शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङ : तीन गाउँपालिका र एक नगरपालिकाको आय–व्यय विवरण पारित

आइतबार, ०१ साउन २०७४, १३ : १३
आइतबार, ०१ साउन २०७४

धादिङ - दुई नगरपालिका र ११ वटा गाउँपालिका भएको धादिङमा आर्थिक वर्षको अन्तिम दिनमा आइपुग्दा तीन गाउँपालिका र एक नगरपालिकाले शनिबार चालु आर्थिक वर्षको आय–व्यय विवरण पारित गरेका छन् । 

अन्य गाउँपालका र नगरपालिकाले आव सुरु हुनुपूर्व नै आय–व्यय विवरण प्रस्तुत गरी गाउँ र नगरसभाले पारित गरेर लागू गर्नुपर्नेमा निर्वाचित जनप्रतिनिधि अलमलमा परेकाले समयमै सभा सम्पन्न हुन नसकेको हो । 

थाक्रे गाउँपालिकाले रु ३३ करोड ७१ लाख ६० हजारको आय–व्यय विवरण पारित गरेको छ । सिद्धलेक गाउँपालिकाले रु ३० करोड ५० लाख र गल्छी गाउँपालिकाले रु २७ करोड १६ लाखको आय–व्यय विवरण पारित गरेको छ । नीलकण्ठ नगरपालिकाले रु ६९ करोड १४ लाख २८ हजारको आय–व्यय विवरण प्रस्तुत गरेको छ । 

आय–व्यय विवरण पारित गर्न सरकारले असार १५ गतेसम्म समय उपलब्ध गराएकामा केही गाउँपालिकाले कर्मचारी अभावमा समयमै काम सम्पन्न गर्न नसकेको जनाएको छ । 

आवको सुरुको दिनदेखि नै नियमित कामकाज गर्नुपर्ने भएकाले समयमै बजेट ल्याउन लागिपरेको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । 

धुनीबँेशी नगरपालिकाले कार्यकारी अधिकृत र लेखाअधिकृत नभएकाले बजेट निर्माण गर्न नसकेको जनाएको छ । सरकारले वर्षको अन्तिम दिनमा मात्र कर्मचारी पठाएकाले अब एक सातामै आय–व्यय विवरण प्रस्तुत गरिने त्यहाँका नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप