बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब डा. केसी पक्षको आन्दोलन बन्द हुन्छ : नेता जनार्दन शर्मा

बिहीबार, १० साउन २०७५, १४ : ४४
बिहीबार, १० साउन २०७५

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले डा. गोविन्द केसीको पक्षमा उठेको आन्दोलन भोलिबाट बन्द हुने दाबी गरेका  छन् । 

रातोपाटीसँगको कुराकानीमा नेता शर्माले सरकारले अब जनताको पक्षमा उचित निर्णय लिने र यो निर्णयपछि स्वतः आन्दोलन बन्द हुने बताए ।

सरकारले मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपर्ने आवाज उठिरहेका बेला नेकपाका एक प्रभावशाली नेता शर्माले अब जनताका पक्षमा निर्णय गर्ने बेला आएको बताएका हुन् । उनले स्वास्थ्य शिक्षा र मेडिकल कलेज सबै सरकारले जिम्मा लिनुपर्ने समय आएको स्पष्ट गरे । 

‘स्वास्थ्य शिक्षा, मेडिकल कलेज सबै सरकारले जिम्मा लिनुपर्ने समय आएको छ । तर यसमा सरकारले प्राइभेट सेक्टरलाई बाइपास गर्यो भन्ने भ्रम सिर्जना हुन पनि सक्छ । पहिला निर्णय गरेको भए प्राइभेट सेक्टरलाई सरकारले लगानी गर्न दिएन भनेर प्रश्न आउँथ्यो । त्यो प्रश्न नआओस् भन्नका लागि जनमत जरुरी थियो । त्यो जनमत अहिले प्राप्त भएको छ ,’ नेता शर्माले भने । 

उनले अहिले सरकारको जति आलोचना भएको छ, त्यो सरकारको पक्षमा रहेको पनि बताए । नेता शर्माले अब मेडिकल कलेजहरु राष्ट्रियकरणको दिशातिर जानसक्ने सङ्केत गरे । शर्माले डा. केसीको विषयमा प्रश्न उठ्ने ठाउँलाई नै समाप्त गर्नुपर्ने बताए । 

‘गोविन्द केसीको मुद्दामा सरकारले नयाँ कदम लिनुपर्छ, जसले जनतामा विश्वास पैदा हुन्छ । जनताको अपेक्षा, शिक्षा स्वास्थ्यमा अहिले जे माग छ, त्यसको सम्बोधन सरकारले गर्छ । अब आन्दोलनमा उठेका भ्रमहरूलाई चिर्ने गरेर सरकारले निर्णय गर्नुपर्छ र गर्छ । यो आन्दोलन भोलिबाट बन्द हुन्छ’, उनले भने । 

शर्माले अहिले सरकार समस्या समाधानका लागि सकारात्मक तवरबाट वार्तामा रहेको बताए । नेता शर्माले केसीको आन्दोलन पहिलो नभै निरन्तरताको आन्दोलन भएकाले यसलाई फरक ढङ्गले समाधान गर्न आवश्यक रहेको बताए ।

‘यो समस्या दिगो रूपमा समाधान गर्नुपर्छ । समाधान वार्ता, सम्झौताबाट भन्दा पनि फरक ढङ्गले गरिनुपर्छ । त्यसका लागि अहिलेको समय उपयुक्त हो’, उनले भने, ‘यो सरकारलाई डर पनि होला । त्यो के होला भन्दा कम्युनिस्टको सरकार जन्मिनुपूर्वैै अधिनायकवादी भनेर जुन दुष्प्रचार भएका छन्, तिनको अगाडि झन् थोरै समस्या होला कि भनेर अलि उदारता, खुलापन देखाएको जस्तो देखिन्छ । सीधै स्वास्थ्य शिक्षा अब सबै सरकारले सञ्चालन गर्छौं भनेको भए त्यहाँ अर्को जुलुस आउँथ्यो । त्यसैले अहिले उठेका  समस्या समाधानका लागि ठीक समय आएको छ ।’ 

नेता शर्माले अब सरकारले जनताको पक्षमा काम गर्ने बेला आएको पनि बताए । ‘डा. गोविन्द केसीका माग सरकारले अब दृढतापूर्वक नयाँ निर्णय गर्नुपर्छ र गर्छ । सरकार स्वयम्ले यी समस्याहरूको समाधानका लागि नयाँ निर्णय गरेर सबैको चासो समेटेर सरकार अघि बढ्नुपर्छ । 

सरकार अहिलेको परिपक्व जनमतलाई लिएर डा. गोविन्द केसीले उठाएका मुद्दामा नयाँ निर्णय गर्ने समयमा पुगेको छ । म विश्वस्त छु, अब सरकारले जनताको पक्षमा निर्णय गर्छ’, उनले भने ।
नेता शर्माले केसीलाई केहीले उपयोग गरेको पनि बताए । ‘डा.केसीको आन्दोलन आजको आन्दोलन होइन । विगतदेखिकै आन्दोलन हो । यसलाई फरक ढङ्गले समाधान गरिनुपर्छ । एक पटक सहमति गरेर वा वार्ता गरेर समाधान हुने विषय होइन’, शर्माले भने, ‘सरकारले सकारात्मक ढङ्गले वार्ता गरेको छ । तर गोविन्द केसी आफै अनशनमा हुनुहुन्छ । उहाँसँग प्रत्यक्ष वार्ता हुन सक्दैन । वार्ता गर्ने मान्छेहरूको आफ्ना इन्टे«स्ट छन् । त्यहाँभित्र पनि राजनीति गरेका छन् ।’

उनले केसीले उठाएका विषयहरू आफैंमा नराम्रा नभएको भन्दै तिनै विषयलाई लिएर अनशन बस्नु पर्ने अवस्था नरहेको बताए । 

ती सरकारसँग छलफल गरेर समाधन गर्न सकिने विषय थिए भन्ने उनको भनाइ छ । ‘केसी आफैले छलफल गरेको भए हुने थियो । त्यो पनि जुम्लामा गएर अनशन बस्ने वातावरण जुन बन्यो, त्यो कसरी बन्यो ? तर पनि त्यसमा सरकारले सकारात्मक पहल गर्यो,’ उनले भने । 

उनले सरकारले पाँच महिनामा परिणाम ल्याउने तयारी मात्र गरेको बताए । जनताले देखिने गरी काम गर्ने तयारीकै समय पारेर विभिन्न आन्दोलन र अवरोध भएको उनको भनाइ छ । 

दुई तिहाईको सरकार बनेको सन्दर्भबाट आत्तिएर सरकार अधिनायकवादी भयो भनेर प्रचार गरिनु राम्रो नभएको उनले बताए । 

‘अधिनायकवादको जुन भ्रम जनतामा छरिएको छ, त्यो स्वयम् जनताले चिर्नुपर्ने समय आएको छ । विपक्षीले जनतामा जुन भ्रम सिर्जना गरेका छन्, त्यसको जवाफ सरकारले काम गरेर जनतामा प्रमाणित गर्नुपर्ने समय आएको छ,’ उनले भने । 

उनले सरकार गठन भएको पाँच महिना मात्रै भएको छ र कम्युनिस्ट पार्टीको सरकार हुनुको नाताले जनतामा ठूलो आशा र विश्वास रहेको बताए । 

‘तर परिस्थिति कस्तो भयो भने राज्यका विविध अवैभहरू छन् । राज्य सत्तामा विगतदेखि थुपारिएका फोहोरहरू छन् । थुपारेको फोहोरहरूलाई सफा गर्न समय लाग्छ । सरकार त्यो सफा गर्नमा नै लाग्नुपर्छ । एकातिर विगतको फोहोर छ अर्कातिर नयाँ संरचनामा जानु छ ।’ उनले भने, ‘थुप्रिएको फोहोरलाई सफा गर्न निकै कला, मिहिनेत, शक्ति र योजना आवश्यकता छ । अर्कोतिर सङ्घीय लोकतान्त्रिक संरचना जो छ, सङ्घीय, प्रदेश, स्थानीय सरकारका बीचको सहकार्य र अन्तरसम्बन्धलाई सही र सन्तुलित बनाएर जानुपर्ने छ । यसका लागि समय लाग्छ । त्यसैले तत्काल रिजल्ट आई नहाल्न सक्छ तर यो सरकारलाई जनताले अपेक्षा गरेभन्दा दायाँ बायाँ जाने छुट पनि छैन, जाँदा पनि जाँदैन । जनताले रिजल्ट खोजेका छन् तर रिजल्ट आउन समय लाग्छ ।’ 

सरकार फोहोर सफा गर्न र नयाँ प्रक्रियामा जान समय खर्चिनुपर्ने अवस्थाको बीचमा अन्तर्विरोध जस्तो देखापरेको उनले बताए । ‘तीनवटै कुराले अलमल परे जस्तो लाग्यो । जसले गर्दा यो सरकारले गति लिने होइन कि भने जस्तो हुनगयो । जनताले तत्काल रिजल्ट खोज्नु जायज हो तर त्यो सम्भव थिएन । प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको प्रतिबद्धता, विकास निर्माणमा रणनैतिक महत्वका कुराहरू गर्नु भएको छ ।’ उनले भने, ‘यी कुराको लागि स्टेप बाई स्टेप हिँड्नु पर्छ । त्यसका लागि लामो समय लाग्छ । सबै कुराहरूलाई एकैपटक ह्यान्डिल गरेर जानुपर्ने स्थितिमा हुँदा थोरै अलमल जस्तो देखिएको छ । यसका लागि हामी आन्तरिक गृहकार्यबाट फुकाउँदै छौँ, त्यसको तयारीमा हामी लागेका छौँ । अब गतिशील रूपमा अघि बढाउँछौँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप