बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कसले ताक्यो सांसद निरुलाई पेस्तोल ? पूर्वरक्षामन्त्री भन्छन्, ‘मिसनमा आएको मान्छेले जहाँ पनि हान्छ’

बुधबार, १६ साउन २०७५, २१ : ४०
बुधबार, १६ साउन २०७५

काठमाडौं । प्रधानन्यायधीश नियुक्तीको बिषयमा पटक–पटक स्थगित भई बुधबार दिउँसो साँढे ३ बजे बोलाइएको संसदीय सुनुवाई वियष समितिको बैठकमा नेकपाका केही सांसद सुरक्षाकर्मीसहित देखिए । 

सिंहदरबारस्थित संसद सचिवालयको पूर्व राज्यव्यवस्था समितिको हलमा डाकिएको बैठकमा नेकपाका सांसद निरुदेवि पाल, योगेश भट्टराईलयागतका सांसद व्यक्तिगत सुरक्षाकर्मी पिएसओसहित हिँडिरहेका थिए । 

यसअघि एक्लै हिँड्ने सांसदहरुको पछाडी सुरक्षाकर्मी हिँडेको देखेपछि चासो बढ्यो । पछि हल्ला चल्यो सांसद निरुदेवि पाललाई अघिल्लो साँझ बानेश्वरमा अज्ञात व्यक्तिले पेस्तोल ताकेर धम्की मात्र दिएन्, उनको मोवाइल फोन समेत लुटेर लग्यो । 

यसबारे बुझ्न निरु पालको मोवाइल नम्बरमा सम्पर्क गर्दा उनको मोबाइल फोन स्वीच अफ थियो । साँझ बैठक सकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा संसदीय सुनुवाई विशेष समितिका अध्यक्ष लक्ष्मणलाल कर्णले यसको पुष्टि गरे । 

अध्यक्ष कर्णले बैठकमा नेकपाका सांसद निरुदेवी पालमाथि मंगलबार राती बानेश्वरमा सांघातिक आक्रमण भएकोप्रति खेद व्यक्त गरेको जानकारी दिए ।

सांसद पालले आफूलाई मंगलबार साँझ बानेश्वरमा अज्ञात समूहले पेस्तोल देखाएर धम्क्याएको र मोबाइल फोन लुटिएको खबर संसद सचिवालयमा गराएर सुरक्षाको माग गरेकी थिइन् । 

‘बैठकमा सांसद पालले भोलिको संसदीय सुनुवाईको बैठकमा गइस् भने तेरो बाउले पनि तँलाई बचाउन सक्दैन’ भन्दै पेस्तोल ताकेर धम्की दिएको जानकारी गराएकी थिइन् । 

बैठकमा सो घटनाप्रति खेद व्यक्त गर्दै समितिका सबै सदस्यहरुको सुरक्षा व्यवस्था गर्न सचिवालयलाई निर्देशन दिइएको अध्यक्ष कर्णले जानकारी दिए । त्यस्तै नेकपाका सांसद योगेश भट्टराईले अपराधिक मानेवृत्तिका मानिसहरुले धम्की दिएर संसदलाई प्रभावित गर्ने जमाना देशमा नभएको भन्दै सांसद पाललाई धम्क्याउने समूह संविधान र कानुनको कठघरामा आउनुपर्ने बताए । 

नेपाली कांग्रेसका सांसद प्रधानको भनाई: ‘मिसनमा आएको मान्छेले जहाँ पनि हान्छ’ 

यता सांसदहरुको सुरक्षाको विषयमा समितिमा रहेका नेपाली कांग्रेसका सांसदले भने सुरक्षाकर्मी नलिने भएका छन् । बैठकपछि बाहिरिने क्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले भने– ‘त्यो चाहिँ बैठकमा अघि निरुजीले भनेपछि मात्रै थाहा भयो, म पूर्वरक्षामन्त्री भएर पनि सुरक्षा लिइन, यो सुरक्षा भनेको फम्र्यालिटी मात्रै हो । मिसनमा आएको मान्छेले चाह्यो भने जहाँ पनि हान्छ ।’

बैठक शुरु हुनुभन्दा पहिले साँझ ४ बजे नेकपाका चार सांसद योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राधा ज्ञवाली, नीरु पालले झण्डै ५ मिनेट संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई भेटेर छलफल गरेका थिए ।  

बानेश्वर प्रहरीलाई थाहा छैन् घटनाको जानकारी 

काठमाडौंको मुटुमा साँझपख एक सांसदलाई पेस्तोल ताकेर धम्काउनु सानो विषय हैन । तर आफ्नै इलाकामा सांसद पालाई यसरी धम्काएको बारेको सूचना बानेश्वर प्रहरीमा भने पुगेको छैन । 

यसबारे बानेश्वर प्रहरी वृतका प्रमुख डिएसपी गोविन्दराज काफ्लेले यसबारे कुनै जानकारी प्राप्त नभएको बताए । उनले भने– ‘यसबारे पहिलोपटक तपाईंबाट थाहा पाइयो, के रहेछ हामी बुझ्छौँ । घटनाबारे बुझेर मात्र के भएको भन्न सकिन्छ, यसबारे हामीलाई अहिलेसम्म केही जानकारी छैन ।’

संसदीय विशेष सुनुवाई समितिको सदस्य भएको आधारमा आफूलाई धम्काएको सांसद पालको दावी छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप