शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठग्ने सूत्र–५० हजारमा नयाँ सामसुङ एस ९ प्लस !

शुक्रबार, ०४ साउन २०७५, १० : ३७
शुक्रबार, ०४ साउन २०७५

जुन १५ तारिखदेखि फेसबुकमा बारम्बार एउटा सजेस्टेड पेजका रूपमा आइरह्यो । इलेक्ट्रोनिक्स एभ्रिथिङ नामका एउटा फेसबुक पेजमा आकर्षक मोबाइलका तस्बिरहरू राखिएका छन् । एप्पलको आइफोन र सामसुङका नयाँ मोडलका मोबाइलहरू बिक्रीमा राखिएका छन् ।

अहिले नेपाली बजारमा स्यामसुङको ग्यालेक्सी एस ९ प्लस को मूल्य करिब १ लाख नेपाली रुपियाँ पर्छ । त्यसैगरी ग्यालेक्सी एस ९ को मूल्य ९० हजार र एस ८ प्लसको मूल्य करिब ८० हजार नेपाली रुपियाँ छ ।

तर फेसबुकमा एज ग्रुप टार्गेट गरी इलेक्ट्रोनिक्स एभ्रिथिङ नामका फेसबुक पेजले सस्तो मूल्यमा मोबाइल बिक्रीको विज्ञापन गरिरहेको छ ।

इलेक्ट्रोनिक्स एभ्रिथिङ नामक फेसबुक पेजमा मोबाइलको फोटो राखिएको छ तर यसको मूल्य भने उल्लेख गरिँदैन । ग्राहकले कुन मोबाइल खोज्छन्, त्यही मोबाइलको मूल्य ग्राहकको म्यासेजमा पठाइन्छ ।
जब नेपाली युवा वर्गको फेसबुक पेजमा बारम्बार यसबारे विज्ञापन देखिन थाल्यो, हामीले यसबारे बुझ्ने कोसिस गर्यौँ ।

हामी आफै ग्राहक बनेर इलेक्ट्रोनिक्स एभ्रिथिङ नामक फेसबुक पेजका एडमिनसँग कुराकानी सुरु गर्यौँ ।


हामीले आफूलाई एस ८ प्लस तथा एस ९ प्लसको मोबाइल चाहिएको भन्दै त्यसको मूल्य सोध्यौँ । एड्मिनले ६४ जीबीको एस ८ प्लसलाई ५० हजार र ६४ जीबीको एस ९ प्लसलाई ५६ हजार नेपाली रुपियाँ लाग्ने बताइयो ।

हामीले यो मोबाइल कस्तो हो भनेर सोध्यौँ, उसले यो नयाँ मोबाइल भएको र त्यसको बिलसहित १ वर्षको वारेन्टी भएको दाबी गर्यो । यद्यपि नेपालमा स्यामसुङको अन्तर्राष्ट्रिय वारेन्टी भने उपलब्ध नै छैन । उसले पहिलो झुट यहीँ बोल्यो ।

तर उसको सञ्जाल र ठगीको प्रकृतिबारे बुझ्न हामीले केही थाहा नपाएझैँ गरी सम्पर्क गरिरह्यौँ र मोबाइलको मूल्य घटाउन बार्गेनिङ पनि गर्यौँ । उसले हामीलाई स्यामसुङ्को नयाँ ग्यालेक्सी ९ प्लस ५४ हजारमा उपलब्ध गराउने बतायो । हामीले त्यो मोबाइल बुक गर्यौँ ।

त्यसपछि यसले मोबाइल बुक गर्दा कुल मूल्यको आधा रकम बैङ्कमा डिपोजिट गर्नुपर्ने कुरा बतायो । आधा रकम कर र कुरियर सेवाका लागि तत्कालै चाहिने भनियो । बेलायतको फेडेक्स कुरियर सर्भिस्ले ४८ घण्टाभित्र सामान डेलिभर गरिदिने उसले बतायो ।

ठगी गर्न नेपाल एसबीआई बैङ्कको प्रयोग
तर त्यसका लागि ५० प्रतिशत रकम पहिले नै नेपालमा रहेको एसबीआई बैङ्कबाट लिने गरिएकाले त्यहाँ भुक्तानी गर्न भनियो ।

हामीले सामान पाउने ग्यारेन्टी के हो भनेर सोध्यौँ । यसले बारम्बार आफूहरू असली कम्पनी भएको विश्वास दिलाउन खोज्यो । हामीलाई भारतको दिल्लीमा रहेको स्टेट बैङ्क अफ इन्डियामा रहेको HEANGOUTHANG HAOLAI   को नाममा रहेको खाता नम्बर ३७६९६९३०५५३ मा डिपोजिट गर्न भनियो ।

हामीले यससँग बैङ्कमा डिपोजिट गर्न हिँड्यौँ भनेर कुराकानी टुङ्ग्यायौँ ।

त्यसपछि हामी नेपालमा रहेको नेपाल एसबीआई बैङ्कमा पुग्यौँ । हामीले नेपालबाट यो खातामा कति रकम गर्यो हेर्न मिल्छ भनेर सोध्यौँ । तर भारतको स्टेट बैङ्क अफ इन्डियाको खाता नेपालबाट हेर्न नमिल्ने र कति रकम गयो वा गएन भनेर पनि थाहा पाउन नसकिने बताइयो ।

चिठ्ठा पर्यो वा यस्तै अन्य केही कारण देखाएर पटक पटक ठगीको उजुरी आएको भन्दै यस्तो विषयमा बैङ्क पनि सचेत रहेको नेपाल एसबीआई बैङ्कका प्रमुख सूचना अधिकारी रमेश घिमिरेले बताए ।

नेपालबाट भारतको स्टेट बैङ्कमा सोझै रकम डिपोजिट गर्न नमिल्ने भन्दै त्यसका लागि रेमिटेन्समार्फत् पैसा पठाउनुपर्ने नेपाल एसबीआई बैङ्कले जनाएको छ । तर कोहीका आफन्त भारतमै छन् भने उनीहरूले सोझै उक्त खातामा बैङ्क डिपोजिट गर्न सक्ने भने नेपाल एसबीआई बैङ्कले बतायो ।

हालसम्म कति रकम यो खातामा रेमिटेन्समार्फत् गएको छ भन्ने पनि आफूलाई थाहा नहुने बैङ्कले बताएको छ ।

तर यस्तो घटना बारम्बार भइरहेकाले बैङ्कले अब उक्त खातामा रकम पठाउन नै रोक लगाउने गरी सूचना जारी गर्ने बैङ्कले बताएको छ ।
प्रहरी भन्छ : आफै सजग हुनुस्
यता महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंह भने व्यक्ति आफै सचेत हुनुपर्ने बताउँछन् । ‘नेपालकै बैङ्कमा कसैले रकम डिपोजिट गर्न भन्छ र ठगी गर्छ भने त्यस्तालाई कारवाही गर्न सहज हुन्छ । हामीले त्यस्ता केहीलाई कारवाही पनि गरेका छौँ । तर भारतको बैङ्कमा कसैले रकम डिपोजिट गर्न भन्छ र कसैले गरिदिन्छन् भने हामीले पछि केही गर्न सक्दैनौँ ।’


धिरजप्रताप सिंह, एसएसपी, महानगरीय अपराध महाशाखा
एसएसपी सिंहका अनुसार यो सरासर ठगी भएको बताउँछन् । नेपालमा मोबाइलजस्तो वस्तु विदेशबाट कुरियरमा आउँदा त्यसका लागि करसमेत तिर्नुपर्ने हुन्छ । त्यसबाहेक नेपालमा कुनै पनि मोबाइलको ‘इन्टरनेसनल वारेन्टी’ छैन ।

अनि कसैले १ लाखको वस्तु ५० हजारमै दिन्छु भन्छ भने त्यो कि चोरीको सामान हो कि त ठगी गर्ने उद्देश्य नै हो ।

ठगीको शिकारमा गृहिणी बढी


महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार ठगीका अधिकांश शिकार गृहिणी हुने गरेका छन् । घरायसी महिला र अर्धशिक्षित महिलाहरू यस्ता ठगीका शिकार हुने गरेका छन् ।

सिंहका अनुसार एकै महिलाले आफूलाई उपहार परेको भन्दै फोन आएपछि २५ पटकसम्म गरी ३२ लाख रुपियाँ ठगको बैङ्क खातामा हालेकी छिन् ।

भर्खरभर्खर फेसबुक, भाइबार वा वाट्सएप प्रयोग गर्ने महिलाहरू यस्तो ठगीमा पर्ने गरेको सिंह बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप