शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्किङ शुल्क विवाद चर्किएपछि भारतीय सवारी साधन रोकिए

शुक्रबार, ०४ साउन २०७५, १५ : ०६
शुक्रबार, ०४ साउन २०७५

भीमदत्तनगर– भीमदत्त नगरपालिकाले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । 

स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज बिहानबाट कर संकलनको जिम्मा पाएका निर्माण व्यवसायी समस्यामा परेका छन् । 

चालू आर्थिक वर्ष २०७५/७६ का लागि विदेशी सवारी साधनबाट कर संकलन गर्न बालाजी पवनदीप निर्माण सेवाले ठेक्का पाएको थियो । सो निर्माण सेवाका सञ्चालक लीलाधर भट्टले वार्षिक करसहित रु ३७ लाख ११ हजार नगरपालिकालाई तिर्ने गरी ठेक्का आफूले लिएको बताए । 

भारतीय सवारी साधन नेपालतर्फ नआएपछि कर संकलन प्रभावित बनेको छ । विदेशी बस÷ट्रक पार्किङवापत रु ४२५, कार/जीपबाट रु १४२, म्याजिकबाट रु ७१ तथा अटो÷टेम्पोबाट रु ३५ पार्किङ शुल्क लिने गरेको उनले बताए । 

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार विगतमा द्वन्द्वका बेलादेखि नै गड्डाचौकीमा कर संकलन गरिँदै आएको छ । ‘शुल्क संकलन गर्न थालेको १० वर्ष भइसक्यो,’ निर्माण व्यवसायी भट्टले भने, ‘चालू आवमा शुल्कमा वृद्धि भएको छ ।’ 

भारतीय नम्बर प्लेटका सवारी साधनलाई महेन्द्रनगरसम्म चलाउने अनुमति दिन कञ्चनपुर भन्सारले सुविधा काटने गरेपनि यहाँ पार्किङको भने सुविधा छैन । सडक कर वृद्धि गरेको भन्दै भीमदत्तनगरमा पनि विगत तीन दिनदेखि अटो रिक्सा मजदूर आन्दोलनमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप