शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेरो राजीनामालाई दबाब मान्दिनँ, सल्लाह मान्छुः निर्वतमान कानुनमन्त्री तामाङ (अन्तर्वार्ता)

बुधबार, ०९ साउन २०७५, २१ : ३३
बुधबार, ०९ साउन २०७५

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिए । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएको बताएका थिए । 

नैतिकताको राजनीतिको खडेरी लागेको बेला उनले ‘नैतिकताका आधारमा’ राजीनामाको घोषणा गरेर राजनीतिक सहानुभूति प्राप्त गरेका छन् । तर कुरा यति मात्र थिएन, राजीनामा घोषणा गर्दै गर्दा उनले आफूमाथि षड्यन्त्र भएको बताएर नयाँ बहस पनि सुरु गराएका छन् । 

के उनीमाथि राजीनामा गर्न कतैबाट दबाब पनि थियो, के उनले साँच्चै नैतिकताका आधारमा राजीनामा गरेका हुन् ? यिनै प्रश्नमा केन्द्रित रहेर रातोपाटी टिभीका लागि रोहित दाहालले निवर्तमान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग बुधबार दिउँसो कुराकानी गरेका छन् ।

तपाई अब निवर्तमान हो नि होइन ? स्वीकृत भइसक्यो राजीनामा ?

मैले राजीनामा दिएपछि त्यसको कथा सक्कियो ।

धेरै कुरा सार्वजनिक भएका छन् । तपाईं आफूलाई व्यक्तिगत रूपमा कस्तो अनुभूति भइरहेको छ ? अलि बोल्दा खेरी विचार पु¥याउनुपथ्र्यो भन्ने छ कि ? के छ ?

यसलाई चाहिँ धेरै कोणबाट व्याख्या गर्न सकिन्छ तर मलाई लागेको कोण चाहिँ के हो भने आशय एउटा तर त्यसको गलत ढङ्गले व्याख्या गरिँदा खेरी कसैमाथि चोट पुग्यो । त्यो कुराको जिम्मेवारी लिनुपर्छ भन्ने निश्कर्षमा पुगेँ । बोल्ने कुरामा ध्यान त पु¥याउनै पर्छ भन्ने कुरा त देखियो नै र कहिलेकाहिँ बोल्ने कुरामा गोली र बोली छुटेपछि फर्किंदैन भन्छन्, त्यो नफर्केको स्थिति बन्यो ।

त्यसो भए तपाईंले आफूले गल्ती गरेकै हो, नबोल्नुपर्ने कुरा बोलेकै हो भन्ने चाहिँ लाग्छ, होइन त ?

त्यसको नैतिक जिम्मेवारी लिएर मैले सुरुमा आत्म–आलोचना गरेँ, क्षमा मागेँ । त्यतिले पनि पुग्दैन भनेपछि हस्, भनेर सहर्ष ढङ्गले राजीनामा गरेँ । 

तपाईंको भनाइको तात्पर्य चाहिँ के थियो त ? हामीले चिने अनुसार तपाईं एउटा महिलाहरूमाथि आक्षेपै लगाउनुपर्ने, महिलाहरूप्रति हिंसै गर्नुपर्ने व्यक्ति त होइन ।

मेरो त्यो भनाइले आक्षेप लगाको कुरै देखिँदैन । त्यो भनाइ मैले पनि धेरै पटक हेरेँ । कहीँ कतै म चिप्लिएँ कि ? 

प्रतिनिधिमूलक घटना हुन सक्छन् । छन्, मैले सुन्या छु, त्यहाँ बोल्दा पनि मैले सुनेको छु भनेर बोलेको छु । त्यसो भएको कारणले सुनेका कुराहरू त्यतिकै सुनेको त छैन । म नि कान सुन्ने मान्छे नै हुँ । त्यसैले पनि सुनिन्छ । सुनेको कुरा बिना तथ्य बाहिर आ’को हुँदैन । त्यसैले केही रिपोर्टहरू पनि मैले सुनेको छु । अहिले पनि ‘सुनेको छु’ भन्छु । रिपोर्टहरू त सार्वजनिक होलान्, त्यसमा केही समस्या छैन । तर म एकदमै कामना गर्छु, अन्तरहृदयदेखिले कामना गर्छु, मेरो भनाइ कतै पुष्टि नहोस् । मेरो भनाइ पुष्टि गर्नका लागि कोही हिंसामा पर्नुपर्छ भन्ने मेरो मान्यता होइन । यो पुष्टि हुँदै नहोस् । कहिले पनि पुष्टि नहोस् । हाम्रा नेपाली छोरीहरू विदेशमा पढ्न जाँदा सुरक्षित भएर पढेर फर्किन सकून् । म यही कामना गर्छु ।

तर तपाईंको भनाइले बङ्गलादेशमा बसेर पढिरहेका, बङ्गलादेशमा पढेर फर्किएकाहरू र तिनका अभिभावकहरुलाई त चोट पुग्यो नि, होइन ?

हो । उनीहरूलाई चोट पुग्यो । म भनिरहको छु, तपाईंमार्फत पनि भन्छु उहाँहरू मेरो सम्पर्कमा आउनुपर्छ । म सम्पर्कित हुँदा खेरी उहाँहरू प्रत्येकलाई ज–जसलाई चोट पुगेको छ, सबैसँग म क्षमा माग्न चाहन्छु । त्यसैले म मेरो फोन नम्बर सार्वजनिक गर्छु । तपाईंको रातोपाटीबाट पनि सार्वजनिक गर्छु । म मेरो फोन आफै उठाउँछु, कुनै अवस्थामा फोन उठाउन नसके आफैँ फर्काउनेछु । 

कृपया जसलाई चोट पुगेको छ, उहाँहरूलाई भेटेरै म क्षमा माग्न चाहन्छु । किनभने सयौँ हजारौँलाई चोट परेको कुरा मैले महसुस गरेको छु । सयौँ हजारौँ मात्र होइन, म त मेरो भनाइले कोही एक जनालाई पनि चोट पुगेको छ, मेरो गराईले कसैलाई अन्याय पुग्यो भने त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने पक्षमा छु । त्यस कारणले मेरो भनाईको आशय त्यस्तो नहुँदानहँुदै पनि आशयका हिसाबले जसरी प्रचार गरियो, त्यो चाहिँ अलि गलत कुरा हो । 

हामीले तपाईं हाम्रो कार्यक्रममा आउँदै हुनुहुन्छ भन्ने जानकारी फेसबुकमा राखेका थियौँ । हाम्रा केही दर्शकहरूले तपाईलाई केही प्रश्न पनि गर्नु भएको छ । खासमा तपाईंले बङ्गलादेशमा पढ्ने छात्राबारे जुन प्रतिक्रिया दिनुभयो, यसको उद्देश्य के हो ? तपाईंसँग यसको केही प्रमाण छ ?  

अब यसको उद्देश्य चाहिँ मेरो पूरा कटिङ गरेर आएको मात्र कतै भाइरल गराउँदा खेरी तपाईंहरूलाई त्यस्तो लागेको होला । जसले मलाई प्रश्न सोध्नुभयो, त्यही कटिङ मात्र हेर्नुभएको होला । त्यो बीचको हिस्सा हो । सुरुदेखि अन्तिमसम्म मैले भन्न खोजेको कुरा के थियो भने नेपाली विद्यार्थीहरू वर्षको ४० हजार, चानचुने होइन दश बीस जना वा डेढ सय जना होइन, ४० हजार विद्यार्थी विदेशमा पढ्न जान्छन् । 

बाबुआमाका यहाँ चार आनामा बनेको घर, खेत के के धितो राख्नुपर्छ, के–के बेच्नुपर्छ सबै गरेर लाखौँ रुपियाँ बोकेर उनीहरू विदेश जान्छन् । उनीहरू सुरक्षित हुन् भन्ने मेरो चाहना हो । 

किन त्यस्तो भयो भन्दा चाहिँ यहाँ पर्याप्त कलेज छैन । अब मेडिकल शिक्षा पढ्नका लागि पर्याप्त मेडिकल कलेज छैन । अनि कोही कोही साथीहरू कलेज खोल्न पाइँदैन भनेर प्लेकार्ड बोकेका छन् । मैले बोलेको यही हो । त्यसैले ती विद्यार्थीहरूलाई सम्बोधन गरेको थिएँ मैले । ‘तपार्इंहरूलाई पढ्नका लागि यही मुलुकमा कलेजहरू खोलिनुपर्छ, यही मुलुकमा पढ्ने वातावरण बनिनुपर्छ, विदेशमा पढ्न गएका, मैले सुनेको छु, बङ्गलादेशमा पढ्न गएका हाम्रा छात्राहरू यस्तोमा परेका छन् रे !’ मैले बोलेको यही हो ।

भने पछि उद्देश्य त्यस्तो थियो ?

कसैलाई अपमान गर्ने उद्देश्य थिएन ।

तपाईंसँग त्यसको कुनै प्रमाण, सूचना केही थियो कि भन्ने प्रश्न छ, त्यसबारेमा के भन्नुहन्छ ?

प्रमाण, सूचना त वास्तवमा गतसाल मात्रै एक जना युवतीले आत्महत्या गरेको प्रमाण छ । कुनै न कुनै हिंसा पीडित भएर नै उनले आत्महत्या गरेको हो । त्यसको छानविन हुन बाँकी नै छ र फेरि पनि भन्न चाहन्छु केही रिपोर्टहरू छन् । सरकारको एक तहले एउटा रिपोर्ट बनाएर सरकारलाई बुझाएको छ । 

तपाईंलाई भन्न मिलेन होला, हामीले सुने अनुसार नेपाल मेडिकल काउन्सिलले एउटा त्यस्तै खालको रिपोर्ट स्वास्थ्य मन्त्रालयमा बुझाएको छ भन्ने आएको छ । कतै तपाईंले त्यो रिपोर्टको अध्ययन गर्नुभयो कि ?

त्यो रिपोर्ट चाहिँ सरकारले बुझेर बाहिर नल्याएकाले मैले बोल्न मिल्दैन । हिजो त झन् मिल्दै मिल्दैन थियो । त्यसैले त ‘मैले सुन्या छु ।’ भनेर भनेँ । मैले यो रिपोर्टको आधारमा बोलेको भन्न त पाइएन । मैले सुन्या छु भनेँ । वास्तवमा ती एकजना एमबीबीएसकी छात्राले आत्महत्या गरेको त हो । 

केही रिपोर्टहरू म प्राप्त गर्दै छु, अब त मलाई सजिलो पनि भयो । यो भनिरहँदा मेरो भनाइलाई पुष्टि गर्नका लागि कोही अन्यायमा परुन्, कोही हिंसामा परून्, त्यसलाई देखाउँला भन्ने मेरो आशय हैन । फेरि पनि म अन्तरहृदयबाट भन्छु, मेरो भनाइ पुष्टि नै नहोस् । 

तपाईंको अभिव्यक्ति सार्वजनिक भइँरदा त्यसलाई अर्को कोणबाट पनि जोड्ने प्रयास गरियो । विवादास्पद मेडिकल सञ्चालक छन्, जसले  त्यो कलेज खोल्ने माग गरिरहेका छन् उनले त्यो बोलेपछि तपार्इंको कुरा आयो । भनेपछि कतै केही ‘कनेक्सन’ छ कि ? ती व्यक्तिलाई जोगाउन त्यो कुरा बोल्नुभयो कि ? मानिसहरूले भनिरहेका यी कुराहरू त सुन्नुभएको होला नि, होइन ?

त्यो त समाजिक सञ्जालमा उहाँले बोलेको र मैले बोलेको कुरा एकैठाउँमा जोडेर राखेको कटिङ हेरेपछि मैले पनि थाहा पाएँ । यो विषयमा अर्को कोही मान्छे पनि बोल्दो रहेछ भन्ने लाग्यो । त्यस्तै त्यस्तै प्रसङ्गमा अर्का एक पूर्वमन्त्रीले पनि बोलेको कुरा सुन्या छु । 

गगन थापाज्यू भन्न खोज्नुभएको होला, त्यो पनि आएको छ । 

हो, मैले सुनेको छु । कोही पनि हिंसामा नपरून् । मुख्य कुरा यही हो ।

ठिक छ तर त्यो कुरा जोडिन्छ कि जोडिँदैन ? जसरी जोडियो नि, दुर्गा प्रसाईं भन्ने व्यक्तिसँग ।

जब फेसबुकमा कटिङ्ग नै राखिसकेपछि त्यस्तो कुरा अर्कोले पनि बोल्दो रहेछ भने थाहा भयो । वास्तवमा अर्कोले पनि बोल्दो त रहेछ नि भन्ने भयो । 

उनको भनाईलाई जोगाउन तपाईले बोलेको त होइन नि ?

त्यसको के जरुरी छ ? वास्तवमा एउटा व्यतिmले भनेको कुरालाई जोगाउनको लागि मैले यो सप्पै कुराहरु भनेर कसैलाई अपमान गर्नुपर्छ र ? अपमानको कुरालाई लिएर अब मैले जिम्मा लिएर पदै त्यागि सकेपछि अनि मैले जोगाउन बोलेछु कि नजोगाउन बोलेछु प्रष्ट थाहा भैहाल्छ नी । 

तपाईले नैतिकताको आधारमा राजिनामा गर्नुभयो कि दबाबका आधारमा ?

मैले त्यहाँ मेरो बक्तव्यमा सबै कुरा लेखेको छु, तपाईहरुले थाहा पाउनु भएको छ । मेरो आधिकारिक धारणा त्यही हो । त्यहाँ कुनै दबाब कहीँको निर्णय भनिएको छैन ।

तपाईले दबाबमा राजिनामा नदिनु भएको भए अथवा नैतिकताको आधारमा राजिनामा दिएको हो भने त पहिल्यै तपाईले माफी माग्नै पर्दैनथ्यो नि, पहिल्यै राजिनामा गुर्नहुन्थ्यो, त्यसपछि पनि थेग्न नसकेर राजिनामा गर्नुभयो भन्ने छ । 

दबाब भनेको चाहिँ मेरो पार्टीगत दबाब होइन । खासगरी म मा परेको मानसिक दबाब चाहिँ हो । जब त्यो कुरा आइसके पछाडि प्रचार भइसके पछि धेरै उचाई लिँदैन होला भनेर शुरुमा त्यस विषयप्रति माफी मागँे, क्षमायाचना गरेँ । त्यसपछाडि अलिकता यो विषय ओझेलमा पर्दै गा’को नि थियो ।

त्यही बेला मेरो मोबाइलमा म्यासेजहरु आए । एउटै प्रकृतिको एउटै टेक्स्ट दुई मोबाइल नम्बरबाट एउटै समयमा, मिलिसेकेण्डको फरकमा, आयो । 

के थियो त्यसमा ?

त्यसमा तपाईले राजिनामा किन नगर्ने, राजिनामा नगरेर अझैसम्म किन बस्नुहुन्छ ? लेखिएको थियो ।

तपाईंकै पार्टीको मान्छे ?

त्यस नम्बरको नाम मोबाइलमा सेभ थिएन । नम्बर चाहिँ सुरक्षित छ । अनि मलाई लाग्यो ‘ए यो त कहीँ न कहीँ योजनाबद्ध रुपमा कुनै समूह एकै ठाँउमा बसेर यसलाई यसो गरौं भन्ने उद्देश्यका साथ गरिएको हो ।’ त्यसपछि मैले ‘एकै ठाँउमा बसेर मलाई सचेत गराउनुभएकोमा धन्यवाद’ भनेर मैले रिप्लाई गरिदिएँ । त्यसपछि म्यासेज आएन । 

ती चाहिँ तपाईले पद छोडेपछि मन्त्री छोप्नको लागि हो कि क्या हो ?

यो मन्त्री छोड्नु भन्दा अगाडीको हो ।

पार्टी भित्रका मन्त्रीका जो दाबेदारहरु छन्, उनीहरु हुन् कि ?

होइन, पार्टीमा योग्यता पुगेका साथीहरु छन् । 

तपाईले वक्तव्यमा धेरै कुराहरु भन्नुभएको छ । तर यो मुद्दामा ममाथि षड्यन्त्र पनि छ भन्नुभएको छ । त्यो कतातर्फ संकेत हो ?

बढाईचढाई गर्ने त्यस्तो तत्व पनि रह्यो । तर त्यस्तो तत्वहरुको बढाई चढाईले मलाई खासै असर पार्दैन ।

राजनैतिक रुपमा त्यस्तो बढाईचढाई त कयैन भोगेर आएको होइन्छ । राजनीतिमा सबै तपाईको समर्थक हुँदैनन् । तपाईको विरोधी पनि हुन्छन्, तपाईको समर्थन पनि हुन्छन् । 

तपाईंले दबाबमा राजिनामा गर्नुभएको ...

सुन्नुस् सुन्नुस्, म यो विषयलाई अलि स्पष्ट गर्न चाहन्छु । केही विरोधी साथीहरु त छन् । त्यो पार्टी भित्र होइन, पार्टी बाहिर छन् । पार्टीभित्र त विरोधी हुने कुरा भएन, किनकी एउटै पार्टी हो । सबै शुभचिन्तक छन्, समर्थक छन्, साथीभाई छन् । र विचारधारा फरक भएपछि अलि विरोधीहरु अरु पार्टीमा हुन्छन् नै । यसलाई अलिकति देखाइदिउँ भन्ने त हुन्छन् नै । तर त्यो कुरालाई पनि दबाबको रुपमा लिन्न । 

तपाईंलाई राजिनामा गराउन अर्को पार्टीको त अर्थै भएन नि ?

यसलाई पनि ठूलो कुरा लिइन् । तर ठूलो कुरा के हो भने कसैलाई चोट त प¥यो आखिर । हो त्यो चाहिँ दबाब हो । र त्यो दबाब ती जो बङ्गलादेशमा पढिरहेका र पढेर आएका हाम्रा छोरीहरु, एमबीबीएस पढेर आएका छन् वा पढ्दै छन् उहाँहरुको आत्मसम्मानमा कतै न कतै चोट त प¥यो, त्यो चोटबाट भने मलाई स्टे«स प¥यो । मलाई पार्टीको कुनै दबाब वा कुनै नेताले तिमीले तुरुन्त राजिनामा गर भनेको होइन । त्यस्तो परिसके पछाडि सरसल्लाह चाहिँ भएको हो, नेतृत्वसँग । यत्रो पार्टी, एउटा सिस्टममा चलेको पार्टी छ, नेतृत्वसँग सरसल्लाह गरेर अब अलग हुनु ठिक छ भनेर यो निश्कर्षमा पुगेको हो ।

एउटा कुरा नढाँटी भनिदिनुस् त । हिजो पत्रकार सम्मेलनमा पनि उपस्थित हुनुहुन्थ्यो तपाईंकी धर्मपत्नी । उनी आफैँ पनि सांसद हुनुहुन्छ, प्रदेश सांसद । उहाँ लामो समयदेखि महिला अधिकारको पक्षमा काम गर्दै आउनुभएको छ । उहाँको दबाब रह्यो कि रहेन ? सुनिन्छ उहाँले पनि दबाब दिनुभयो तपाईलाई राजिनामा गर्नको लागि, हो ?

हिजो होइन, उहाँ अस्ति बेलुका काठमाडौं आईपुग्नु भा हो । उहाँ कार्यक्षेत्रमै हुनुहुन्थ्यो, आफ्नो जिल्ला खोटाङ्गमा । त्यहाँबाट उहाँ फर्कनुभयो । बीचमा यो सबै प्रकरण हल्ला हल्लामै चलिरहेकै थियो । उहाँले सबै तथ्य सत्यहरु हेर्न पाइसक्नुभएको थिएन । त्यतिबेला भने उहाँले अलि सचेत गराउनुभएकै हो । ‘के बोल्नुभयो ? केही खराब बोल्नुभयो ? तपाईं त्यस्तो मान्छे त लाग्दैनथ्यो । किनकी हाम्रो यत्रो संगत, जीवनको संगत छ । तर तपाईंले कही गल्ती गर्नुभयो ? केही गलत बोल्नुभयो ?’ भन्ने खालको अलि आक्रोशपूर्ण कुरा नै थियो शुरुमा ।

तर जब उहाँले पनि मेरो क्लिप हेर्नुभयो, धेरै चोटी हेर्नुभयो । धेरै पटक हेरेर उहाँले विश्लेषण गर्नुभयो । त्यो विश्लेषण गर्दा उहाँले पनि सुनेको आधारमा केही उजागर गर्न खोजेको रहेछ भन्ने कुरामा उहाँ पनि कन्भिन्स हुनुभयो । त्यसपछाडि हामीले छलफल पनि ग¥यौं के गर्ने भनेर । हामी यस्ता कतिपय कुराहरुमा सल्लाह नै गर्छौं । र परिणाम आइसकेपछि सल्लाह यसकै लागि भयो होला भनेर बुझ्नुहोला । 

तपाईंले कसैको दबाब बीना नैतिकताको आधारमा राजिनामा गर्नुभएको कुरा गर्नुभयो । यदी त्यसो हो भने तपाई हिजो पत्रकार सम्मेलनमा त्यति भावुक हुनुपर्ने कारण के थियो ?

यो परिघटना म बताउन चाहन्छु । हामी दुवै जना, उषाजी र म, मानसिक रुपमा तयार भएर अब यो कदम उठाउने छौं भन्ने निर्णयमा पुग्यौं । पार्टीमा सल्लाह पनि गरेंउ हामीले । त्यसपछि समय फिक्स गरियो । समय फिक्स गरे पछाडि पत्रकारहरुलाई खबर गर्न थालियो । र खबर जानासाथ पत्रकार साथीहरुले लगातार मलाई फोन गर्न थाल्नुभयो । बिहानदेखि म एकदम फोनमा व्यस्त पनि रहें । उहाँहरुले किन पत्रकार सम्मेलन भन्नुभयो । परिघटना बढिरहेकाले राजिनामा कै लागि होला भनेर अनुमान पनि गर्नुभयो । अनि मैले पनि मेरो मन्त्रालयको मैले जिम्मा लिए पछाडिको कामको बारेमा ब्रिफिङ्ग गर्ने पत्रकार सम्मेलन हो भने । उहाँहरुलाई पत्यार लागिरहेको थिएन । तपाईको राजिनामा पनि आउने हो ? भनेर सोध्नुभयो अनि यो ऐच्छिक प्रश्न हो । जाँच हलमा प्रवेश गरिसके पछि छनौटमा दिइएको प्रश्न गर्न पाइन्छ । त्यो ऐच्छिक प्रश्न हो र त्यसलाई त्यहीँ उपस्थिति भएर जवाफ दिन्छु भने ।

त्यति गरेपछि उहाँहरुले अनुमान गर्नुभयो कानुनमन्त्रीको राजिनामा आउँदै छ भनेर, समाचारहरु आउन थालिहाल्यो ।

अनि म मन्त्रालय पुगें । विज्ञप्तीहरुको तयारी गर्ने क्रममा भित्र कर्मचारी साथीहरुसँग म बसिरहेका थिएँ । केही कानुनहरुको स्वीकृती पनि गर्नु थियो । त्यही गर्दै हामी बसिरहेका थियौं । 

पत्रकार साथीहरु आउन थाल्नुभयो भन्नुभयो, तल्लो हल व्यवस्था गरिएको थियो । कर्मचारी साथीहरुले तल्लो हलमा त अटेन भन्नुभयो । ल त्यसो भए माथिको ठूलो हलमा बसाउदैं गर्नु भने । त्यति धेरै पत्रकार साथीहरु उपस्थित हुनुहोला भनेर मेरो दिमागमा थिएन । पत्रकार सम्मेलन हो, केही साथीहरु आउनुहुन्छ मेरो कुरा राख्नेछु भन्ने थियो । 

अनि दिमागमा आफू जुन परिस्थितिमा थिएँ त्यो खेलिरहेको थियो । म जुन काम गर्न भनेर जुन उद्देश्यका साथ माटोलाई सम्झेर जुन गतिमा परिवर्तनको लागि आएको थिएँ, ती सुधारहरु, कानुनी रुपमै सुधार गरेर अघि जानुपर्छ । भ्रष्ट्राचार अन्त्यको लागि कानुनी रुपमै व्यवस्था गर्नुपर्छ र भ्रष्टाचार अन्त्यको लागि सार्बजनिक पद धारण गरेर बसेका व्यक्तिहरुको सम्पती सार्बजनिक गर्नुपर्छ, त्यो कानुनी रुपमै व्यवस्था गरिनुपर्छ भन्ने थियो । मैले यी कुराहरु जति खेर म बहाली भएँ त्यति खेरै घोषणा गरेको थिएँ । मिडियाले त्यति बेलादेखि नै मलाई पछ्याईरहेका थिए । 

यसले केही गर्न खोज्दैछ, यसलाई सहयोग गर्नुपर्छ भन्ने खालको मानसिकतामा मिडिया थियो । म त्यो कुरा महसुस गरिरहेको थिएँ । तर जब म हलमा पुगें एकाएक वातावरण मैले सोचेभन्दा पनि बढी पाएँ । मैले सोचिरहेका कुराहरुलाई पछ्याउने र त्यो कुरामा प्रकाश पार्ने, राष्ट्रलाई केही ट्रयाकमा ल्याउनुपर्छ भन्ने दृष्टिकोण आम मिडिया जगतको पनि रहेछ भन्ने कुराको महसुस भयो । त्यहाँ भित्र मन्त्रीको के दृष्टिकोणको आउँदो रहेछ त भन्ने बारेमा जान्नलाई उहाँहरु धेरै चासोपूर्वक उपस्थित भएको पाएँ । वास्तवमा त्यो जनताको अपेक्षा र हामीले गर्न चाहेको परिवर्तन, सुधार र त्यो सुधारमा जनताको आँखाबाट मिडिया क्षेत्रको समर्थन र ऐक्यबद्धता थियो । त्यो देखेपछि म थोरै भावुक भएकै हो । 

तपाईले अघि पार्टीको दबाब थिएन भन्नुभयो । त्यसो भए अरुको थियो ? न्यायाधीशहरुको सम्पती विवरण सार्वजनिक गर्ने, कानुनी रुपमै यसको व्यवस्था गर्ने अरु यावत कुराहरु जुन सुधारहरु अगाडि बढाउनुभएको थियो । एउटा यो भयो । त्यस्तै तपाईंको यो अभिव्यक्ति आउना साथ तपाईको पार्टी नेकपाका प्रवक्ताले ट्वीट गर्नुभएको थियो कि तपाईले राजिनामा गर्नुपर्छ भनेर ? अनि कसरी दबाब थिएन भन्नुहुन्छ तपाई ?

त्यो त दृष्टिकोण हो । म त्यसलाई दबाब मान्दिन, सल्लाह मान्छु । 

सल्लाह सुझाव त फोन गरेर पो भन्छन् त ट्वीट गरेर भन्छन् ?

फोनमा तत्काल मान्छे उपलब्ध नहुन पनि सक्छ । 

त्यो ठिक छ अब त्यो सुधारका कुराहरु बारेमा बताउनुस् न ?

मैले भन्न खोजेको वास्तवमा जुन ढंङ्गले म सुधार गर्न अघि बढें त्यो सुधारबाट अलि अफ्ठ्यारो पर्छ कि क्या हो भन्ने तत्व त छ । अनि त्यो गलत ढंङ्गले बढाईचढाई गरेर त्यो बीचको अंशमात्र राखेर अलि ‘बुस्ट अफ’ गर्ने काम उनीहरुबाटै भयो ।

त्यो म्यासेज पनि त्यही अन्तर्गत हो कि ?

हुन सक्छ । तर मलाई एक जनाले फोन गर्नु भा’थ्यो, उहाँले आक्रोशपूर्ण रुपमा फोन गर्नु भा’थ्यो । फोनमा उहाँले मलाई उनको छोरीलाई अपमान गरेको भन्नुभयो । त्यसपछि उहाँले मेरो छोरी बङ्गलादेशबाट पढेर आएकी छ भन्नुभयो । तपाईले बोलेको कुराले मेरी छोरीको अपमान भयो भन्नुभयो । मैले सहर्ष स्वीकार गरें, अहिले राजीनामा गर्या छु । उहाँको नम्बर छ, म सम्पर्क गर्नेछु । म उपस्थित भएर दश औंला जोडेर माफी माग्नेछु । उहाँसँग मात्र होइन । बङ्गलादेशबाट पढेर आएका छोरीहरु जसलाई मेरो शब्दले चोट पुगेको छ, सबैलाई भेटेर माफी माग्छु ।

तपाईसँग राजिनामा माग्नको लागि सोमबार बेलुका बालुवाटार बोलाइयो, भेटको शुरुमा के भन्नुभयो प्रधानमन्त्रीले ?

यो परिघटना त आखिर भइनै हाल्यो । यसले एक राष्ट्रिय चर्चा पनि पायो । के गर्ने ? मैले पनि एक मानसिकता बनाइरहेको थिएँ । किनभने कसैलाई मेरो भनाईले चोट पुगेको छ भने त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ भन्ने मानसिकता बनाइसकेका थियौं । त्यसबीच हामीले छलफल ग¥यौं । नेतृत्वसँग बसेर छलफल ग¥यौं । के गर्दा उचित हुन्छ, त्यही विषयमा बसेर हामीले छलफल गर्यौ ।

अहिलेको मन्त्रीमण्डलमा राम्रो काम गर्ने मन्त्रीमा तपाई पनि मानिनुहुन्थ्यो । यस्तो काम गरिरहेको एक सदस्यलाई प्रधानमन्त्रीले कसरी राजीनामा गर भन्न सक्नुभयो ? यसमा चाहिँ पार्टी भित्रको गुट जोडिन्छ कि जोडिँदैन ? 

मैले मेरो विज्ञप्ती फेरी सम्झाउन पर्दैन होला तपाईलाई । मैले मेरो विज्ञप्तिमा प्रष्ट लेखेको छु । मैले नैतिक हिसाबमा राजिनामा गरेको हो । प्रधानमन्त्री र पार्टी अध्यक्षसँग मेरो सरसल्लाह भएको हो । उहाँले दबाब दिनुभएको भन्ने जुन चर्चा आइरहेको छ, त्यस्तो पटक्कै होइन । तपाईले पार्टी भित्रकाहरुले किन जोगाउनु भएन भन्नुभएको छ नि, तर खासमा उहाँहरुले मलाई जोगाउनुभएको हो । 

यही अहिले म जुन पोजिसनमा छु त्यही पोजिसनमा जोगाउनुभएको छ । आज त्यो ठाँउमा बसिराखेर जसरी पनि टासिँईरहेर प्रतिष्ठाभन्दा पद ठूलो हो भनेर बसिरहेको, प्रधानमन्त्रीले पनि त्यही सुझाव दिएर म त्यहीँ बसि राख्थें भने आज तपाईसँग, तपाईको अगाडी यति शिर ठाडो गरेर बोल्न सक्दिन थिएँ होला । यही अर्थमा मेरो सम्मानीय प्रधानमन्त्रीले, मेरो श्रदय पार्टी अध्यक्षले र पार्टीको समग्र नेतृत्वले मलाई वास्तवमा यो प्रकरणमा बचाउनुभएको भन्ने नै लाग्छ ।

हाम्रो एक जना पाठकले तपाईसँग एउटा प्रश्न गर्नुभएको छ । ‘अब बङ्गलादेशमा जानेहरुको हाम्रो विद्यार्थीको शिक्षाको जुन कुरा छ, त्यस सम्बन्धमा बहस चलाउन आवश्यक छ कि छैन ?

एकदमै जरुरी छ । नेपालभित्रको मेडिकल शिक्षा त गुणस्तरीय भएन, महङ्गो भयो यसको सुधारको लागि भनेर हाम्रो एक जना अर्को डाक्टर अनशननै बसिरहनुभएको छ । यस्तोमा मुलुक भित्र हाम्रो कानुनले गाइड गरेर सुधार गर्ने ठाँउमा हामी काम गर्नेछौं । त्यो सुधार गर्न नसक्दा अर्को ठाँउ अत्यन्त उत्तम होला भनेर जाने ठाँउमा पनि फेरी ताउबाट उछिट्टिएको भुँग्रामा प¥यो भन्ने भयो भने त त्यो त झन दयनीय भयो । त्यसो भएको कारणले त्यहाँ पनि सुध्रिनुपर्छ । हाम्रा विद्यार्थीहरु सुरक्षित होइन र राम्रो शिक्षा प्राप्त गरेर आउन् ।

मेरो कुराको विरोध गर्ने साथीहरुलाई म विदेशमा शतप्रतिशत सुरक्षित छ भन्ने विश्वास गर्नुहुन्छ भने उभिदिन भन्छु ।  

केही मानिसले तपाई बोलिका कारण फस्नुभयो भनिरहेका छन् । हामीले सुने अनुसार तपाईभन्दा धेरै बोल्ने मन्त्री यही मन्त्रीपरिषद्मा छन् । अब यसबाट के अर्थ निकाल्ने ? तपाई एकदम अनुपयुक्त कार्यक्रममा जानुभयो ? अथवा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर जानुभयो ? अनावश्यक ठाँउमा अनावश्यक कुरा बोल्दा बढी भयो ? यस कुराबाट के शिक्षा लिन सकिन्छ ?

मान्छेहरुले चर्चा पनि गरे, असम्बन्धित कार्यक्रममा नजाँदा राम्रो भन्ने आयो । तर हामी जनप्रतिनिधिहरु हौं । सम्माननीय प्रधानमन्त्रीदेखि लिएर हामी तलका निर्वाचित कार्यकर्ताहरु सबै जनप्रतिनिधिहरु हौं । जनताको माग हुन्छ । पाश्नीदेखि लिएर विवाह, ब्रतबन्धमा जानुपर्छ । मृत्युसंस्कारको लागि आर्यघाटमा पनि पुग्नै प¥यो । कुनै गुम्बाहरुमा भएका कार्यहरुमा पनि पुग्नैपर्छ । अब समाजिक कामहरुमा त झन पुग्नैपर्छ । समय निकालेर भ्यायसम्म म पुग्छु र पुग्नुपर्छ भन्ने ठान्छु । पुगेको ठाँउमा आफ्नो व्यवहार के हुने भन्ने मुख्य कुरा हो । आफ्नो काम ‘ह्याम्पर’ गरेर जानु हँुदैन । र म त्यसरी गइन पनि, मैले सम्पादन गरेका कामहरुको फेहरिस्त बाहिर आएकै छ ।  

मैले जान्न चाहेको चाहिँ तपाई कानुनमन्त्री त्यहाँ गएर मेडिकल शिक्षाबारेमा किन बोलिरहनुपथ्र्यो र ?

प्रसंङ्ग मिल्यो ।

तपाईंको मन्त्रालय सबैतिर जोडिएर त्यसो भएको हो ?

सरकार बन्दा मैले कानुन मन्त्रालय पाए पनि मैले के शिक्षाको बारेमा बोल्नुहुँदैन त ? शिक्षाबारे मलाई केही थाहै छैन त ?

अहिले तपाईको त्यो दायित्व होइन नि त ?

यो राष्ट्रले लिने दायित्व भित्रै पर्छ । 

असम्बन्धित व्यक्तिले बोलाएको ठाँउमा खाने, कार्यक्रममा सहभागी हुने कुराले अफ्ठ्यारो पार्न सक्छ भन्ने कुरा त तपाईको प्रधानमन्त्री र पार्टीका अध्यक्ष प्रचण्डले मार्सी चामलको भात खाएको तस्बिर बाहिर आएपछि भएको विवादले पनि देखायो नि ?

यो गलत प्रचार गरिएको कुरा हो । त्यसो भए कमरेड पुष्पकमल दाहाल र हाम्रो प्रधानमन्त्री केपी ओलीले मसिनो चामलको भात खानुपथ्र्यो ? मार्सी चामल नेपालको मौलिक हो ।

त्यस्तो होइन मार्सी चामल मिठो नमिठोको कुरा होइन को सँग बसेर कहाँ खाए भन्ने कुरा हो ? त्यसलाई त सबैभन्दा ठूलो नमीठो चामल भन्छन् ।

त्यसो पनि होइन । नेपालको मौलिक धान हो है फेरी त्यो । लोप हुन लाग्या छ । पहिला नेपालभरी हुने चामल फेरी मार्सी चामल नै हो । र त्यो अत्यन्त राम्रो, स्वाथ्यबर्धक र धेरै प्राकृतिक तत्व भएको धान हो । 
तपाईले भन्नुभएको पनि ठीक हो कहाँ खाने ? भन्ने पनि । अब यो हेर्ने दृष्टिकोण हो । फाटेको लुगा गरिबले लायो भने फाटेको लुगा हुने, धनिले लायो भने फेसनको रुपमा बुझ्ने हाम्रो आखाँले हो हेर्नुस् । 

तपाईंलाई अझै पनि म असम्बन्धित कार्यक्रममा गएछु भन्ने लाग्दैन ?

म मन्त्री हुदाँ खेरी धेरै कार्यक्रमहरुको निमन्त्रणा आउँथ्यो । त्यसमध्ये फिल्टर गरेर पनि कमसेकम म ५० प्रतिशत कार्यक्रमहरुमा जान्थे । कतिपय हार्नै नसक्ने साथीहरु र यो कार्यक्रममा तपाईं आउनैपर्छ भनिएका कार्यक्रमहरुमा जाने गर्छु । 

तपाईलाई राजिनामा गर्न सम्म बाध्य पारेको यो घटनामा हाल राजिनामा दिइसकेपछि पछुतो छ कि छैन ?

म त अत्यन्त उत्साहित छु । एकदमै खुसी छु ।

राजनैतिक रुपमा घाटा लाग्यो कि लागेन तपाईलाई ?

मैले यो चीजबाट घाटा र नाफा जोडेर ग्राफ बनाउन चाहन्न । 

होइन, बल्ल मन्त्री पद पाउनुभएको थियो त्यो पनि गयो । अब फेरी पाइन्छ कि पाइँदैन ?

म सात कक्षा, आठ कक्षा तिर पढ्दा खेरी ‘अखिल के हो’ भनेर राजनीति शुरु गरें । त्यो पञ्चायत काल नै थियो । ३७÷३८ सालको कुरा हो । त्यतिबेला आन्दोलन सफल होला नहोला निश्चित थिएन । त्यो बेलाको हाम्रो दृष्टीकोण ५२ सालदेखि साथीहरु हिँड्दाको जस्तो थियो, हामी मुलुकको परिवर्तनको लागि परि आयो भने बन्दुक उठाउनेछौं भन्ने थियो । त्यो दृष्टिकोणबाट हिँडेको मान्छे आज चुनावमा लडिएला, जितिएला, मन्त्री होइएला, फलानो नै पाइएला भन्ने थिएन नि । तर मुलुकको परिवर्तनको लागि ज्यान पनि दिइन्छ भन्ने थियो । किनकि आन्दोलनमा हिँड्दा सँगै हिँडेका साथीहरु हिजोका जनआन्दोलनका दिनहरुमा रत्नपार्क, त्रिपुरेश्वरमा ढलेका छन् । त्यो गोली हामीलाई पनि लाग्न सक्थ्यो । त्यसो भएको हुनाले यो सबै यही बन्छु भनेर हिँडेको होइन । त्यसैले म पद र प्रतिष्ठा अलग गरेर हेर्ने मान्छे । कत्ति मान्छे चाहिँ पद पाएपछि प्रतिष्ठा पाएँ भन्छन् । अनि त्यो गुम्दा भइरा’को, खाइरा’को चिज गुमाए जस्तो गर्छन तर म त्यस्तौ गर्दिन । 

अबको भूमिका के हुन्छ त ?

उही हो, निरन्तरको भूमिका । 

अब चाँही साँच्चीकै अन्तिम प्रश्न । शिक्षा मन्त्रालय आफैँले बङ्गलादेशमा मेडिकल शिक्षाको अवस्था जाँचबुझ गर्न अध्ययन टोली त्यहाँ पठाएको थियो । त्यसको प्रतिवेदन पनि शिक्षा मन्त्रालयमा छ, त्यो प्रतिवेदनमा चाहिँ तपाईले भन्नुभएको कुरा जस्तै कुराहरु पनि छ भन्ने चर्चा छ र त्यो खोज्नु हुन्छ र बाहिर ल्याउनुहुन्छ कि अब यो यत्तिक्कै सक्किन्छ ?

म पनि सरकारमा रहेको पार्टीकै सदस्य हुँ । हामी खोजी गरौलाँ । तर म पुष्टि गर्नतिर लाग्दिन । म त भन्छु पुष्टि हुँदै नहोस् । कोही पनि हिंसामा परेको नहोस् । सबैजना सकुशल होउन् । मेरो चाहना त्यही हो ।
बङ्गलादेश पढेर आएका चेली र अभिभावकहरु जति नि छन्, उहाँहरुसँग चाहिँ म पुनः माफी माग्न चाहन्छु । फोनबाट पनि नहुनेहरुलाई म भेटेरै दश औला जोडेर पनि माफी माग्न चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप