शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोटो बेचेर लाखौँ आम्दानी

शुक्रबार, ०४ साउन २०७५, १३ : १८
शुक्रबार, ०४ साउन २०७५

बागलुङ– बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन् ।  वर्षेनी खोटो संकलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा संकलित छ हजार १७५ केजी खोटोबाट रु सात लाख ६७ हजार ९३४ आम्दानी गरेका हुन् । 

खोटोबाट रु ९९ हजार ८३४ राजश्व र स्थानीय कर रु ३२ हजार ८३५ संकलन भएको छ । जिल्ला बाहिरका कम्पनीबाट माग आउन थालेपछि उपभोक्ता समूह खोटो संकलनतर्फ आकर्षित भएका हुन् । सल्लो प्रजातिका रुखबाट निकालिने खोटो अलकत्रा, तारपिन तेल, ग्रिज र रंग बनाउन प्रयोग हुन्छ । जिल्ला वन कार्यालयका अनुसार कपिलवस्तु रोजिन उद्योग र रुपन्देहीको माउण्ट रोजिन एण्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिले यहाँ संकलित खोटो खरिद गर्ने गरेका छन् । 

उपभोक्तालाई खोटो संकलनका लागि आवश्यक पर्ने सीप र प्रविधि उद्योगले नै प्रदान गर्छन् । पच्चीस वटा रुखबाट १० केजीजति खोटो निकाल्न सकिने जिल्ला वन कार्यालयका सहायक जिल्ला वन अधिकृत रामबहादुर विक बताउँछन् । बुर्तिबाङको माडे सामुदायिक वनबाट सबैभन्दा बढी खोटो संकलन हुने गरेको उनको भनाइ छ । खरिदकर्ताले प्रतिकेजी रु १२ का दरले खोटो खरिद गर्ने गरेका छन् । 

खोटो बेचेर समूहमा आउने आम्दानी उपभोक्ताले आयआर्जनमा लगाउने गरेका छन् । आयआर्जनमार्फत समूहका सदस्यको जीवनस्तर सुधारमा मद्दत पुगेको सामुदायिक वन उपभोक्ता महासंघको ठहर छ । खोटो संकलन र निर्यातलाई जिल्लाका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने महासंघको जिल्ला अध्यक्ष प्रेम लामिछाने बताउँछन् । बजार प्रवद्र्धनसँगै आर्थिक तथा प्राविधिक सहयोग गर्न महासंघ तयार रहेको उनको भनाइ छ । 

‘वनमा त्यसै खेर गइरहेको खोटो संकलनबाट लाखौँ रुपैयाँ समूहमा भित्रिएको छ ।’ उनी भन्छन्, ‘यसलाई अझै व्यावसायिक बनाउन आवश्यक छ ।’ वनको स्रोत उपयोग गरेर उद्यम सञ्चालन गर्ने उपभोक्तालाई महासंघले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि सल्लो प्रजातिको वन क्षेत्र पर्याप्त भएको हुँदा खोटोको राम्रो सम्भावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप