शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युरोप भन्दै मरिससमा बेचिँदै नेपाली विद्यार्थी, विद्यार्थी नपठाउन दूतावासको अपिल

बुधबार, १६ साउन २०७५, १६ : ००
बुधबार, १६ साउन २०७५

काठमाडौँ । अफ्रिकी महाद्वीप तटको दक्षिण–पश्चिममा करिब ९ सय किलोमिटरको दूरीमा हिन्द महासागरमा एउटा सानो टापु छ । २ हजार ४० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एउटा सानो टापु, जहाँको प्रतिव्यक्ति आय भने आकर्षक छ । वार्षिक करिब २० हजार अमेरिकन डलर प्रतिव्यक्ति आय भएको देश नराम्रो होला त भनेर कसले पो सोच्ला र !

तर मरिससको यथार्थ भने अलिक फरक छ । सानो देश र करिब १३ लाख मात्रै जनसङ्ख्या भएकाले यहाँको प्रतिव्यक्ति आय राम्रो देखिए पनि यहाँ बस्न भने ज्यादै कठिन छ । मुख्यतः पर्यटनलाई आफ्नो पेसा बनाएको मरिसस उत्पादनभन्दा पनि बढी सर्भिसबाट लाभ लिइरहेको छ ।

पछिल्ला दिनमा मरिसस आकर्षक गन्तव्य भन्दै काठमाडौँलगायत देशका मुख्य सहरहरूबाट अध्ययनका लागि भन्दै यो टापुमा पठाउने कन्सल्टेन्सी र विद्यार्थीको सङ्ख्या बढिरहेको छ । मुख्यतः मरिससमा होटल म्यानेज्मेन्टलगायतका विषय अध्ययन गर्न भन्दै विभिन्न कन्सल्टेन्सीले प्रतिव्यक्ति करिब ८ लाख रुपियाँ लिएर पठाउने गरेका छन् । मरिससमा यूकेको डिग्री प्राप्त हुने र आकर्षक कमाइ हुने भन्दै कन्सल्टेन्सीले मरिससमा विद्यार्थी पठाइरहेका छन् । 

तर मरिससको यथार्थ भने त्योभन्दा फरक छ । मरिससमा अध्ययनसँगै काम गर्ने भनेर मरिसस पुगेका विद्यार्थी भने आफूलाई नर्कमा ल्याइएको भन्दै उद्धार गरिदिन पहल गरिरहेका छन् । 

बाग्लुङका विष्णु सुवेदी (नाम परिवर्तन) काठमाडौँस्थित एक कन्सल्टेन्सीबाट अध्ययन र रोजगारीका लागि भन्दै मरिसस पुगे । सन् २०१७ को सेप्टेम्बर सेसनमा अध्ययनका लागि भन्दै मरिसस पुगेका उनी त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जतिबेला मरिससको वास्तविकता र कन्सल्टेन्सीको ‘ललिपप’बीचमा व्यापक अन्तर देखे । 

मरिसस सम्पन्न देश भएको र त्यहाँको प्रतिव्यक्ति आय राम्रो भएकाले युरोपका अन्य देशहरूभन्दा राम्रो देश भनिएको थियो । अमेरिकापछिकै राम्रो देश भन्दै उनलाई बागबजारस्थित एक कन्सल्टेन्सीले ८ लाख रुपियाँ लिएर मरिसस पठाएको थियो । त्यो ८ लाखमध्ये १ वर्षको अध्ययनको शुल्क र ३ महिनाको होस्टल शुल्क समावेश थियो ।

मरिससमा पुगेपछि काम पनि पाइने र अध्ययन पनि गर्न पाइने भन्दै विष्णुलाई मरिसस पुर्याइएको थियो । कक्षा ११ अध्ययन गर्दागर्दा होटल म्यानेज्मेन्ट पढ्न मरिसस पुगेका उनी त्यतिबेला जीवन र मरणको अवस्थामा पुगे जतिबेला होस्टलबाट उनलाई निकालियो । निम्न मध्यम परिवारका विष्णुलाई परिवारले ऋण खोजेर मरिसस पठाएका थिए । मरिसस राम्रो देश भएको भन्दै अध्ययन सकेर नेपाल फर्कंदा ८, १० लाख पैसा पनि कमाएर ल्याउने सपना विष्णु र उनका परिवारलाई कन्सल्टेन्सीले देखाएका थिए । तर पैसा कमाउनु त कता हो कता मरिससमा खान र बस्न नै नपाउने स्थिति भएपछि एक पटक त विष्णुले आत्महत्याको प्रयास पनि गरे । 

होस्टलमा पैसा तिरेको समय अर्थात् मरिसस गएको ३ महिनापछि मासिक २० हजार नेपाली रुपियाँका दरले ६ महिनाको एकमुष्ठ पैसा बुझाउन भनियो । तर विष्णुले न परिवारबाट थप पैसा मगाउन सक्थे न त होस्टल छाड्न नै सक्थे । जेनतेन थप एक महिना होस्टलमा बसे पनि त्यसपछि भने उनलाई होस्टलबाट निकालियो र उनी त्यहाँकै एउटा पाटीमा बस्न पुगे । पाटीमा बस्दै उनले निरन्तर काम खोजिरहे तर बाँच्न सक्ने हैसियतको काम नै पाएनन् । अन्ततः मासिक ८ हजार मरिसियन रूपी पाउने गरी मरिससको एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाए । मरिससको १ रुपियाँ बराबर नेपाली करिब ३ रुपियाँ ३० पैसा जति हुन्छ । त्यो भनेको मासिक करिब २६ हजार नेपाली रुपियाँ थियो । दिउँसोको खाजा र साँझको खाना रेस्टुरेन्टमै पाउने भएपछि उनले त्यही काम गर्न थाले । अर्को एकजना नेपाली साथीसँग मिलेर कोठा पनि भाडामा लिए र बस्न थालेँ । 

सोमबार साँझ रातोपाटीसँगको कुराकानीमा भावुक बनेका विष्णुले भने– ‘के गर्नु घरमा त्यस्तो कुरा भन्न सक्ने अवस्थामा म थिइनँ । किनभने म यता आउँदा नै सबै रकम ऋण खोजेर ल्याइएको थियो । बरु एक पटक आत्महत्या गर्ने प्रयाससमेत गरेँ । तर बाँच्न जति गाह्रो छ, मर्न त त्योभन्दा पनि गाह्रो रहेछ । अनि आत्महत्या गर्न सकिन र सङ्घर्ष गर्ने निर्णय गरेँ ।’

विष्णुको यो पीडा उनको परिवारलाई अझै थाहा छैन र विष्णुले भनेका पनि छैनन् । परिवारले देश र पढाइ कस्तो छ भनेर बेलाबेलामा सोध्दा उनी बाध्य भएर राम्रो छ भन्न बाध्य छन् । तर मरिससको यथार्थ भने विल्कुल फरक छ । 

विष्णु त जागिर पाएका एकजना नेपाली विद्यार्थी भए । मरिससमा काम र माम नपाएर विचल्लीमा परेका धेरै नेपाली विद्यार्थीहरू छन् । परिवार सम्पन्न हुनेहरूले त घरबाट पैसा पठाएर अध्ययन पूरा गर्दै छन् । तर विष्णुजस्तै निम्न मध्यम र निम्नस्तरका विद्यार्थीका हालत के होला ?

न त त्यहाँ अलिक मध्यम स्तरको काम पाउन सकिन्छ न त काम पाए पनि राम्रो तलब सुविधा नै छ । मरिससमा निम्न स्तरको जीवनयापन गर्न पनि मासिक २५ हजार लाग्छ । त्यो पनि ग्रुपमा कोठा लिएर बसेमा मात्रै । नत्र एक्लै कोठा खोजेर बस्ने हो भने त्यहाँ मासिक खर्च करिब करिब ३५ हजार पुग्छ । तर बिहान कलेज र दिउँसोदेखि करिब ८, १० घण्टा काम गर्दा पनि मासिक २६ हजार मात्रै हुनेभएपछि उनलाई खर्च धान्न पनि धौ–धौ छ ।

बेला–बेलामा घरबाट ब्याज तिर्नका लागि पैसा पठाइदिन भन्दै फोन आउँछ, त्यतिबेला विष्णुलाई थप पीडा हुन्छ । किनभने केही कमाएको पैसाले बाँकी २ वर्षको कलेजफी तिर्नै छ । कलेजको शुल्क नै मासिक करिब ३० हजार नेपाली रुपियाँ लाग्छ । त्यो पैसा कसरी उनले घर पठाउन् । 

विष्णु त जागिर पाएका एकजना नेपाली विद्यार्थी भए । मरिससमा काम र माम नपाएर विचल्लीमा परेका धेरै नेपाली विद्यार्थीहरू छन् । परिवार सम्पन्न हुनेहरूले त घरबाट पैसा पठाएर अध्ययन पूरा गर्दै छन् । तर विष्णुजस्तै निम्न मध्यम र निम्नस्तरका विद्यार्थीका हालत के होला ?

आर्थिक वर्ष २०७४/७५ अर्थात् २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने नेपालबाट ३ सय ६४ जना नेपाली विद्यार्थीहरू मरिससमा अध्ययनका लागि पुगेका छन् । उनीहरूलाई त्यहाँ उच्च स्तरीय शिक्षा र आकर्षक कमाइको लोभ देखाइन्छ । तर मरिससमा पहिलो कुरा राम्रो काम पाउन नै असम्भवजस्तै छ भने काम पाइहाले पनि विद्यार्थीले काम पाउने भनेको दैनिक ४ घण्टा मात्रै हो । केही भारतीय मूलका मानिसहरूको रेस्टुरेन्टमा अवैधानिक रूपमा बढी समय काम दिए पनि त्यहाँ पूरा तलब दिइँदैन । जसका कारण मरिससमा बसेर पढ्न अत्यन्तै कठिन छ ।

युरोप भन्दै मरिसस पठाउँदै

बागबजार, पुतलीसडक र डिल्लीबजार क्षेत्रका अधिकांश कन्सल्टेन्सीले मरिससलाई युरोप भन्दै झुट बोलेर पठाउने गरेका छन् । कुनै विद्यार्थी वा तिनका अभिभावकले युरोप होइन भनेमा मात्रै उनीहरूले मरिससबाट युरोप जान सजिलो हुने युरोप जस्तै देश भन्छन् ।

वास्तवमा मरिसस अफ्रिकी महादेशको एउटा सोनो टापु मात्रै हो । जनसङ्ख्या थोरै भएकाले प्रतिव्यक्ति आय राम्रो देखिए पनि मरिससको खर्च पनि उस्तै महँगो छ । यद्यपि कन्सल्टेन्सीले भने युरोपमा भन्दा राम्रो कमाइ हुने र राम्रो देश भन्दै झुक्याइरहेका छन् ।

आम्दानीले खर्च धान्नै मुस्किल

गोरखाका विकास पन्त (नाम परिवर्तन)का अनुसार उनलाई पुतलीसडकस्थित एक कन्सल्टेन्सीले मासिक करिब ३५ हजार बचत हुने भन्दै मरिसस पठाएको थियो । ६ महिनाको कलेजको शुल्क र ६ महिनाको होस्टल शुल्कबापत एकमुष्ठ ६ लाख ५० हजार बुझाएर मरिसस पुगेका उनले ९ महिनासम्म कुनै काम पाउन सकेनन् । त्यसपछि पाएको काममा पनि न्यूनतम तलब सुविधा पाउन सकेनन् । चिनियाँको एक होटलमा मासिक ३० हजार नेपाली रुपियाँ पाउनेगरी काम गर्न थाले । तर त्यो खर्चले कलेजको शुल्क तिर्न नै गाह्रो भएपछि उनले कलेज जानै छाडिदिए ।

मरिससमा विद्यार्थी नपठाउन दूतावासको पत्र

अफ्रिकी मुलुक मरिससमा वार्षिक करिब ४ सय नेपाली विद्यार्थी होटल म्यानेज्मेन्ट विषय अध्ययनका लागि पुग्ने गरेका छन् । त्यहाँ धेरै होटल भएको र काम फालाफाल भएको भन्दै कन्सल्टेन्सीले पढ्दै डलर कमाउन सक्ने प्रलोभन देखाएर पठाउँछन् । तर मरिससको शिक्षा महँगो भएका कारण त्यहाँ काम गरेको पैसाले कलेजको शुल्क तिर्न असम्भवजस्तै छ । 

५ वर्षमा ७० भन्दा बढी विद्यार्थीको उद्धार

विगत ५ वर्षमा मरिससबाट करिब ७० जना विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याइएको दक्षिण अफ्रिकास्थित नेपाली राजदूत अमृतबहादुर राईले बताए । सोमबार दिउँसो रातोपाटीसँगको कुराकानीमा मरिसस हेर्ने दक्षिण अफ्रिकास्थित नेपाली राजदूत राईले मरिसस अध्ययनका लागि उचित गन्तव्य नभएको बताए । उनले भने ‘यदि मरिससको कुनै विश्वविद्यालयले पूर्ण छात्रवृत्तिमा नेपाली विद्यार्थीलाई पढाउँछ भने त्यो ठीकै होला तर सबै कुरा छानविन गरेर मात्रै पठाउनुपर्छ । नत्र भने मरिसस नेपाली विद्यार्थीका लागि उचित गन्तव्य होइन ।’

मरिससमा बारम्बार नेपाली विद्यार्थी समस्यामा परेपछि शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई मरिससको बारे के कस्तो देश हो र त्यहाँको अवस्था कस्तो हो भनेर सोधिएको थियो । त्यसको जवाफमा दक्षिण अफ्रिकास्थित नेपाली राजदूत अमृतबहादुर राईले मरिससमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई रोक्नुपर्ने ब्यहोराको पत्र परराष्ट्र मन्त्रालयलाई पठाएका थिए । 

हेर्नुहोस् राजदूत राईले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र

राजदूत राईको पत्र परराष्ट्र मन्त्रालयमा आइपुगेपछि परराष्ट्र मन्त्रालयले शिक्षा मन्त्रालयलाई पत्र लेख्दै मरिससमा विद्यार्थी पठाउन उपयुक्त नहुने रायसहितको पत्र पठाएको छ । परराष्ट्रको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका हेर्ने महाशाखाबाट शिक्षा मन्त्रालयलाई पठाइएको पत्र यस्तो छ । 

शिक्षा मन्त्रालय अझै मौन
राजदूत राई र परराष्ट्र मन्त्रालयकै पत्र आएपछि शिक्षा मन्त्रालयमा पनि यस विषयमा पटक पटक छलफल भएको छ । अब अध्ययनका लागि भन्दै मरिससमा विद्यार्थी पठाउने कि नपठाउने भन्ने सम्बन्धमा मन्त्रालयमा छलफल भए पनि अझै टुङ्गोमा पुग्न सकेको छैन ।

यसै विषयमा हामीले शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याललाई मरिससबारे के भएको हो भनी सोधेका थियौँ । उनले मरिससको विषयमा कुरा उठेको तर के गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए । उनले भने– ‘मरिससका सम्बन्धमा केही गुनासा र उजुरी तथा परराष्ट्र मन्त्रालयको पत्रसमेत आएको छ । हामीले तत्कालका लागि मरिससको नो अब्जेक्सन लेटर (एनओसी) रोकेका छौँ । अब चाँडै नै यसबारे निर्णय हुन्छ ।’

कन्सल्टेन्सीको चलखेल
यता मरिससमा विद्यार्थी पठाउँदै गरेका कन्सल्टेन्सीहरूले भने शिक्षा मन्त्रालयसँग एनओसी दिन दबाब दिइरहेका छन् । मन्त्रालयले कुनै निर्णय नगरेकाले शिक्षा मन्त्रालयको एनओसी शाखाले विगत १ महिनादेखि कसैलाई पनि एनओसी दिएको छैन । यद्यपि यसबारे दबाब भने आइरहेको छ । कन्सल्टेन्सीहरूले भने राजनीतिक पहुँच प्रयोग गरेर भए पनि मरिसस खुलाउने तयारी गरिरहेका छन् ।

यो पनि पढ्नुहोस्

पढ्नकै लागि वार्षिक ६० हजार नेपाली विद्यार्थी विदेशमा, १ खर्ब २० अर्ब विदेशी बैङ्कमा

कोरियामा नेपाली विद्यार्थी : कन्सल्टेन्सीको ललिपप, डिप्रेसनमा विद्यार्थी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप