बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मर्यादित ठाउँमा जुलुश निकालौंभन्दा कसरी अधिनायकवाद भयो ?: परराष्ट्रमन्त्री

बुधबार, ०९ साउन २०७५, १२ : ५४
बुधबार, ०९ साउन २०७५

लिस्बन– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक सही दिशामा अघि बढेको बताएका छन् । अस्थिरता र संक्रमणकालको अन्त्य भएर मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको उनले बताए । 

प्रवासी नेपाली मञ्च, पोर्चुगल, नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल र एनआरएन पोर्चुगलको संयुक्त आयोजनामा मंगलबार राजधानी लिस्बनमा भएको छलफल तथा अन्तरक्रियामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने– ‘जनताले स्थिरता र समृद्धिको पक्षमा जनादेश दिएको हो,  वर्तमान सरकार सोही जनादेशअनुरुप नै मुलुकको समृद्धि र विकासमा लागिपरेको छ ।’ 

आगामी १२ वर्षभित्रमा मध्यम आय भएको मुलुकका रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार अघि बढेको उनले बताए । 

अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि सोही अनुकूलको वातावरण निर्माणमा सरकार लागेको छ ज्ञवालीले भने– ‘छिमेकी मुलुक, विकासमा साझेदार, श्रम गन्तव्य मुलुक र सयुंक्त राष्ट्रसंघलगायत बहुपक्षीय संयन्त्रमार्फत् अन्तर्राष्ट्रिय लगानी भित्र्याउने योजनाका साथ सरकार अघि बढेको छ ।’

नेपालका आन्तरिक मामिलामा विगतमा हुने गरेका हस्तक्षेपको अन्त्य गर्दै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध नयाँ शिराबाट अघि बढेको उनले बताए । दुबै देशसँग विश्वासको नयाँ आधार सिर्जना भएको उनको भनाइ थियो । 

छिमेकी मुलुकसँगको सम्बन्ध सुधारसँगै जलमार्ग, रेलमार्ग र कृषिमा साझेदार जस्ता सहयोगका नयाँ योजना पहिल्याइएको उनले बताए । ‘अराजकताको अन्त्य गर्दै मुलुक विधिको बाटोबाट अघि बढेको छ, वर्तमान सरकारले विधिको शासन लागू गर्न खोजेको छ’, परराष्ट्रमन्त्रीले भने 

ज्ञवालीले भने– ‘विधिबाट बाँधिनुपर्दा कतिपय साथीलाई अधिनायकवादको भूतले सताएको छ ।’ मर्यादित ठाउँमा जुलुश निकालौं भन्दा अधिनायकवाद नहुने उनको कथन थियो । 

ज्ञवालीले लोकतन्त्र मर्यादित नभए लोकतन्त्रप्रति जनताको आस्था टुट्दै जाने धारणा व्यक्त गरे । 

आमरण अनशनरत डा.गोविन्द केसीका मागका विषयमा सरकार गम्भीर रहेको उनले बताए । चिकित्सा शिक्षामा देखिएका विकृति र विसङ्गतिको अन्त्यका लागि अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोग बनाएर समाधान गर्न लागिएको मन्त्री ज्ञवालीले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप