शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कम उमेरमा कपाल फुल्नुका कारण, यसरी बच्न सकिने

शुक्रबार, ०४ साउन २०७५, १२ : ०९
शुक्रबार, ०४ साउन २०७५

‘जब म १४–१५ वर्षको थिएँ, त्यतिबेला देखि नै मेरो कपाल फुल्न सुरु भयो । मलाई र मेरो बुवालाई यो कुराले त्यति फरक पारेन तर मेरी आमा भने निकै चिन्तित हुनभयो । उहाँले मलाई उपचारका लागि लिएर जानुभयो । डाक्टरले क्याल्सियमको सप्लिमेन्ट खाने सल्लाह दिए । तर केही परिवर्तन भएन । यो घटना भएको १५ वर्ष बितिसक्यो ।’

यो कहानी हो भारतको चन्डीगढमा बस्ने वर्णिका कुन्डुको ।

वर्णिकाको कपाल छोटो छ तर आधा पाकेका र आधा काला । पहिलो नजरमा उनको यो फेसन स्टेटमेन्ट लाग्न सक्छ ।

कपाल कपाल एक नयाँ ट्रेन्डजस्तो बनिरहेको छ । गुगल ट्रेन्डको सर्च इन्ट्रेस्ट अनुसार पछिल्ला १० वर्षमा गुगलमा ‘सेतो कपाल’ अनुसन्धान गर्नेको संख्यामा वृद्धि भएको छ । विशेषगरी सन् २०१५ पछि ।

२० वर्षका सत्यभान पनि तीमध्येका एक हुन् जो गुगलमा कम उमेरमा कपाल फुल्ने समस्याबारे अनुसन्धान गरिरहन्छन् ।

सत्यभानले किशोरावस्थामा हुँदा आफ्नो पहिलो सेतो कपाल देखे । त्यतिबेलाको आफ्नो पहिलो प्रतिक्रियालाई याद गर्दै उनी भन्छन्, ‘मलाई थोरै चिन्ता भयो । त्यसपछि मैले गुगल गरें । मेरा बुवा कार्डियोलोजिस्ट हुन् र उनकै सल्लाहमा डाक्टरलाई भेट्न गएँ । त्यसपछि थाहा भयो कि मेरो खानपिनको बानी, कपालका लागि भित्रिएका नयाँ प्रोडक्टको प्रयोगका कारण यस्तो भएको हो ।’

स्किन र हेयर एक्सपर्ट डाक्टर दिपाली भारद्वाज भन्छिन्, ‘कम उमेरमा कपाल सेतो हुनु एक रोग हो । डाक्टरी भाषामा यसलाई केनाइटिस भनिन्छ ।’

रोगका कारणः

दिल्लीका ट्राइकोलोजिस्ट (कपालका डाक्टर) अमेरेन्द्र कुमारका अनुसार केनाइटिसमा हेयर कलर पिगमेन्ट पैदा गर्ने सेलमा समस्या हुन्छ जसका कारण कपाल सेतो हुनथाल्छ ।

यसका विभिन्न कारण हुन्छन् । डाक्टर अमरेन्द्रका अनुसार थुप्रै पटक कम उमेरमा कपाल सेतो हुनु अनुवांशिक (जेनेटिक) कारण हुने गर्छ भने कहिलेकाँही खानामा प्रोटिन र कपरको कमी र हर्मोनल कारण पनि यस्तो समस्या पैदा हुने गर्छ ।

शरिरमा हेमोग्लोबिनको कमी हुनु, एनिमिया, थाइरोइडको समस्या, प्रोटिनको कमीका कारण कम उमेरमा नै कपाल सेतो हुनसक्छ ।

वर्णिकाले जब डाक्टरलाई भेटिन् तब उनलाई थाहा भयो कि उनको समस्या जेनेटिक कारण थियो ।

आफ्ना पिताबारे जानकारी दिँदै वर्णिका भन्छिन्, ‘मेरो बुवाको कपाल पनि कम उमेरमा नै सेतो भएको थियो । मेरी एक बहिनी पनि छिन् र उनको कपाल पनि मेरै जस्तो छ । हाम्रो परिवारमा यो समस्या धेरैलाई छ ।’

संसारका विभिन्न स्थानका मानिसहरुको कम उमेरमा नै कपाल किन फुल्छ, यसमा अनुसन्धान पनि भएको छ ।

ब्रिटेनको युनिभर्सिटी अफ ब्राडफोर्डका प्राध्यापक डेसमन्ड टोबीनका अनुसार युरोपमा बस्ने मानिसहरुको २० वर्षमुनी कपाल फुल्नु साधारण कुरा हो ।

प्राध्यापक टोबिन हेयर र स्किन पिगमेन्ट स्पेशलिष्ट हुन् ।

यो विषयमा गरिएका विभिन्न शोधको अनुसन्धानपछि यो नतिजामा पुगेका छन् कि मानव शरिरमा पाइने ‘जीन’ हाम्रो कपालको रंग–रुपका लागि जिम्मेवार हुन्छन् । अनुसन्धानबाट यो पनि पत्ता लागेको छ कि विभिन्न जातीका मानिसहरुमा विभिन्न समयमा कपाल सेतो हुने ट्रेन्ड छ । अफ्रिका र पूर्वी–एशियाली जातीमा एउटा उमेर पार गरेपछि मात्र कपाल सेतो हुन थाल्छ ।

नेपालमा ४० को उमेरपछि कपाल सेतो भए यसलाई रोग मानिँदैन ।

कम उमेरमा कपाल फुल्नेबारे विभिन्न मानिसहरुको प्रतिक्रिया भिन्न छ । थुप्रै मानिसहरु कम उमेरमा सेतो कपाललाई स्विकार गर्दैनन् । त्यसलाई लुकाउने कोसिस गर्छन् भने कतिले यसलाई फेशन स्टेटमेन्ट वा स्टाइल स्टेटमेन्टमा परिवर्तन गर्ने गर्छन् ।

सत्यभान तीमध्ये एक हुन् जो २० वर्षको उमेरमा सेतो कपालमा बस्न चाहँदैनन् । यसकारण उनले कपालमा कालो हाल्न सुरु गरे ।

यद्यपी, डाक्टर दीपाली यसलाई ठिक मान्दिनन् । उनका अनुसार यसले कपाललाई थप क्षती पुर्याउँछ । थोरै समयका लागि यसको असर पक्कै देखिन्छ तर यसको प्रयोग बन्द गर्नेबित्तिकै कपाल पुनः सेतो हुन थाल्छन् ।

तर वर्णिका कुन्डु तीमध्ये एक हुन् जसले पहिलो दिनदेखि यसलाई स्विकार गरिन् ।

यसबाट कसरी पार पाउने ?

यो प्रश्नको जवाफमा डाक्टर अमरेन्द्र भन्छन्, ‘यो रोगको उपचार मुश्किल छ । एकपटक कपाल सेतो हुन सुरु भएपछि त्यो पुनः कालो हुन लगभग असम्भव छ र बाँकी भएका अन्य कपाललाई सेतो हुनबाट रोक्न पनि त्यति नै गाह्रो छ ।’

केनाइटिसका लागि औषधी र स्याम्पु पनि बजारमा उपलब्ध छ तर त्यसले केवल २० देखि ३० प्रतिशत सफलता पाउन सकिन्छ ।

डा. दिपालीका अनुसार कम उमेरमा कपाल फुल्नबाट जोगाउनका लागि सुरुदेखि नै खानपिनमा ध्यान राख्नुपर्छ । खानामा बायोटिन (एक प्रकारको भिटामिन) को प्रयोग गर्नुहोस् । कपालमा कुनै प्रकारको केमिकल नलगाउनुहोस् । धेरैजसो एन्टी डेन्ड्रफ स्याम्पुमा कपाललाई हानी पुर्याउने केमिकलको प्रयोग गरिएको हुन्छ । यस्तो स्याम्पु हप्तामा दुई पटक मात्र लगाउनुहोस् । डा. दिपालीका अनुसार कपालमा तेल लगाउँदा पनि यो समस्याबाट पार पाउन सकिन्नँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप