार्य छ । लमही अस्पतालमा पनि औषधि मात्रै छ । अस्पतालका निमित्त प्रमुख डा. विमलेशकुमार गुप्ताका अनुसार औषधि भएर मात्र सर्पदंशका बिरामीको उपचार सम्भव नभएको भन्दै उनले सर्पदंशका बिरामीको सफल उपचारका लागि भेन्टिलेटरको व्यवस्था अनिवार्य रहेको बताए । 

देउखुरी क्षेत्रमा त्यहाँ व्यवसायीको पहलमा सर्पदंशको उपचार केन्द्र स्थापना ल्याउने तयारी गरिहेको छ । देउखुरी उद्योग वाणिज्य संघले सर्पदंश केन्द्र स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । देउखुरी क्षेत्रमा सर्पदंशका बिरामी धेरै हुने भएकाले सर्पदंशको उपचार केन्द्र स्थापना गर्ने तयारी थालिएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । 

लमही अस्पतालको मातहतमा रहने गरी केन्द्र सञ्चालनको तयारी गरिएको छ । उक्त केन्द्रका लागि करीब २०÷२५ लाख रकम लाग्ने अध्यक्ष श्रेष्ठले बताए । वर्षेनी दाङमा सर्पको टोकाइबाट मानिसको मृत्यु भएपनि त्यसको तथ्यांक कुनै पनि निकायमा छैन । विश्वभर करीब तीन हजार ४०० प्रकारका सर्प पाइन्छन् । नेपालमा भने पहाडदेखि तराईसम्म ९० प्रकारका सर्प छन् । 

तर ती सबै सर्प विषालु हुँदैनन् । केही सर्पमात्र मानवलाई असर गर्ने विष भएका हुन्छन् । करीब १७ प्रजातिका अति विष भएका सर्प छन् । गर्मीयामको शुरुवातबाटै सर्प भू–सतहमा आउँछन् । त्यसैले, सर्पको टोकाइबाट प्रभावित हुने र ज्यानको जोखिम हुने सम्भावना हुन्छ । 

जिल्लामा करेत र गोमन सर्पको दंशबाट धेरै व्यक्तिको ज्यान जाने गरेको छ । यी सर्पको विष साह्रै विषालु हुने र मानव शरीरलाई असर पु¥याउने किसिमका हुन्छन् । यी सर्पको विषको कारणले शरीरमा पक्षाघात हुने गर्छ । श्वासप्रश्वासमा पक्षाघात भई सास फेर्न नसकेर बिरामीको मृत्यु हुने चिकित्सकको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप