बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा खेलकूद मैदान : मुख्यमन्त्री गुरुङ

शनिबार, ०५ साउन २०७५, १८ : १८
शनिबार, ०५ साउन २०७५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तहमा कम्तीमा पनि एउटा खेलकूद मैदान निर्माण गरिने बताएका छन् ।  

अखिल नेपाल फुटबल संघ एन्फाको कार्य नीति, आधारभूत क्षेत्र, विधान र नियमावलीको प्रदेशस्तरीय अन्तक्रिया एवम् कार्यशाला गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले खेलकुदको विकासका लागि भौतिक पूर्वाधार पहिलो आवश्यकता रहेको बताए । 

गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानीय तहसँग समन्वय गरी खेलकुद मैदान निर्माण गरिने योजना रहेको बताउँदै उनले त्यसका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । 

राष्ट्रियतालाई बलियो बनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक तयारी गरिरहेको बताए । 

प्रदेशसभा सदस्यहरू मनबहादुर गुरुङ, दिपक कोइराला, बिन्दु थापा, राजमीप्रसाद बराल, राजीव पहारी, मोहन रेग्मीलगायतले खेलकूदको विकासका लागि विधि, पद्धतिअनुसार सञ्चालन हुनु पर्ने बताए । 

अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटवल विकासको लागि मुलुकका तीनै तहका सरकारले लगानी बढाएर भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताए । 

मुलुकका सातवटै प्रदेशमा खेलका विभिन्न विधामा टेक्निकल सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै उनले फुटबल खेलको विकासका लागि एन्फाले पहिलो चरणमा ८० जना राष्ट्रियस्तरका प्रशिक्षक उत्पादन गर्न लागेको जानकारी दिए । 

एन्फाले यसअघि मुलुकका छवटा प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरेर आवश्यक सुझाव संकलन गरिसकेको उपाध्यक्ष कृष्ण थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप