बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकम र म्युजिक नेपालको सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सार्वजनिक

आइतबार, ०१ साउन २०७४, १७ : ४७
आइतबार, ०१ साउन २०७४

काठमाडौं – नेपाल टेलिकम र म्युजिक नेपाल प्रालिको सहकार्यमा मोबाइल एप्प मार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा सुरु भएको छ । नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले आईतबार सो सेवाको उद्घाटन गरेका हुन् । 

उपाध्यायले मोबाइल एप्पमार्फत स्ट्रिमिङ सेवाको सुरु गर्दै राष्ट्रको सञ्चारको रुपमा रहेको टेलिकम र देशकै अग्रणी संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप्प उपलब्ध गराउन सफल भएकोमा खुशी ब्यक्त गरे । उनले मोबाइल प्रयोगकर्ताकाबीचमा यो एप्प लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताए । 

म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेपाल टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गर । उनले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एप्पको रुपमा म्युजिक नेपाल एप्पले विश्वास जित्ने आशा व्यक्त गरे । 

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एप्पमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बिचार ब्यक्त गरिन् । 
    
म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ‘म्युजिक नेपाल’ मोबाइल एप्प डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । आफ्नो रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने जनाइएको छ । आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सकिने जनाइएको छ । 

यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्ता शुल्क नलिई  उपलब्ध गराइने कम्पनीले जनाएको छ । एक महिनापछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप्प खोलेर आफ्नो मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ । 

मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् । हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।


यो सेवा मार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीत संगीत मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत  उपलब्ध हुने जनाइएको छ । आगामी साउन ३ गतेदेखि यो ‘म्युजिक नेपाल एप्प’ आम उपभोक्ताले प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप