शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरपालिकालाई प्रत्येक वर्ष २० वटा चिनियाँ छात्रवृत्ति

बिहीबार, ०३ साउन २०७५, २२ : ११
बिहीबार, ०३ साउन २०७५

काठमाडौं-चीनको सान्सी प्रान्तमा अवस्थित सियान विश्वविद्यालयले बुटवल उपमहानगरपालिकालाई उच्च शिक्षाका क्षेत्रमा प्रत्येक वर्ष २० वटा छात्रवृत्ति दिने भएको छ । 

हालैमात्र बुटवल उपमहानगरपालिका र सान्सी प्रान्तमा अवस्थित सियान महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो ।

सोही अवसरमा उक्त सियान महानगरपालिकामा रहेको सियान विश्वविद्यालयले सो छात्रवृत्तिको घोषणा गरेको हो । 

चीनको सान्सी प्रान्तद्वारा केही महिना अघि नागरिक दूत नियुक्त नेपाली प्राध्यापक डा. राजिवकुमार झाको पहलमा उक्त भगिनी सम्बन्ध स्थापना भएको थियो । 

 नेपालको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन सिमीत विदेशी विशिष्ट व्यक्तित्वलाई दिइने सो नागरिक राजदूतको उपाधि सियान प्रान्तीय सरकारले झालाई प्रदान गरेको हो । 

प्रा. डा. झाले उक्त पदमा नियुक्त भएसँगै आफूले सान्सी प्रान्तको सियान नगरपालिका र नेपालको बुटवल उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि गरेको प्रस्ताव उक्त प्रान्तको सरकारले स्वीकृत गरेको थियो । 

यस सम्बन्धपछि सियानस्थित ‘सियान युनिभर्सिटी अफ आर्ट एण्ड साइन्स’ ले बुटवल उपमहानगरपालिकाभित्र पर्ने कुनै विश्वविद्यालयसँग मिलेर ‘कन्फ्यूसियस इन्स्टिच्युट’ स्थापना गर्ने र यसमार्फत दुई नगरबीच शिक्षाको क्षेत्रमा सहकार्य र सहयोगको योजना बनाइएको पनि प्रा.डा. झाले जानकारी दिए ।

यसका साथै केही हप्तामात्र अघि पनि चीनको सान्सी प्रान्तमै रहेको अर्काे नगरपालिका आङखान नगरपालिकाले पनि प्राडा. झालाई नागरिक दूत नियुक्त गरेपछि उनले तिलोत्तमा नगरपालिका र उक्त आङखान गरपालिकाबीच पनि भगिनी सम्बन्ध स्थापनाको प्रक्रिया अघि बढाइएको जानकारी दिए।

‘सियान महानगरपालिका र सियान मेडिकल विश्वविद्यालयको उच्चस्तरीय प्रतिनिधिमण्डल बुटवल आउने र त्यसपछि छात्रवृत्तिका साथै कन्फ्युसियस इन्स्टिीच्युट स्थापनाको बारेमा छलफल हुने प्रा.डा.झाले जानकारी दिए । 

यसअघि गतवर्ष मात्र प्रा.डा. झालाई सियान प्रान्तले नै चिनियाँ एक बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा नियुक्त गरेको थियो ।

चिनियाँ विश्वविद्यालयमा प्राध्यापनरत प्रा.डा. झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिव कुमार झा’ स्थापना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप