बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको विशेष आग्रहपछि रगत परिक्षण गर्न तयार भए डा. केसी

सोमबार, ०७ साउन २०७५, २० : ०८
सोमबार, ०७ साउन २०७५

काठमाडौं । जुम्लाबाट काठमाडौ आएसँगै आज पहिलोपटक डा. केसीको शरिरमा भएका परिवर्तनहरुबारे जानकारी प्राप्त भएको छ । ८० वर्षीय आफ्नी आमा मित्र कुमारी केसीको विशेष आग्रहमा उनले परिक्षण गर्न मानेका हुन् । 

हिजो साँझ आफ्ना छोरालार्इ भेट्न आएकी आमा स्वास्थ्य  परिक्षण पनि नभएको कुरा थाह पाउनासाथ विक्षिप्त भएकी थिइन् । भेट्दा केही नभनेपनि पछि टेलिफोनमार्फत बडो भावुक हुँदै आफ्ना छोरालार्इ उनले कमसेकम स्वास्थ्य परिक्षण गराउन आग्रह गरेकी थिइन् । 


डा. केसीको स्वास्थ्यलाई एकदमै नजिकबाट नियालिरहेकी डा. दिव्या सिंह शाह केहिदिन यता डा. केसीमा आएका परिवर्तनहरुका कारण एकदमै चिन्तिन रहँदै आएकी थिइन् । बोल्न नसके पनि करिब ४५ मिनेटसम्म डा. दिव्याले बताएको कुरा सुनिसकेपछि र आमाको विशेष आग्रहमा डा. केसीले रगत परिक्षण गराउन सहमती दिएका थिए । 

यता रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु भने चिन्तित भएका छन् । रगतका सम्पूर्ण ‘प्यारामिटर’हरु असामान्य छन् ।

सेतो रक्तकोशिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ । यति कम सेतो रक्तकोशिका भएका बिरामीलार्इ यदि कुनै संक्रमण भइहाले, त्यसले भयावह रुप लिनेछ । यसैका कारण भेट्न आउने मानिसहरुलाइ १० मिटर परै राख्ने गरिएको छ र डा.केसी अनशन बस्ने कोठामा प्रवेशका लागि अनिवार्य मास्क र ‘ह्यान्ड स्यानिटाइजर’को प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । यसले केही हदसम्म संक्रमण रोक्ने भएतापनि अब भने थप सावधानी नअपनाए, डा. केसीलार्इ गम्भीर खाले संक्रमण हुनेमा दुर्इमत नै छैन ।

रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको छ । शरिरका सबै अङ्गहरुले काम गर्ने भनेकै ग्लुकोजबाट प्राप्त शक्तिले नै हो । यसको मात्रामा कमि आएसँगै अङ्गहरुले बिस्तारै काम गर्न छाड्नेछ्न् । विशेषत ग्लुकोजको मात्रा घटेसँगै सबभन्दा गम्भीर असर ब्रेनमा देखिन्छ । स्नायुहरु शक्तिहिन बन्दै जान्छन् र बेहोस हुने, सिजर हुने अर्थात छारे रोगका लक्षणहरु पनि देखिन सक्छ ।

जुम्लामा रहँदै घटेको पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा अझै बढेको छैन् । विशेषत पोटासियम एकदमै न्यून छ जसको सिधा सम्बन्ध मुटुसँग छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार,  यहि अवस्थामा  डा. केसीको मुटु जुनसुकै बेला पनि बन्द हुनसक्छ । यति कम पोटासियममा पनि किन इसिजिमा परिवर्तन देखिएन भनेर चिकित्सकहरु छ्लफल गरिरहेका छन् । एकपटक इसिजिमा परिवर्तन आउनासाथ डा. केसीलार्इ सिसियुमै राखेर उपचार गर्नुपर्ने यो भन्दा पहिल्यै चिकित्सकहरुले बताइसकेका छन् ।

‘रगतमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको छ । एकैछिन पनि अक्सिजन नलगाउदा केसीलाई निकै अप्ठ्यारो हुन्छ, कहिलेकाहिँ त हप्याक–हप्याक नै हुने गरेको छ । अक्सिजन कम भएसँगै छाती पनि बेस्सरी दुख्ने गरेको छ,’ डा. केसीसँग चौबिसै घण्टा साथ रहने उनको भाइ किशोर केसीले बताए । विगत एक दुई दिनदेखि  धैरैपटक वाकवाकी लाग्ने समस्याले पनि डा. केसीलार्इ आक्रान्त बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप