बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थाहै नभई हुन सक्छ पित्तथैलीमा पत्थरी, जान्नुहोस् कारण

सोमबार, ०२ साउन २०७४, १३ : २८
सोमबार, ०२ साउन २०७४

पछिल्लो समयमा धेरैलाई पित्तथैलीमा हुने पत्थरीले सताउन थालेको छ । अत्यधिक मोटोपन, मधुमेह, शरीरको तौल धेरै घट्नु, निरन्तर खाली पेट बस्नु, रक्तअल्पता, गर्भनिरोधक चक्कीको बढी सेवनजस्ता कारणले पित्तथैलीमा पत्थरी हुन्छ । सामान्यतः पित्तथैलीको पत्थरीका बिरामीहरूमा कुनै लक्षण देखिँदैन । अरू कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्तथैलीको पत्थरी देखिन सक्छ । यसरी पत्थरी भएको फेलापर्नेहरूमध्ये करिब २० प्रतिशत मानिसमा मात्र लक्षण देखिने गरेको पाइन्छ । पित्तथैलीमा पत्थरी हुँदा अपनाउनुपर्ने सावधानीबारे कन्सल्ट्यान्ट तथा ग्यास्ट्रो सर्जन डा। राकेशकुमार साह यसो भन्छन् स्

पत्थरीका कारण दाहिने कोखा वा माथिल्लो पेटमा पीडा हुन्छ । यो दुखाइ कहिलेकाहीँ दाहिने पाखुरा वा ढाडतिर पनि सर्न सक्छ । चिल्लो खानेकुरा खाएपछि दुखाइ बढ्ने गर्छ । यसरी देखापरेको दुखाइ २४ घन्टाभित्रै ठीक हुने गर्छ । रोग जटिल हुँदै गएपछि हरेक दिनजस्तो दुख्न थाल्छ । पित्तथैलीको पत्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो अनुभव हुने, अपच हुने र डकार आउने हुन्छ ।

संसारभरि नै सबभन्दा धेरै गरिने पेटको अप्रेसनमध्ये पित्तथैलीको पत्थरी झिक्न गरिने अप्रेसन पहिलो स्थानमा आउँछ । पित्तथैलीको पत्थरीको एक मात्र उपचार अप्रेसन गरेर निकाल्नु हो । आजभोलि यो अप्रेसन दूरबिन प्रविधिबाट गरिन्छ । दूरबिन प्रविधिबाट अप्रेसन गर्दा बिरामीलाई दुखाइ र पीडा पनि कम हुन्छ । त्यसैगरी घाउमा संक्रमण हुने र पाक्ने समस्या पनि न्यून रहन्छ ।

दुखाइ कम हुनाले अप्रेसन गरेको चारदेखि ६ घन्टाभित्रै बिरामी हिँडडुल गर्न सक्छन् । सामान्य मानिससरह खानेकुरासमेत खान सक्छन् । अप्रेसन गरेको २४ घन्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाउन सकिन्छ । अप्रेसनको ४८ घन्टादेखि ७२ घन्टामा बिरामी सामान्य जीवनशैलीमा काम गर्न सक्ने हुन्छन् ।


नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप